बिहिबार, साउन १४ २०७८

उच्च अदालतकि कर्मचारी विमलाको हत्या अभियोगमा सुरक्षा गार्ड पक्राउ


  • नेपालदीप
  • मंगलबार, असार २९ २०७८
1.2K
SHARES

इलाम। उच्च अदालत विराटनगर इलाममा कार्यरत विमलादेवी पराजुलीको हत्या भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय इलामले आज पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको हो ।

सोमबार कार्यालय परिसरकै बलेँसीमा मृत फेला परेकी विमलाको हत्या नामसालिङमा दरबन्दी रहेर हाल मुख्य न्यायाधीशकै सुरक्षा गार्डका रूपमा कार्यरत प्रहरी युवराज बानियाँले गरेको खुलेको छ।

मुख्य न्यायाधीश हाल बिदामा रहेकाले कोठाको साँचो सुरक्षा गार्ड बानियाँसँग नै रहेकाले सो स्थानमा घटना घटेको हुनसक्ने अनुमान प्रहरीको छ।

अभियुक्तलाई सोमबार नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार धनकुटा होलीखर्क–५ घर भई इलाममा कार्यरत अभियुक्त बानियाँ र मृतक कर्मचारीबीच लामो समयदेखि सम्बन्ध रहेको खुलेको छ। उनीहरूबीच पैसाको बार्गेनिङ भएको बानियाँको बयान उद्धृत गर्दै प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

मृतक महिलाको दाँहिने नाडीमा चोट भएको बताइएको छ। बयानमा अभियुक्त बानियाँले घाँटी थिचेर मारेको बताएको प्रहरी प्रमुख श्रेष्ठले बताए। कार्यालय समयपछि सबै आफ्नो घरतर्फ गए पनि मृत फेला परेकी महिला उच्च अदालतभित्रै रहेको तरकारी बारीतर्फ गएको बताइएको छ। दुई जनाबीच भनाभन भएको र घटना घटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

मृतक महिलाले लगाएको करीब दुई तोलाको सिक्रीसमेत अभियुक्त बानियाँ बस्ने ठाउँबाट बरामत गरिएको छ। मुख्य न्यायाधीश बस्ने क्वाटरको कोठामा घटना घटाइ घिसारेर लगेर बलेँसीमा फालेको अभियुक्त बानियाँले दिएको बयानमा खुलेको छ। घटनापश्चात् नै जिल्ला प्रहरी कार्यालय इलामले अभियुक्त तथा प्रहरी बानियाँलाई नियन्त्रणमा लिएको तर थप अनुसन्धानका लागि सङ्घीय प्रहरी एकाइ धरानबाट कुकुर ल्याइएको थियो। अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया विमलादेवी पराजुली केही समय अघिदेखि उच्च अदालत इलाम विराटनगर इजलासमा कार्यरत थिइन्। अर्धनग्न अवस्थामा फेला परेकी उनि  अदालतकै बलेँसीमा घोप्टो अवस्थामा फेला परेकी थिइन । अभियुक्त बानियाँले हत्या गरेको स्वीकार गरे पनि बलात्कार नगरेको प्रहरीसमक्ष दिएको बयानमा बताएका छन् । यसका विषयमा अनुसन्धान भइरहेको जनाइएको छ।

स्थानीय तथा महिला अधिकारकर्मीले २४ घण्टा सुरक्षा हुने ठाउँ र अदालतभित्र नै यस्तो घटना घटेकोमा चिन्ता व्यक्त गर्दै आएका छन्। प्रहरी कार्यालय नजिकै र सुरक्षामा खटिने प्रहरीबाट नै महिला असुरक्षित हुनुपरेको भन्दै थप चिन्ता व्यक्त गरेका छन्। इलामका प्रहरी प्रमुख श्रेष्ठले आपराध गर्ने व्यक्तिलाई सजाय दिलाउन प्रहरीले कुनै कन्जुस्याइँ नगर्नेसमेत दाबी गरे। महिलाको शारीरिक परीक्षण गरी शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट