आइतबार, असोज ३ २०७८

नेपाल वायु सेवा निगम डुब्ने संघारमा !


  • नेपालदीप
  • आइतबार, साउन १० २०७८
3.1K
SHARES

नेपालका पुराना संस्थाहरु मध्ये एक, सन् १९५८ मा स्थापना भएको नेपाल एयरलाइन्स (आरए) आफ्नो अस्तित्व र भविष्य डुब्ने संघारमा खडा भएको छ।

नेपाल एयरलाइन्सको हालको स्थिति अनुसार यो दुई विकल्पहरू मझधारमा उभिएको देखिन्छ-

१) निजीकरण वा प्राइभेट कम्पनीलाई बिक्री वा २) पूर्ण रुपमा बन्द र अस्तित्व समाप्ति

कुनै अरु हवाइ सेवा कम्पनी जस्तै,  यी दुई विकल्प बीना कोरोना महामारीको बीचमा नेपाल एयरलाइन्सको अस्तित्व अब बचिरहने सम्भावना लगभग समाप्त भएको छ।

पतनको शुरुवात:

आर्थिक वर्ष २०२०-२१ को लागि, नेपाली  राष्ट्रीयध्वजा वाहक हवाइ सेवाले लगभग ५ अरब रुपैयाँ (४२ लाख अमेरिकी डलर) घाटा कमाएको छ। किनभने गएको डेढ बर्षमा प्रायः उडानहरू ठप्प रहेका छन् जसले गर्दा घरेलु उडानमा ७३% र अन्तर्राष्ट्रीय उडानमा लगभग ८६% गिरावट आएको छ। नेपाल हवाइ सेवाले आफ्नो स्थापना कालदेखि नै वित्तीय क्षेत्रमा राम्रो प्रदर्शन गरिरहेको छैन, राम्रै समयमा पनि यो धिकिर धिकिर चलिरहेको छ।

नेपाल वायु सेवाको हालको ऋण मात्र  झण्डै ४७ अरब रुपैयाँ पुगेको छ। तर पनि, नेपालका धेरै राजनीतिक समूह र निकायहरूले दुहुनो गाइको रुपमा यस वाहकलाई चलाइरहन भने चाहन्छन्। किनभने जहाज किन्दा, अनुवन्ध गर्दा, भाडामा लिँदा वा कार्यकर्तालाई जागिर खुवाउँदा यो दुहुनो गाई हुने गरेको छ। निगम र मुलुकलाई खाडलमा धकेलेर भए पनि कुस्त कमाउने धन्दाबाट नेपालका सरकार संरक्षित संस्थाहरु सदैव जर्जर र भग्न बनेका थिए र छन्।

चरम दोहन र भ्रष्टाचार बाहेक निगमको ठूलो ऋणको अर्को कारण ४ वटा ठूला एयरबस र ६ वटा चिनिया विमानको खरिद पनि हो। निगमले पछिल्लो बर्षहरुमा एयरबस विमानहरू -(दुई एयरबस ए ३२०-२०० र दुई एयरबस ए ३३०-२०० र ६ वटा चिनिया हार्बिन वाई -१२ चिनियाँ टर्बोप्रप्र्स) खरीद गरेको थियो। बाह्य उडानमा सेवा र विश्वसनियताका कारण संघर्ष गरिरहेको नेपाल हवाइ सेवा निगमलाई कोरोना महामारी महासंकटको रुपमा वज्रपातको रुपमा थपिएको छ भने चिनिया विमानहरु निकम्मा र निल्नु न ओकल्नुको समस्या बनेर शुरुवातदेखि नचली थन्किएका छन्।

अझै पनि नेपाल सरकारले निगमको सबै ऋण र बक्यौता भुक्तानी गर्न सहयोग गरिरहेको छ। बेलाबखत सरकारले नेपाल वायु सेवलाई उद्धार गर्न सरकारी कोषबाट रकम दिएर उद्धार (bailout) गरिरहेको छ जुन राशी ३१ अरब रुपैयाँ पुगिसकेको छ। एकातिर आन्तरिक सुधार, सञ्चालनमा चुस्त-स्फूर्तता देखाइरहनु नपर्ने र राजनैतिक कृपामा जागिर खाइरहन पाइने अनि अर्कोतिर जनताको करबाट बनेको राज्यकोशबाट यसरी बर्षेनी १० औँ अरब रुपैयाँ थपेर निगम बचाइरहनु व्यवहारिक रुपमा गैर जिम्मेवार काम हो।

नेपाल वायु सेवा निगम हाल आएर हेर्दा मुलुकले पालेको विशाल सेतो हात्ती हो। विकास र पूर्वाधार नीति विज्ञहरु अनुसार बताउँछन्। सार्वजनिक क्षेत्रका कम्पनीहरूलाई जोगाउनुपर्ने सरकारको अभ्यास नै गलत छ।

नेपाल वायु सेवा निगमले रणनीतिक साझेदारीको लागि केही समय अघि प्रयास गरेको पनि थियो। जर्मनीको लुप्थांसाले  मात्र यसमा इच्छा देखायो ।तर आर्थिक लाभ र कमिशनका लागि गरिने राजनैतिक वा प्रशासनिक हस्तक्षेप एवं ढिलासुस्तिका कारण नेपाली पक्षले दिएको प्रतिक्रियामा ढिलाइ भएको भनेर ऊ पनि पाखा लाग्यो। अन्ततः यसको सम्भाव्यता खेर गयो।

अहिले, राष्ट्रिय ध्वजा वाहक वायु सेवा निगमलाई या त निजीकरण गर्न सकिन्छ जसका लागि यसलाई राजनीतिक स्वार्थ र नोकरशाह (कर्मचारीतन्त्रको स्वार्थी दुष्ट जालो) ले थाप्ने पासो र अवरोधका तगाराहरु पार गर्न आवश्यक छ। एयरलाइनले आफ्नो वस्तुनिष्ठ वित्तीय पृष्ठभूमि,  महामारी, र एयरलाइन्सको समग्र व्यवस्थापनको मूल्यांकन गर्दा आँफूलाई निराशाको भवचक्करमा उभिएको पाएको छ जहाँ अस्तित्व रक्षाको सम्भावना एकदमै न्यून छ। समग्रमा यो कतै पनि सुरक्षित देखिँदैन।

(यो लेख हवाइ उड्डयन सम्बन्धी अन्तर्राष्ट्रिय पत्रिका एयरवेज म्यागजिनबाट भावानुवाद गरिएको हो)

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट