आइतबार, असोज ३ २०७८

अहंकारको वृक्ष, विनाशको फल र खेर गएको शताब्दि


  • नेपालदीप
  • शनिबार, साउन ९ २०७८
4.7K
SHARES

महाभारत उद्योग पर्वको अन्त्यतिर भिष्म पितामहले पुत्र मोहले अन्धो बनेका धृतराष्ट्रलाई अन्तिम चेतावनीको रुपमा एउटा वाक्यले सम्झाउँछन्, ‘अहंकारको वृक्षमा केवल विनाशको फल लाग्छ र यो कसैले टारेर टेर्दैन’। दुर्योधनको जड हठमाथि पितामहले गरेको यो टिप्पणी सर्वकालिक महावाणी ठान्दा हुन्छ।

समसामयिक नेपाली राजनीतिको कुरा गर्दा ‘अहंकार’ के हो र कहाँ घटित भयो, कुन पात्रले यसको एकल प्रतिनिधित्व गर्‍यो भनिरहन परेन।

लाग्छ २००७ सालपूर्व लगभग २ दशक अघिदेखि शुरु भएको नेपाली राजनीतिक आन्दोलनको चक्र दोहोरोरिइरहेको मात्र छ, नया केही हुन सकेको छैन। उद्विग्न घटनाक्रमको चक्र चलिरहेको छ, केही दृश्य फरक हुन् कि झैँ त लाग्छ तर सारभूत रुपमा समय, सन्दर्भ र परिणाम टक्क रोकिएर उहीँ उभिएको प्रतित हुन्छ।

लगभग साढे ३ बर्ष अघि तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच अप्रत्याशित एकीकरण भयो। आसन्न निर्वाचनमा एकीकृत पार्टी विशाल बहुमतसहित सत्तारुढ भयो। नेपाली संसदीय राजनीतिमा पनि विष्मयकारी र असामान्य प्रभाव कायम गरेका २ कम्युनिष्ट पार्टी घटकहरुको एकीकरणले संसदीय राजनीतिको पर्याय नै मानिएको नेपाली कांग्रेसको राजनैतिक अस्तित्व नै रक्षात्मक बनेको महशुस गरियो। कतिपय वामपन्थी नेता र बुद्धीजीवीहरु कम्युनिष्ट शासनको ४ दशक अकंटक अभ्यास हुने अपेक्षाको विलाशमा रमाए। तर परिस्थितिले असमयमै पल्टा खायो।

अनिश्चय र विष्मय मात्र निश्चित रहेको नेपाली राजनीतिमा अपेक्षा फलिभूत हुन सम्भव थिएन। राष्ट्रवाद र समृद्धिको दुन्दुभी बजाएर सत्तारोहण गरेका केपी शर्मा ओलीले आफ्नो स्वाभाव अनुरुप केवल बोल्न, तात्तातो प्रतिकृया दिन र अरुमाथि खनिन आफ्नो सम्पूर्ण वैयक्तिक ऊर्जाको ठूलो अंश प्रयोग गरे। राष्ट्रपति विद्या भण्डारीलाई आफ्नो इगो पूरा गर्ने माध्यमको टेको बनाएका उनले राष्ट्रप्रमुखको संस्थालाई विवादमा तानिरहने काम त गरिरहे तर भण्डारी आफ्ना कामले आलोचित बन्दा, उनी सबैभन्दा बढी रातोपिरो र कटु बनेर पड्किन दृश्य रुपमै हौसिए मानौँ यो उनको निजी ‘टर्फ’ हो। एकीकृत पार्टीको शक्तिशाली अध्यक्षको रुपमा पार्टी र सरकार दुबै बीच राम्रो समन्वय गरी, विवाद र विकार हटाउन लाग्नु पर्ने ओली नै, असहमतहरुलाई ठेगान लगाउने ‘दम्भ’ सहित निरन्तर लागिरहे। समृद्धि, सुशासन र राष्ट्रवादको सत्ता चढ्ने भर्‍याङलाई उनले ‘नचाहिँदाको ठाँडो’ बनाएर मिल्काए अथवा मजाक बनाएर ढलतिर मिल्काए। समन्वय र सुलह भन्दा आक्रामक र कटुता बढाउनमै खप्पिस ओलीले, कुनै पनि रचनात्मक टिप्पणीमा सकारात्मकता देखेनन्। फलत: सत्तारोहणको पहिलो बर्षदेखि पार्टीभित्रको आन्तरिक कलह विष्फोटक बनेर छायो अनि ओलीले आफ्नो कार्यकालको तेश्रो बर्षमा दुई पटक संसद विघटन गरे। जुनसुकै तिकडमले सत्तामा रहिरहने उनको नियतबाट आजित बनेको समग्र मुलुक सर्वोच्च अदालतको हस्तक्षेपले मात्र किनारा लाग्न सक्थ्यो र लाग्यो। लगभग दुई तिहाइको बहुमतले सत्तारोहण गरेका ओली, बहिर्गमित बन्दा एक तिहाइको नेतामा घटुवा बने। यो उनले स्विकार्न नसकेको सत्य, निजी ‘अहंकार’ अध्यायको पटाक्षेप थियो।

ओलीको विकल्पको रुपमा जोडिन पुगेका नेका, माओवादी, मधेशवादी दल र असन्तुष्ट एमालेको माकुने घटकबीच सैद्धान्तिक  र स्वाभावगत मेल छैन। तिनीहरु केवल ओलीको अहंकार बिरुद्ध संगठित थिए र तिनको मतैक्यता दीगो रहने बारेमा कोही विश्वश्त हुने आधार छैन। तर पनि प्रधानमन्त्रीको रुपमा देउवाले विशाल बहुमत पाएर अनुमोदित भएका छन् र सम्भावित रुपमा उनले नै आगामी आम निर्वाचनसम्म यो सरकारलाई तन्काउने छन्। निर्वाचनपछिको राजनैतिक तस्वीर अहिले नै निर्क्योल गर्न सकिन्न, धेरै तरलपन छ र त्यो आगामी दिनले तय गर्नेछन्। तैपनि मिलिजुली सरकारको नेपाली अनुभव निराशाजनक बाहेक केही नभएकोले, अहंकारको पराभवमा हासिल विकल्पबाट बढी उत्साहित हुने आधार पनि केही देखिँदैन।

समग्रमा, ०७२ को संविधान र ०७४ को आम निर्वाचनपछिका लगभग साढे ३ बर्ष पनि पूर्णत: खेर गएका छन्। यो अविधिमा सुशासन र समृद्धिको ठट्टा र गफ बाहेक ठोस आधार व्यवहारत: उठान भएन। अप्रत्याशित घटना र परिस्थितिले लतारेन भने, यो निर्वाचन कालको बाँकि डेढ बर्षको समय सत्ता समीकरणको बेमेल र लेनदेन, कोरोना खोप र आसन्न लहरहरु, रुग्ण अर्थतन्त्रको मलहमपट्टी र निर्वाचन केन्द्रित भएर बित्नेछन्। यसरी, संवैधानिक विवादको कथित निरुपण भएको भनिएको राजनैतिक स्वर्णकालको प्रथम ५ बर्ष ‘प्रथम ग्रासे मक्षिका पात’ बनेर खेर गएको वा जाने भएको छ। नेपाली राजनीतिक जागरुकताको लगभग पौने शताब्दि हामी गोलचक्करको उही विन्दुमा अड्किएका छौँ। यसलाई चिर्न र सही बाटो समाउन राजनीतिको कुन त्यो पुस्ता आउने होला ?

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट