बिहिबार, साउन १४ २०७८

म र एउटा खोलो…


  • नेपालदीप
  • बुधबार, साउन ६ २०७८
2K
SHARES

म एउटा अजंगको खोलामा खसें । त्यो खोलामा मजस्ता धेरै रहेछन् । उनीहरू खुसी थिएनन् । सबै चिच्याइरहेका थिए । सबै आफ्नो रक्षा खोजिरहेका थिए । अलिअलि खियाउन जानेका पनि खुसी थिएनन् । म पनि ती लाखौंमा मिसिएँ । म पनि उनीहरूकै नक्कल गर्न थालें । कहिले हाँस्ने, कहिले रूने, कहिले ठूलो सल्लाहकार र बैद्य बन्ने !!

खोला नौलो थिएन । खोला अनन्तकाल देखि तेसरी नै बगिरहेको थियो । त्यो खोलालाई थुन्ने धेरै प्रयास गरियो । खोलाभित्र बाँच्नेबाट खोला कसरी रोक्न सकिन्थ्यो ? अभियन धेरैले गरे । खोला रोकिएन, केहीले खोलाको किनारा सम्म भेटे । केहीले खोलाको किनारा देखे । केही खोलाको बीचमा रहेका टापूमा रोकिए । तेही टापु उनीहरूका लागि लक्ष भयो । खोलो रोकिएन, टापूमा रहेकाले भने खोला सकिएको ठाने ।

मैले खोलामा खोस्न खोजेको थिइन तर पनि म खसें । अव म खोलासंग बग्न बाध्य छु । मसंग खोलामा एकनास बग्नु बाहेक अरू कुनै उपाय छैन । मैले खोला-जित हुनको लागि खोलासंग शत्रुता गर्नुपर्छ कि मित्रता ? पटक्कै बुझेको छैन । मैले बुझे पनि नबुझे पनि खोला खोला नै हो । उ बगिरहेको छ, निरन्तर बगिनै रहने छ । म उत्रन खोज्ने छु तर तर्न सक्ने छैन । मलाई थाहा छ, म र खोला अव एकै ठाउँमा छौँ । मेरो भाग्य यही खोला हो तर म खोलाको भाग्य पटक्कै होइन ।

मसंग बगिरहेका असंख्य छन् । मैले देख्दा र नदेख्दा बग्नेहरूको गति रोकिने छैन । म हुँदा र नहुँदा बग्नेहरूको कमि हुनेछैन । मैले खोलाका दुई किनाराहरू देख्न सक्छु । मैले अनुभव गरें अव मलाई बग्ने बानी परिसकेको छ । म किनारा चाहन्छु तर मेरो मन र बुद्धिले समर्थन गरिरहेको छैन । किनारामा रहेका ठूला वरका रुखको शितलछाँयाप्रति अचम्मको उदासीनता छ । जवजव खोलाको ढुंगामा मेरो शरीर ठोकिन्छ, म रुन्छु, अनि किनारा सम्झिन्छु ।

म अरूको सारथी होइन । मैले खोला स्वाभाविक रूपमा प्राप्त गरेको होइन । म खोलामा बग्न सक्छु, मलाई खोला रोक्ने कुनै ज्ञान छैन । तैपनि धेरै पटक मलाई खोला मन परेन । मैले खोलाबाट वाहिर निक्सने प्रयत्न गरें । मसंग “खोले”संग सोध्नु र उनीहरूको उपदेशमा चल्नु वाहेक विकल्प थिएन । कस्तो अचम्म, म जतिधेरै खोलाको किनारातिर निस्कने प्रयत्न गर्दैछु तेतितेतिनै झन्झन् गहिरोतिर हुत्तिन्दै छु । तर म आत्मसम्पर्ण गर्न तयार छैन । मलाई एत्ति थाहा छ, म खोलासंग अनन्तकालीन बगिरहण तयार छैन ।

म माछो होइन तर खोला बाहेक अस्तित्व देखेको छैन । मैले खोलालाई समातेको छु, मलाई खोलाले समातेको कुनै अनुभूति छैन । धेरै ठाउँमा मेरा अनुभूतिको अर्थ पनि छैन । मेरो अनुभूति अर्काको लागि व्यर्थ रहेछ भन्ने कुरा पनि मैले बग्दैबग्दै बुझें । कमसेकम मैले एति त बुझें, अरूका विषयमा अनुमान गर्न सक्दिन । मैले देख्दैगर्दा उनीहरूले खोलालाई समातिरहेका छन् । उनीहरू नराम्रोसंग चुक्दैछन् । किनभने खोला पूर्णतया प्रेमहीन, दयाहीन, निरपेक्ष र टुङ्गो नलाग्ने छ ।

मेरो बगाई रोकिएको छैन । अवसम्म मैले केही खोलेहरूलाई सहयात्री बनाएको छु । म उनीहरूसंग बोल्छु, हाँस्छु, रुन्छु । मैले उनीहरूलाई बोकेको छु – निरपेक्ष रूपमा । उनीहरू हाँस्दा र रूंदा मेरो म प्रभावित हुन थालेको छ । उनीहरू पनि अभिनय गर्छन् । मैले चिनेका २०० जति छन्, ती मध्ये ५० जनालाई राम्ररी, २० जनालाई धेरै राम्ररी, १० जनालाई अति राम्ररी र ५ जनालाई मैले असाध्यै राम्ररी चिनेको भन्न थालेको छु । उनीहरू मझैं बगिरहेका छन्, स्वतन्त्र छन् । मसंग उनीहरू कहिले नजिकिए, अव मैले उनीहरूलाई आफ्नो भन्छु । उनीहरूले के भन्छन् – मसंग बुझ्ने संयन्त्र छैन ।

कानले सुन्छु, आँखाले देख्छु, नाकले सुघ्छु, जीब्रोले स्वाद लिन्छु र छालाले सधैं चीसोतातोको अनुभव गर्छु तर यी सबैले खोलावाहिर भन्दा भित्रनै मलाई तानिरहेको अनुभव गर्छु । मसंग खोला त्याग्ने विकल्प छ, किनाराहरूले मलाई निमन्त्रणा दिइरहेका छन् तर ती आमन्त्रण भन्दा खोलाको स्वाद धेरै बलियो बुझ्दैछु । मैले धेरै पटक सोधें आफैलाई “तेरो खोलासंग के नातो छ ? उत्तर छैन । तंलाई खोलामा कसले बगायो ? उत्तर छैन । तँ खोलाको किनारामा पुग्छस् ? उत्तर छैन । मलाई थाहा छ – धेरैले प्रश्ननै गर्दैन् । खोला सकिन्न, जीवन नै सकिन्छ ।

म बगिरहेको छु । खोला हिंडीरहेको छ । खोलाभित्र कहिले अध्यारो त् कहिले उज्यालो हुने क्रम रोकिएको छैन । विभिन्न ठाउँबाट खोलामा मिसिनेहरू, खोलामा सकिनेहरू आउँजाउँ गरिनैरहेका छन् । मेरो उपस्थितिको न अध्यारोलाई मतलव छ, न उज्यालोलाई । मिसिनेहरू खिस्सी गर्छन् – तँ अव सकिंदै छस् । म फरकफरक प्रतिक्रिया दिन्छु । रुन्छु, हाँस्छु, बोल्छु, निरपेक्ष हुन्छ, आत्तिन्छु, बकुल्लोझैं ध्यानको नाटक गरेर बग्नेहरूलाई आफूतिर आकर्षित गर्ने प्रयत्न गर्छु । धेरैलाई मेरो वास्ता नै छैन । केहीले पुर्लुल्क हेरेर सधैंका लागि ओझेल हुन्छन् । केहले एकैछिन विचार गरेर अगाडी बढ्छन् । केही एकै छिन रोकिन्छन् – मसंग आफ्नोभाव प्रकट गर्छन् ।

खोलो निरपेक्ष भएझैं खोलामा बग्नेहरू (जुन हुत्याइएका हुन्) पनि कम निरपेक्ष छैनन् । उनीहरू अडिन्छन्, एकैछिन अल्मलिन्छन् अर्थात् मलाई अल्मल्याउँछन् । अनि, केही वेरपछि खोलाको बलियो छाल आउँछ, सधैंका लागि भेट नहुनेदिशातिर हुत्याइन्छन् । न म केही गर्न सक्छु, उ उनीहरू केही गर्नसक्छन् ।  प्रेम र घृणाहरू एक्लाएक्लै अवसान हुन्छन् । मेरा सम्पूर्ण अनुभवहरू, ज्ञानहरू तथा पुरुषार्थहरू आफ्नै अवसानको मिति चिन्न नसक्नुले अल्मलिएका छन् । साँचो बल्नु पर्दा न मलाई खोलोको सीमा थाहा छ, न मलाई मेरो र खोलाको नाताको अन्त्यनै ज्ञात छ । मेरो यात्रा ज्ञाततिर छ तर हिंडीरहेको बाटो चाहिं पूर्णतया अज्ञात छ ।

ओहो आज अचम्म भएको छ । म बग्दाबग्दै आत्तिएको थिएँ । एउटा ठूलो छाल आयो । आजसम्म मैले कुनै पनि छाललाई नियन्त्रण गर्न सकेको थिइन । हरेक पटक छालले नै मलाई जितेको थियो । मैले छाललाई जित्नेछु भन्ने सङ्कल्प कहिले पनि छोडिन । आजको छाल निकै ठूलो थियो । यो छालले मेरो बग्ने ठाउँ र गतिनै बदलिदियो । म बगिरहेको छु तर मबगिरहेको ठाउँ निर्जन छ तर उज्यालो छ । यो उज्यालोमा मैले आफुलाई देखिरहेको छ । म भित्र र वाहिर, एता र उता, माथि र तल यी सबै दिशाहरूबाट अचानक मुक्त भएको छु ।

म बगिरहेको छु, खोला पनि उसैगरी वगिनैरहेको छ । अव मेरा वरिपरी बग्नेहरूको भीड छैन । भित्र र वाहिरका सम्वन्धहरू अवसान भएका छन् । तेस बखत मलाई कुनै सम्बन्धको सोच आएन । विचारहरूको अवशान भयो । मेरा आँखाहरू शान्त भए । मेरा वाणीहरूका लागि शब्दको आवश्यता रहेन । मलाई स्पर्सको चाहना/नचाहनाले छोएन । नाक र जिब्रो पनि शान्त पाएँ । मैले प्रष्टसंग देखें मसंग मन पनि छैन । मनसँग संगै हिड्ने चाहना/भावनाहरू पनि छैनन् । म शान्त भएको छु, पूर्ण भएको छु र सन्तोषी भएको छु ।

अव मैले देख्न सक्छु, म खोलामा खसेको अवस्था । अव म साक्षी बन्दैछु खोलामा वगिरहेको अवस्था । म अब बुझ्न सक्छु खोलामा जोडिएको “खोले” राज्यको सम्राटका रूपमा मैले खडा गरेका अनन्त हावामहलहरू । मेरो अमृतमसंग छ । मभित्रको अमृतले विश्व प्रकाशित भएको छ । मेरो यो अमृतमय अवस्थालाई कसैको स्वीकृति अस्वीकृतिले कुनै प्रभाव पार्दैन । मेरो अमृतक्षेत्र प्रभावमुक्त छ । विश्वास गर्नेहरू अमृतको बाटोमा हिड्छन्, संशय गर्नेहरू अमृतको अस्तित्वमा आशंका गर्छन् । अविश्वास गर्नेहरूका लागि “खोला” अनन्त अस्तित्व निरन्तर छ ।

तर्कका सीमाहरू मेटिएका छन् । विश्वासका आदर्शहरू साक्षात्कार भएका छन् । लक्षहरूको अवसान भएको छ । म र मेरोपनको द्वैध अचम्मसंग हराएको छ । एउटा विशाल वृक्षका हाँगा, पात, जरा तथा फलहरू एकठाउँमा समेटिएका छन् । उनी, तिनी तथा मका सम्बन्धहरू अस्तित्व विहिन भएका छन् । म एस्तो रूखमा रुपान्तरित भएको छु जहाँ केवल अमृत छ । जहाँ केवल पूर्णता छ, जहाँ केवल सन्तोष छ, जहाँ केवल आनन्द छ । म अचिन्त्य भएको छु । भएर पनि छैन नभएर पनि जताततै आफैलाई भेटिरहेको छु ।

म कालातीत भएको छु किनभने मसंग हिजो,आज र भोलिको अन्त्य भएको छ । म मन बुद्धि अहङ्कारबाट परे भएको छु किनभने यहाँ इच्छा, तर्क र अस्तित्व निरपेक्ष भएका छन् । म प्रकृति भन्दा टाढा भएको छु किनभने मलाई जन्म, मृत्यु, जरा, व्याधिको डर लाग्दैन र न खोलाको अनन्त पानीले मलाई आकर्षित गर्छ । मभित्रको खोला सधैंका लागि सुकेको छ । उप्रान्त खोला रसाउने, बग्ने र सुक्ने पथ नै छैन ।

मैले हात दिएर तिमीलाई खोलाबाट निकाल्न सक्दिन । तिम्रो “खोला” तिमीले नै तर्नुपर्छ । म र तिम्रोको विभेद मेटिएको अनुभूति गर्न म ब्यग्र छु । मैले तिमो प्रतिक्षा गर्दिन तर तिमीले मसंग समाहित हुने पहल गर्छौं भन्ने आशा गर्छु । आफ्नो दियो आफै बन । तिम्रो बाटोको लागि दियो आफै तयार पार । जवजव तिमीले आँफुलाई विश्वास गर्ने छौ, तत्कालै “खोला”को किनारा प्रकाशित हुनेछ । तिमीले एकैक्षणको लागि “खोलो”को माया छोड्नु पर्ने छ ।

तिम्रो स्वस्ति होस् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट