बिहिबार, साउन १४ २०७८

वैदिक प्रमाणहरू


  • नेपालदीप
  • बिहिबार, असार ३१ २०७८
1.8K
SHARES

प्रमाको त्रिपुटी अर्थात् : ज्ञान

संस्कृतमा प्रमाणिक सत्यको ज्ञानको साधनलाई प्रमा भनिन्छ । प्रमालाई प्रमाणित गर्न प्रमाणहरू चाहिन्छ । प्रमामा ज्ञान, ज्ञाता र ज्ञेयको त्रिपुटी हुन्छ । ज्ञाता चेतनशील व्यक्ति हो । ज्ञेय त्यो बस्तु हो जसलाई चेतनाले साक्षात्कार गर्छ र ज्ञान भनेको ज्ञाता र ज्ञेयका बीचको “माध्यम” हो । यसरी समस्त प्रमाणहरू उपरोक्त त्रिपुटीका माध्यमबाट स्थापित हुन्छ ।

भारतवर्षमा विकसित भएका सम्पूर्ण वैदिक तथा अवैदिक दर्शनका प्रमुख दार्शनिक चिन्तनको ज्ञान-मीमांसाको बिवरण निम्न प्रकार रहेको छ –

चार्वाक दर्शन : प्रत्यक्षमात्र प्रमाण मान्छन् ।  सांख्य, योग वैषेशिक, आचार्य शङ्कर तथा रामानुजले प्रत्यक्ष, अनुमान र शब्दलाई प्रमाणिक स्रोत ठान्छन् । न्यायदार्शनिकहरू : प्रत्यक्ष, अनुमान, उपमान र शब्दलाई प्रमाणका रुपमा लिन्छन् ।  वैषेशिक दर्शनमा केवल प्रत्यक्ष र अनुमान प्रमाणलाई विशिष्टता प्रदान गरिएको छ ।

मीमांसा दर्शनले प्रत्यक्ष, अनुमान, उपमान, शब्द तथा अर्थापत्तिसहित अनुपलब्धिलाई पनि प्रमाणका श्रेणीमा राखेको छ । यसमा भट्टमतले छ र प्रभाकरमतले पांचवटा प्रमाणको कुरा गर्छन् ।

यसरी सम्पूर्ण वैदिक चिन्तनमा तर्कका लागि प्रत्यक्ष, अनुमान, शब्दम उपमान, अर्थापत्ति र अनुपलब्धि यी छबटा प्रमाणहरूको प्रयोग/उपयोग गरिन्छ ।

चार्वाक दार्शनिकहरूले वेदलाई प्रमाण मान्दैनन् भन्दैमा उनीहरू अवैदिक हुँदैनन् । वैदिक सभ्यताले आफुभित्र विकसित भएका अवैदिक सम्प्रदायहरूको पनि सम्मान गर्छ ।

प्रत्यक्ष प्रमाण

आत्मा, मन र शरीरको संयोग अर्थात् सहकार्यबाट जुन ज्ञान प्राप्त हुन्छ, तेस्तो ज्ञानलाई प्रत्यक्ष प्रमाण भनिन्छ । मूलत: इन्द्रीयहरू र वस्तुको संयोगले जुन ज्ञान उत्पन्न हुन्छ त्यो नै प्रत्यक्ष प्रमाण हुन्छ । इन्द्रीय संयोगको अर्थ हो आँखाले देख्नु, नाकले सुँघ्नु, जीब्रोले स्वाद लिनु, कानले सुन्नु र छालाले स्पर्शको अनुभव गर्नु मनले अनुभव गर्नु ।

मनको विषयमा केही विवाद छ । तर इन्द्रीय, इन्द्रीय र बस्तुको संयोग र बस्तु यी तीनबटा विषयहरूको मिलनले “निर्विकल्प” प्रत्यक्ष ज्ञान प्राप्त हुन्छ । प्रमाणहरू मध्ये सबैभन्दा उत्तमकोटीको “प्रमाण”का रूपमा वैदिक तथा अवैदिक (पाश्चात्य) दार्शनिकहरूले स्वीकार गरेकै छन् ।

अनुमान प्रमाण

वितेका दसीका आधारमा विषयवस्तुको सत्य स्थापित गर्नु नै अमुमान प्रमाण हो । उदाहरणका लागि खोलामा बाढी आएको देखेर केही समय अगाडी पानी परेको भन्नु ।

अनुमान प्रमाणका प्रतिज्ञा, हेतु, उदाहरण, उपनय र निगमनमा आधारित छ ।

शब्दप्रमाण

वैदिक दर्शनमा असंदिग्ध ज्ञानका लागि शब्दप्रमाणको महत्वलाई स्वीकार गरिएको छ । शब्दहरू दुई प्रकारका हुन्छन् आप्त र लौकिक । वेदहरूका भनाईहरू आप्त वाक्य हुन् भने लौकिक पुस्तकहरू लौकिक हुन् । वेदहरूका वाक्यहरू पूर्णप्रमाणित हुन्छन् । तेसैले यिनलाई आप्त वाक्य भनिन्छ ।

लौकिक वाक्य भने अनुक्षण, अनुभव र पुन:परीक्षणमा सिद्ध हुनुपर्छ । यदि कुनै वाक्य यी तीनविधाभित्र परीक्षण गर्दा सिद्ध हुँदैन भने त्यो अप्रमाण्य हुन्छ ।

शास्त्रबाट प्राप्त हुने ज्ञान नै मूलत: शब्दप्रमाण हो । शब्दप्रमाणलाई वैदिक र अवैदिक दूवै दार्शनिकहरूले स्वीकार गरेका छन् । मीमांसा दर्शनले “आप्त”प्रमाणलाई विशेष महत्व दिएको छ । उपनिषद, सङ्ख्य, योग, न्याय, वैषेशिक, मीमांसा तथा वेदान्त दर्शनले केही परिमार्जनहरू सहित शब्दप्रमाणलाई सत्यज्ञानको स्रोत मानेको छ भने जैन तथा बौद्धहरूले पनि शब्दप्रमाणको महत्व स्वीकार गरेका छन् ।

उपमान प्रमाण

विभिन्न उदाहरण, दृष्टान्त, लक्षण तथा सामान्यका आधारमा नदेखिएका वस्तु वा विषयलाई “चिन्नु”नै उपमान प्रमाण हो । उदाहरणका लागि घोडाजस्तै देखिने, गाईझैं देखिने, नीलो वर्ण भएको र जङ्गली अवस्थामा रहेको पशु नीलगाई हो भनेर सुनेको आधारमा नेपालगंजका जङ्गलमा घुम्दा सोही सोही चिन्ह भएका आधारमा नीलगाई चिन्नु नै उपमान प्रमाण हो ।

अनुपलब्धि प्रमाण

मीमांसा दर्शनका एकजना प्रमुख आचार्य कुमारील भट्टले अनुपलब्धिलाई पनि ज्ञानको लागि आवश्यक साधन मानेका छन् ।  उदाहरणका लागि “राम घरमा छैनन्” भन्ने वाक्यले घरमा रामको अनुपस्थितिको सूचना दिन्छ । “राम घरमा छैन” भन्ने वाक्यले कुनै वखत रामको उपस्थितिको सूचना दिन्छ भने अर्कोतिर वर्तमानमा अप्राप्तिको सूचना पनि प्राप्त हुन्छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट