बिहिबार, साउन १४ २०७८

हामीले देश जोगाउन राजालाई साथ दिनुपर्ने हुन्छ: बीपी कोइराला


  • नेपालदीप
  • बुधबार, साउन ६ २०७८
2.5K
SHARES

हामीहरु प्रजातन्त्रवादी हौं र साथसाथ राजावादी पनि हौं । यहाँ त बडो अप्ठयारो स्थिति छ । राजावादी प्रजातन्त्रवादीले राजासँगै अधिकार लिनु पर्ने छ- लडेर अधिकार लिनुपर्ने। त्यस अर्थमा हामीहरुलाई राजाबाट भन्ठान्या होला- हामीहरु शत्रु हौं । हामीहरुलाई पनि लाग्दो हो, जसको हातबाट अधिकार लिनु प¥या छ त्यो हाम्रो मित्र होइन भन्ने । तर हामीहरु राजावादी भएको हुनाले देशको राष्ट्रियता जोगाउने अर्थमा राजालाई साथ दिनुपर्ने हुनाले नै हामीहरुलाई एउटा बडो अप्ठयारो स्थिति पर्न आएको छ ।

“काठमाडौं टुडिखेल (खुलामञ्चमा) आयोजित आम सभा, १८ चैत्र २०३७”

म धेरै कराएर बोल्न सक्दिनँ । तपाईहरु हल्ला नगर्दिनु होला । विस्तारो म बोल्छु । शान्त भएर सुनिदिनु भयो भने मेरो आवाज तपाईहरु सम्म पुग्छ ।

अहिले जुन संविधान हामीहरुको सामुन्ने आएको छ त्यसको विरोध र चुनावको बहिस्कार गर्ने हामीहरुले निर्णय लियौं । यो निर्णय लिन हामीहरुलाई बडो कठिनाई प¥यो । सजिलैसँग, गैर जिम्मेवारी तरीकाबाट नाराको भरमा मात्रै यसलाई हामीले विरोध र बहिस्कार ग¥या होइन । यसमा निर्णय लिनलाई हामीहरुले देशभरी हाम्रा कार्यकर्तासँग, मेचीदेखि महाकालीसम्म ठाउँ–ठाउँमा गएर हाम्रा साथीहरुसँग, प्रजातन्त्रवादी– हाम्रा पुराना नयाँ साथीहरु— बीस वर्षदेखि यता प्रजातन्त्रा लागेका साथी या त्यो भनदा पहिलो २००४ साल देखि लागेका साथीहरुसँग हामीले छलफल ग¥यौं । यहाँ (काठमाण्डूमा) पनि हिजो (चैत्र १७, २०३७ मा) हाम्रा धेरै कार्यकर्ताहरुसँग हामीहरुले छलफल ग¥यौं । किनभने यो बडो गम्भीर निर्णय हाम्रो थियो— त्यो निर्णय लिनका लागि हामीहरुले सबैसँग छलफल गर्नुपर्ने आवश्यकता अनुभव ग¥यौं ।

अब हामीहरुले किन यो संविधानलाई विरोध र चुनावलाई बहिस्कार गर्ने निर्णय लियौं त्यसको दुइटा मुख्य बुँदा छन् । एक त मभन्दा पहिले साथीहरुले भनी सक्नु भयो, जनमत संग्रहमा २० लाख जुन मत परेको थियो, त्यो मतको कुनै किसिमको कदर भएन, जनमत संग्रहमा बीस लाख प्रबुद्ध नागरिकहरुले आफ्नो जो बिचार राखेको थिए— आफ्नो जुन मत दिएका थिए त्यो भावनाको कदर भएन ।

यो पञ्चायती ब्यवस्थाले बीस वर्षमा नेपालको यस्तो स्थिति गरायो कि आज यसको अस्तित्व नै खतरामा भएको चारै तिरबाट अनुभव भइरहेछ । यो हामीहरुले मात्र भन्या होइन स्वयं महाराजाधिराजबाट पनि यस्तो घोषणा बराबर गरिबक्स्या छ । यो देश अहिले सङ्कटको अवस्थामा छ । तर यो सङ्कटको अवस्था कसले ल्यायो ? म तपाईहरुको ध्यान यस कुरामा आकर्षित गर्न खोज्दछु, आज यदि देश सङ्कटमा छ भने सङ्कट ल्याउने को जिम्मेवार छ ? सङ्कट कहाँबाट आयो ? २० वर्षसम्म जुन व्यवस्था थियो त्यो व्यवस्थाले सङ्कट किन टारेन ? किन त्यो सङ्कटलाई झन बढायो ? अब त्यो सङ्कटबाट उद्धार पाउने हो भने के त्यही व्यवस्थालाई नै कायम राखेर सङ्कटबाट उद्धार हुन्छ ? यदि रोगी मर्न थाल्या छ पुरानो औषधिले भने के त्यही औषधिमा पानी थपेर त्यसलाई दिने ? यो संविधानको सबभन्दा नराम्रो कुरो के छ भने जुन कारणबाट हाम्रो देश आज यस दुरावस्थामा पुगेको छ त्यो कारणलाई यथास्थितिमा नै राख्या छ । हमेशा मैले भन्ने ग¥या छु— २०१७ सालमा जुन कदम चालियो त्यो सबभन्दा ठूलो— नेपालको इतिहासमा सबभन्दा ठूलो देशघाती काम भएको थियो । त्यहाँबाट जति प्रकृया भए, त्यसबाट जति प्रयास उत्पन्न भए, त्यसबाट जति कार्यबाही भए ती सबले देशलाई विनाशपट्टि लैजादै गयो र आज २० वर्षमा आएर, अहिले देश यत्रो ठूलो सङ्कटको अवस्थामा पुगेको छ ।

हामीहरुले एकता गरेनौं भने देश कुन स्थितिमा पुग्ने हो सबै विचारशील नागरिकले बुझ्नुपर्ने छ भन्ने स्वयं महाराजाधिराजबाट हुकुम हुन्छ । त यो कुरा कहाँबाट भयो ? मेरो विचारमा र हाम्रो साथीहरुको विचारमा अहिले देशको यो परिस्थिति आएको कारण— पञ्चायती व्यवथा हो । २०१७ सालमा एउटा प्रजातान्त्रिक अभ्यास जारी रहेको थियो, त्यसलाई अन्त्य गरेर जुन ब्यवस्था लादियो हाम्रो उपर, त्यो ब्यवस्थाले गर्दाखेरि नै देश सङ्कटको अवस्थामा छ । त्यसकारण यदि त्यस सङ्कटबाट देशलाई निकाल्नु छ भने राजाले यस ब्यवस्थालाई त्याग्नु पर्छ । राजादेखि हामीहरु सबैले त्यसको सारा प्रभावलाई आजदेखि नै मेट्ने प्रयत्न गर्नुपर्छ । अनि मात्र हाम्रो देश बाँच्छ; हाम्रो देशलाई कल्याण हुन्छ । त्यसबाट विचार गर्दा अहिले आएको संविधान त्यो उही पुरानो कुरालाई नयाँ रुप दिएर यौटा संविधान हाम्रो सामुन्यमा राखिएको छ । त्यसैले यसले देशको कल्याण गर्दैन भनेर नै हामीले यसलाई अस्वीकार ग¥यौं ।

हामीहरु प्रजातन्त्रवादी हौं र साथसाथ राजावादी पनि हौं । यहाँ त बडो अप्ठयारो स्थिति छ । राजावादी प्रजातन्त्रवादीले राजासँगै अधिकार लिनु पर्ने छ- लडेर अधिकार लिनुपर्ने। त्यस अर्थमा हामीहरुलाई राजाबाट भन्ठान्या होला- हामीहरु शत्रु हौं । हामीहरुलाई पनि लाग्दो हो, जसको हातबाट अधिकार लिनु प¥या छ त्यो हाम्रो मित्र होइन भन्ने । तर हामीहरु राजावादी भएको हुनाले देशको राष्ट्रियता जोगाउने अर्थमा राजालाई साथ दिनुपर्ने हुनाले नै हामीहरुलाई एउटा बडो अप्ठयारो स्थिति पर्न आएको छ । यदि हामीहरुले प्रजातन्त्रको मात्र कुरा गर्ने हो भने अब राजालाई त्याग्ने हो, राजालाई छाड्ने हो, त्यस्तो नाराहरु दिने हो भने देशलाई जहिले पनि जुन सुकै बेला खतरा हुने सम्भावना छ । अहिले जुन संविधान आएको छ त्यो पूर्ण प्रजातान्त्रिक आउला, यो हामीहरुले सोचेका थिएनौं । तर हामीले के सोच्या थियौं भने त्यो २०१७ साल पौष १ गतेका दिन जुन कारबाही भयो त्यसको परिणाम जुन अहिले हामीले भोगिरहेका छौं, त्यो परिणाम, त्यसको फललाई त्यसको असरलाई भने बिस्तारो–बिस्तारो मेट्दै लैजाने प्रयत्न अब हुने छ र त्यसको थालनी यस संविधानमा होला भन्ने हामीलाई लागेको थियो, त्यो भएन । त्यसैले हामीले यो संविधानलाई अस्वीकार ग¥यौं ।

अब कति जना मलाई भन्छन्– के के कारणले तपाईले यो संविधानलाई अस्वीकार गर्नु भयो ? यो संविधानमा वालिग मताधिकारको आधारमा हुने चुनाव छ । त्यो एउटा लोकतान्त्रिक कुरा बाहेक अरु जति कुरा त्यसमा छन् तमाम अमान्य कुराहरु मात्र छन्, त्यसको मैले चर्चा गरिरहनु पर्दैन । तर के यस संविधानले राजाको हीत ग¥या छ ? अहिले पञ्चायतमा लागेर राजाको बडो हिमायत गर्ने भन्ने जो मानिसहरु छन् उनीहरुले सोच्नु पर्ने हो । स्वयं राजाले पनि सोच्नु पर्ने कुरा छ, के राजाको यसले हीत ग¥या छ ? र अब अहिले आउने यो वालिग मताधिकारबाट चुनिने जुन संसद होला— राष्ट्रिय पञ्चायत होला— त्यसमा कुन तत्वहरु पुग्दछन् ? त्यसमा के राष्ट्रवादी जान्छन् ? इमान्दार जान्छन् ? के बाहिरबाट प्रभावमा नआएका व्यक्तिहरु जान्छन् ? के त्यसमा आत्म सम्मान भएका मान्छेहरु जान्छन् ? जाँदैनन् । किनभने त्यसमा वर्गीय सङ्गठनको सदस्य हुनुपर्ने जुन आवश्यकता राखिदिएको छ । त्यसले गर्दा कुनै पनि स्वाभीमानी मानिस, आत्म सम्मान भएको राष्ट्रवादी मानिसलाई अप्ठयारो परेको छ । तर जो निजि स्वार्थबाट प्रेरीत हुन्छ, जसलाई देशको ममता छैन, जसलाई आफ्नो मात्रै ममता छ या अरु बाहिरिया तत्वबाट जो प्रभावित छ त्यसलाई त जस्तोसुकै पनि कागज गर्नमा अप्ठयारो पर्दैन । खुरुक्क त्यो राष्ट्रिय पञ्चायतको सदस्य हुन सक्दछ । त्यसैले अब त्यस्ता मानिसहरु राष्ट्रिय पञ्चायतमा पुग्दछन् । राजाले अब राष्ट्रिय पञ्चायतमा बेहोर्नु पर्दछ, अराष्ट्रिय तत्वसँग । अराष्ट्रिय तत्वहरु राष्ट्रिय पञ्चायतमा पुग्या हुन्छन् र राजाले उनीहरुलाई मुकाबिला गर्नुपर्छ । अब कस्तो अप्ठयारो स्थितिमा राजालाई राख्या छ भने तिनीहरुका विरुद्ध त्यहाँ कारबाही गर्नु प¥यो भने राजाले विशेष अधिकार प्रयोग गर्नुपर्छ । राजाले अराष्ट्रिय तत्वलाई, संसदमा चुनिएको अराष्ट्रिय तत्वलाई, विशेषाधिकार प्रयोग गरेर नसियत दिन पर्दा राजाको राजनीतिक मान्यता कहाँसम्म रहन्छ ? त्यो राजाले बुझनु पर्ने, राजाका सल्लाहकारहरुले राजालाई सम्झाउनु पर्ने थियो । राजालाई यो संविधान दिनलाई जसले सल्लाह दियो त्यसले राजालाई यो सम्झाएन कि यो संविधानले राजाको हीत गर्दैन; यो संविधानले राजतन्त्रमाथि ठूलो कुठाराघात गर्न आँटिरहेछ । राजालाई के सम्झाइ दिया छ भने, महाराजाधिराज सरकारलाई त तमाम अधिकार हामीले सुरक्षित गरिदिया छ, यो संविधानमा । तर जब त्यो अधिकार राजाले प्रयोग गर्नु पर्ला त्यस बखतमा राजालाई थाहा हुनेछ, यो अधिकार त मेरो मुठीमा कागजका खोष्टाहरु रहेछन् । किनभने, जस्तोसुकै अधिकार राजामा भए तापनि त्यो अधिकार प्रयोग हुने वित्तिकै राजनीतिक दृष्टिबाट राजाको स्थिति कमजोर भएर जान्छ अरुको नजरमा र हामी जनताको नजरमा पनि । त्यस किसिमबाट चलाकीले, एउटा धुर्ततापूर्ण किसिमबाट जनतालाई ठग्नलाई र राजालाई ठग्नलाई यो संविधान आएको हो ।

अब तपाईहरु भन्नु होला, राजाबाट यो किन दिइयो त ? यो बीस वर्षभन्दा ठूलो देशाघाती काम १ पौष २०१७ का दिन भएको छ । त्यस काण्डले एउटा वर्गको सृष्टि गरेको छ, नेपालमा । त्यो वर्ग राष्ट्रिय वर्ग होइन । त्यो वर्ग सामन्ती पनि होइन, त्यो वर्ग पूँजीपति पनि होइन । सामन्ती वर्ग त्यसको पनि समृद्धि निर्भर गर्दछ जमीनको आयस्तामा । त्यो सामन्तीलाई पनि जमीन उर्वरा हुनु पर्छ, जमीनको बाली–नाली ठीक हुनुपर्छ । मेघ बेलामा वर्षिनु पर्छ । शोषण गर्छ हो, किसानको । तर त्यो राष्ट्रिय हो । त्यसको समृद्धि पनि राष्ट्रको समृद्धिसँग जोडिएको हुन्छ । त्यस्तै राष्ट्रिय हो— पूँजीपति पनि । उ पनि पूँजीको विकास चाहान्छ, उद्योगधन्दाको विकास चाहन्छ, बजारको विकास चाहन्छ, यातायातको विकास चाहन्छ, किनभने पूँजीको, व्यापारको, उद्योगधन्दाको विकासमा त्यसको पूँजीको पनि विकास हुन्छ । हो, त्यसले पनि शोषण गर्छ तर त्यसको जरो राष्ट्रमा रहन्छ । उसको समृदि राष्ट्रको समृद्धिसँगै जोडिएको हुन्छ । तर जुन वर्ग अहिले देशमा, देशको केनद्रमा, शासनको केन्द्रमा बस्या छ, त्यो वर्ग भने कुनै पनि अर्थमा राष्ट्रिय वर्ग होइन । त्यसको जरो राष्ट्रको माटोमा छैन । २०१७ सालदेखि अधिकारको केन्द्रमा यो विस्तार विस्तारैसँग स्थापित भएर आएको एउटा वर्ग हो । देशको समृद्धिसँगै यिनीहरुलाई कुनै वास्ता छैन । त त्यसको समृद्धि कहाँबाट आयो ? कहाँबाट भने, जति बाहिरबाट यहाँ सहायताका कोषहरु आउँछन् त्यसबाट ६० प्रतिशत यिनीहरुको पाकेटमा जान्छ । जति जङ्गल मासिन्छन्, जति चोर बजारी हुन्छ, जति यहाँ तस्कर ब्यापार हुन्छ सबैको शेयर यिनीहरुलाई— यो वर्गलाई जान्छ । त्यही वर्ग अहिले शासनको केन्द्रमा, राजाको सल्लाहकार भएर, त्यही वर्ग प्रधान मन्त्री भएर यी बीस वर्षदेखि स्थापित भएर बसेको छ । जबसम्म यो वर्गको अन्त्य हुँदैन, तबसम्म हामीहरुलाई— प्रजालाई त छैन–छैन, राजालाई पनि कल्याण छैन ।

हामीहरुले बहिष्कार ग¥यौ यो अहिलेको चुनावलाई । त, अब विकल्प के ? अब के गर्ने ? हामीहरुले जनतासँग सम्पर्क राख्नै पर्छ । हामीहरुले बहिष्कार किन ग¥यौं, त्यो हामीहरु जनतालाई सम्झाउँछौ । जस्तो चुनाव लड्ने भएको भए जनता कहाँ हामीहरु पुग्थ्यौ, हाम्रा मान्छेलाई भोट दिनुस् भनेर । त्यस्तै अहिले पनि हामीहरु जनताकहाँ जान्छौं र भन्छौं हामीहरु चुनावमा किन भाग लिन थाल्या, छैनौं । जस्तो भन्नुस्, अहिले काठमाण्डूमा, चुनावमा हामीहरुले भाग लिएको भए सयकडौं मिटिङ्गहरु गर्ने थियौं । पम्मलेटहरु गर्ने थियौ, आफ्नो विचार भोटरहरुको सँमुख राख्ने थियौ, भोट माग्ने थियौं । अब हामीहरु चुनावलाई बहिस्कार गर्छौ भन्ने, त्यही दाँजोमा, त्यस्तै किसिमबाट जनतालाई सम्झाउछौं— किन हामीहरुले चुनावलाई वहिस्कार गर्नु प¥यो; र जनतालाई चुनावको प्रकृया बारे सम्झाउदा चुनावमा न भाग लिएर, चुनावको प्रकृयामा हामीहरु प्रवेश गर्दछौं— चुनाव नै भैराखेको छ जस्तो गरिकन हामीहरु जनताको बीचमा जान्छौं— चुनाव नगर्नलाई, चुनावबाट पनि किन हामीहरु पन्छिया छौं भन्नलाई ।

हामीहरु उग्र नारा पनि दिदैनौं, उग्र कारवाही पनि गर्दैनौं । हामीहरु जनताको बीचमा जान्छौं, चुनाव प्रकृयामा जुन कार्यकलाप हामीहरुको हुन्थ्यो, चुनावको बहिस्कार गर्दा पनि त्यही कार्यकलाप हामीहरुको हुन्छ । त्यही हामीहरुको अहिलेको कार्यक्रम हामीहरुले निश्चित गरेको छ । फेरि म त्यसलाई एक चोटी दोह्र¥याउन चाहन्छु— हामीहरुले चुनाब लडेको भए, हरेक क्षेत्रमा, सय, दुई सय, तीन सय, चार सय मिटिङ्ग गर्ने थियौं । हामीहरुले घर–घरमा गएर भोटरहरुलाई आफ्नो पक्षमा भोट दिन भन्ने थियौं, पम्पलेट गर्ने थियौं । करनर मिटिङ्गहरु गर्ने थियौ । यही कार्यक्रम चुनावको बहिस्कारमा पनि हामीहरु कायम राख्दछौं ।

हामीहरुले बहिस्कार गरेको अर्को कारण के हो भने, यो अहिलेको जुन ब्यवस्था छ, त्यो ब्यवस्थाले देशलाई अहिले यस अवस्थामा ल्यायो । १७ साल पौष १ गतेका दिन जुन अराष्ट्रिय कारवाही भयो, त्यसैले यो ब्यवस्थाको प्रारम्भ ग¥यो र त्यसैलाई अगाडि बडाउने प्रयत्न यो संविधानमा भएकाले हामीहरुले यो संविधानको विरोध र चुनावको बहिस्कार गरेको हो । किनभने त्यसले राष्ट्रको अहीत हुन्छ । अब हाम्रो विल्प के हुन्छ भन्दा, चुनावको प्रकृयालाई उल्टो किसिमबाट चलाएर, त्यही विरोधको प्रकृयालाई हामीहरु जारी राख्छौं ।

यसपालि हामीले धेरै ठाउँमा भ्रमण ग¥यौं— हामीहरु पाँचै जना सँगसगँ गयौं । मेचीदेखि महाकालीसम्म पहाडमा पनि गयौं । गाउँ–गाउँमा ठूला–ठूला मिटिङ्गहरु भए; हजारौंको संख्यामा हामीले कार्यकर्ताहरुलाई भेटयौं । हाम्रो पक्षमा लागेका, प्रजातन्त्रको पक्षमा लागेका कार्यकर्ताहरु प्रायः दस हजारको सम्मेलन हामीहरुले सफल पा¥यौं । हिजो पनि शँकर होटलमा हामीहरुले एउटा कार्यकर्ताको सानो बैठक ग¥यौं । यसबाट एउटा बडो उत्साह देशमा आएको छ । मलाई बडो उत्साह भएको छ । बीस वर्षको दमनबाट हाम्रा कार्यकर्ता जो गाउँ–घरमा थिएँ, उनीहरुलाई त्रस्त पारेको रहेनछ । नयाँ कार्यकर्ताहरुको— नयाँ हाम्रा साथीहरुको अनुभव र उनीहरुको उत्साह देख्दा हामीले पनि बडो उत्साह र प्रेरणा पायौं । यहाँ पनि यो तेस्रो आमसभा हो, यो बीस वर्षमा मैले भाषण दिएको ।

यहाँ हिजो भेटेका साथी या मेरो अफिसमा या मेरो घरमा भेट्ने साथीहरु मसँग बहस गर्छन्— मलाई भन्छन् तपाईको कुरा अलि नरम भयो, अलि क्रान्तिकारी हुनुपर्ने । म तिनीहरुलाई भन्छु— मैले २००४ सालदेखि यस भूमिमा लड्दै आएँ र हर कसिमबाट विरोधीको भूमिका हामीहरुले पूरा गर्दै आयौं, २००४ सालदेखि । म एकचोटी १७ महिनाको निम्ति प्रधान मन्त्री भएँ, त्यहाँ पनि म विरोधी नै रहेछु, किनभने राजाले मेरो विरुद्धमा— हाम्रै विरुद्धमा कारबाही गर्नु प¥यो । त्यस बखतमा प्रधान मन्त्री पनि विरोधी रहेछ । विरोधीको परम्परा हामीहरुले राखेका छौं, प्रजातन्त्र जबसम्म आउँदैन, जबसम्म स्वस्थ किसिमको यहाँ राजनीति हुँदैन, तबसम्म हामीहरुको विरोधी रुप रहिरहन्छ । त्यसो हुनाले जो साथीहरु अलिकति अधैर्यमा आएर, अलिकति जोशमा आएर भन्छन्, उनीहरुलाई मैले के भन्ने गरेको छु भने, मौका आएको बखतमा जति मेरा तरुण साथीहरु अगाडि बढ्लान्, त्यो भन्दा पछि म रहने छैन । बरु अगि नै रहुँला । मेरो बोली मसिनो छ, मेरो भाषा पनि धरै कठोर छैन भन्दैमा क्रान्तिकारी भावना छैन भन्ने होइन । म समाजमा परिवर्तन ल्याउन चाहन्छु, म खालि चाहन्छु, यो परिवर्तनमा, राजालाई पनि सामेल गरौं; जसमा, म चाहन्छु, राजतन्त्र पनि प्रजातान्त्रिक होस् । राजतन्त्र अहिले आवश्यक छ, हाम्रो देशकोे निम्ति भने त्यो संस्था, जसलाई हामीहरुले मान्या छौं, त्यस संस्थालाई पनि प्रजातान्त्रिक करण हामीले गर्नु पर्छ र प्रजातन्त्र पनि हामीले स्थापित गर्नु पर्छ । प्रजातन्त्र र देशलाई सँगै विकास गर्नु पर्छ ।

राष्ट्रलाई जोगाउने, प्रजातन्त्र ल्याउने, आर्थिक विकास गर्ने, यी तीनवटा विभिन्न ऐतिहासिक स्थितिमा हामीहरुले कार्य गर्नु परेको छ । त्यस्तो अवस्थामा राजालाई पनि त्यसमा सामेल गरेर, कमर कसाएर यस क्षेत्रमा ल्याएर विकाश, देशलाई बचाउने, प्रजातन्त्र ल्याउने हामीले गर्नुपरेको छ भन्ने मेरो भाषा नरम हुन्छ । तर म पूरा परिवर्तन चाहन्छु । म देशमा सामाजिक परिवर्तन चाहन्छु । म आर्थिक परिवर्तन चाहन्छु । अहिलेको विकासबाट मलाई सन्तोष हुँदैन । जबसम्म यहाँका गरीब जनतालाई खान–लाउन, ओखतीमूलो र शिक्षा दीक्षाको व्यवस्था हुँदैन, हामीले सन्तोष लिने कामै छैन । मेरो लडाई त यहाँको गरीबीसँग छ । मेरो लडाई यहाँको अन्याय, यहाँका मानिसहरुको शोषण विरुद्ध छ । जब म राजनीतिमा प्रजातन्त्र चाहन्छु भने त्यसको निम्ति यहाँका गरीबीहरुको उद्धार, किसानहरुको उद्धार गर्ने, जुन अवसर राजनीतिले प्रदान गर्छ, त्यो अवसर प्राप्त गर्नलाई मात्रै प्रजातन्त्रको लडाई भएको हो । त्यसो हुनाले म तरुण साथीहरुलाई भन्दछु क्रान्तिका कुराहरु हो भने म पनि तपाईहरुसँगसँगै छु, तपाईहरु भन्दा अगाडि नै छु । अहिले म नरम भाषा बोल्दछु, म कडा भाषा बोल्दिनँ, म गाली–गलौजको भाषा बोल्दिनँ भनेर म पछि छु भनेर नठान्नु होला । मौका आएको बखत शायद तपाईहरु पछि हट्नु होला । यति भनेर म तपाईहरुबाट बिदा लिन्छु । जय नेपाल ।

(साभारः वी. पी. कोइरालाका भाषणहरु, जयनेपाल प्रकाशन, २०३८) (पृ. ५९—६६ सम्म)

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट