सोमबार, मंसिर १३ २०७८

तेस्रो आँखा



  • नेपालदीप
  • सोमबार, साउन ११ २०७८
6K
SHARES

एतिबिध्न लामो, गोलो र अध्यारो सुरुंग मैले कहिले देखेको थिइन । मैले आँफुलाई चिन्दा सुरुंगभित्र नै थिएँ । सुरुंग लोलाकर थियो मैले बुझेको थिएँ तर तेसका किनाराहरू वारे मैले केवल अनुमान लगाउँन सक्थें । मजस्ता असंख्य मान्छेहरू त्यो सुरुंगमा निरन्तर गइरहेका थिए, सबै एकोहोरो सुरुंगको हिंडीरहेका थिएँ । एसो ठोक्किंदा मुस्सुक्क हाँसे पनि हिड्ने आफ्नै गति थियो । यो तेस्तो गति थियो जुन आफैले पनि रोक्न सकिन्नथ्यो ।

मसंग फगत एउटा मन थियो । जुन केवल मेरो भन्ने थियो । आँखाले देख्न खोज्थ्यो तर अन्धकार वाहेक देख्न केही थिएन । जीब्रो सक्रिय थियो तर उसंग स्वादका लागि केही थिएन । नाकले गन्ध थाहा पाउने प्रयत्न गर्थ्यो तर उसंग सुँघ्ने कुनै वस्तु थिएन । शब्दहरूका लागि कान तयार थियो तर तेस सुरुंगमा कुनै शब्द नै थिएन । दिशापिसावको अनुभूति हुन्थ्यो तर तेसका लागि अवकाश नै भएन । हातगोडाहरू तम्तयार थिए तर सुरुंगमा हिड्ने अनुमान गर्न सकिन्नथ्यो । लाग्थ्यो जताततै गीतसङ्गीत र प्रियअप्रिय शब्दहरू भरिएका छन्, अचम्मको कुरा के भने सुन्न तयार कानमा कुनै शब्दनै पर्दैनथे ।

मात्र मनले यो सबै कुरा बुझिरहेको थियो, देखिरहेको, सूँघिरहेको, स्वाद लिइरहेको, स्पर्शको अनुभव गरिरहेको, निरन्तर संसार भोगिरहेको, निरन्तर पौडने प्रयत्न गरिरहेका हातगोडाहरू र सुन्ने प्रयत्न गरिरहेका कानको प्रतिनिधित्व गरिरहेको थियो । सबै कुरा शान्त थिए तर मन अशान्त थियो, मानौं उ केही प्राप्त गर्न चाहन्छ । तर पनि मलाई लाग्यो, मनलाई पनि कसैले नियन्त्रण गरिरहेको छ !

आजसम्म मैले चिनेको, जानेको र बुझेको मननै थियो । मैले सुरुंगको यात्रा स्वेच्छाले गरेको होइन तर यो उराठलाग्दो यात्रामा मनले सधैं मलाई साथ दिइरहेको छ । उराठलाग्दो यो यात्रामा आँखा, कान, नाकआदिले समर्थन नदिंदा पनि मेरो “मन”मसंगै रह्यो । रुँदा, हाँस्दा, खुसी हुँदा, दुखी हुँदा उसले कहिले त्यागेन । तेसपछि मैले “मन”लाई सबैभन्दा नजिकको निजी मित्र बनाए । साच्चिकै भन्ने हो भने मैले मेरो मलाई “मनमा” समर्पित गरें । तेसदिन देखि मेरो मनको म सेवक भएको छु । आज्ञाकारी नोकर भएको छु।

एकअर्थमा यो एकोहोरो सुरुंगको यात्रामा मनले सघाएको छ । सायद मपनि यसैको गुन तिर्दैछु । मनले हाँस भन्दा हाँस्छु, रो भन्दा रुन्छु, काम गर भन्दा काम गर्छु, चूप लाग भन्दा चूप लाग्छु । मेरो नियन्त्रणमा म छैन । मेरो म आज पूर्णतया मनको नियन्त्रणमा छ । यहाँसम्म कि मेरो मनले दु:खलाई सुख भन्दियो भने म सजिलैसंग विश्वास गर्छु । मनले भनेका सबै कुरा मेरोलागि उचित हुन्छन् । मैले “मन”को आदेश ठीक छैन भन्दाभन्दै मनको आदेश मान्छु । यो सुरुंगका सबै यात्रुहरूको कथा होला जस्तो लाग्छ ।

यो सुरुंग अव मेरो आदत वनिसकेको छ । मैले चाहे/नचाहे सुरुंग मसंग छ । अव मैले सुरुंगलाई चिन्न थालेको छु । अव मेरो सर्वस्व नै यहीं छ । मसंग अव सम्झौता गर्ने विकल्प छ । यो सम्झौता एकपक्षीय छ । मैले सम्झौता गर्ने हो, उसले गर्ने होइन । यो सम्झौता मैले बुझ्ने हो उसले बुझ्ने होइन । स-सानो कुराहरू मेरा बाध्यता हुन् । मेरो जीवन एकबूँद पानीमा अडिएको छ । एक मूठी हावामा रोकिएको छ । एउटा तातो किरणमा मेरो जिन्दगी अल्झिएको छ । म सुन्न सक्छु किनभने मेरा चारैतिर खालीपन छ । मैले यसलाई आकाश भन्छु । म यी सबैसंग बाँधिएको छु ।

मैले सुरुंगको निर्माण गरेको होइन, म आफुलाई सुरुंगभित्र प्राप्त गरेको हुँ । आजसम्म मैले म कसरी, किन र कहिले सुरुंगभित्र पर्न गएँ, मलाई पत्तो छैन । तर पनि मसंग केही छ जसले यो अज्ञातबाट ज्ञाततिर अभिप्रेरित गरिरहेको छ । सुरुंग फोरेर वाहिर निस्कन उक्स्याइरहेको छ । यो अज्ञातबाट वाहिर निस्कने कसैले अलिअलि संदेश दिइरहेको छ । सायद, यो आगोपानी, हावा र मेरो आफ्नो सुरुंगबाट नितान्त भिन्न छ । जवजव यो अज्ञात “ज्ञात” मभित्र चम्किन्छ, म सुरुंगबाट वाहिर निस्कन छट्पटिन्छु, आकुल व्याकुल हुन्छु । मलाई लाग्छ, कुनै तेस्रो “शक्ति” छ जसले मलाई सुरुंग वाहिर निमन्त्रणा दिंदैछ ।

मेरो सुरुंगयात्रा गन्तव्यहीन थियो । हरेक दिन, हरेक पलमसंग यात्रा गर्नुको विकल्प थिएन । मसंग यात्रा रोक्ने कुनै शक्ति नै थिएन । अहिलेको पल मभित्र सुरुंगबाट वाहिर निस्कने छटपटी चलेको छ । म अचम्भित छु, यो पल अन्य वखतको भन्दा नितान्त फरक छ । गन्ध रोकिएको छ । स्वादहरू शान्त भएका छन् । प्रकाश र अन्धकारको सीमा मेटिएको छ । मैले अनुभव गरिरहेको छु, चारैतिर ध्वनिहरूको अवशान भैसकेको छ । मैले यी सबै घटीत भएको देखिरहेको छु । म र मेरो सुरुंगका बीचका सीमाहरू समाप्त भएका छन् ।

यो तेसै भएको होइन । मैले सुरुंगका यात्रुहरू मित्रता गाँसेको थिएँ । ती मध्ये एकजना नितान्त फरक थिए । उनी भन्थे “तिम्रो सुरुंगयात्रा समाप्त हुनुपर्छ । उनी खासै बोल्दैनथे । उनी बोल्थे “तिमीसंग सुरुंगबाट वाहिर निस्कने शक्ति छ । तिमीसंग अद्भूत क्षमता छ, तिमी नै अमृत हौँ । तिमी र म सहयात्री थियौं । तिमीले सुरुंगसंग नाता जोड्यौं तर मैले छोडिन । म अनन्तकाल देखि तिमीसंगै छु । तिम्रो छायाँझैं ।”

मैले उनीमा विश्वास गरें । आजसम्म मैले अविश्वासमात्र गरेको थिएँ । मलाई लाग्थ्यो – सुरुंगमा हिड्नेहरू सबै एकैथरिका हुन् । हामी हिंडीनै रहेका थियौं कि ऊ फेरी बाटोमा भेटियो । मेरा पाउँहरू ऊतिर हिँडे । अव मेरो विश्वासमा अविश्वास गर्नुपर्ने कुनै कारण थिएन । मैले भने “म तयार छु ।” अनि, उ मुसुक्क गरेर चम्कियो । मेरो शीरमा उसको चम्किलो हात छोपियो । उसका हातहरूको माध्यमबाट म रुपान्तरित हुनथालें । उसको स्पर्श शक्तिशाली थियो, शान्त थियो, मीठो थियो, मेरो लागि एउटा अद्वितीय अनुभूति थियो । मेरो “म” सधैंला लागि विलुप्त भएको थियो ।

त्यहाँ सुरुंग थिएन । तेहा अनेकता थिएन । मभित्र अनन्त गन्ध, अनन्त शब्द, अनन्त तेज, अनन्त अमृत प्रकाशित भइरहेको छ । शत्रु र मित्रको भेद मेटिएको छ । अन्धकार र प्रकाशको भेद सकिएको छ । मीठो र नमीठो अनुभव हुँदैन । जताततै पारदर्शिता, पूर्णता, सन्तोष र सुखैसुख फैलिएको छ । अव प्यासले सताउँदैन, अव भोकले प्रभाव पार्दैन । न कुनै आफ्नो छ न कुनै पराया छ । वाहिर र भित्रको, माथि र तलको, धनि र गरिवको, श्रेष्ठ र नीचको, आफ्नो र परायाक विभेदहरू मेटिएका छन् ।

हरेक वस्तुमा आफ्नै प्रतिविम्व देख्दा कुनै अचम्म लाग्दैन । मभित्र “अज्ञात” अस्तित्व भेट्दिन । निन्दा र स्तुतिले निम्त्याउने भावनाहरूबाट निर्मल भएको छु । चाहना (वासना)हरू समाप्त भएका छन् किनभने हरेक वासनाहरूको म स्वामी बनेको छु । कसैले विश्वास गर्दैमा र नगर्दैमा मेरो “तेस्रोआँखा” मूल्यवान वा कमसल हुनेछैन । मेरो अमृतत्वमा जोसुकैले डुबुल्की मार्न सक्छन् । मेरो तेस्रोआँखामा विश्वास गरेर छोए पुग्छ । विश्वास गर्नेहरूले प्राप्त गर्छन्, अविश्वास गर्नेहरूको लागि सम्भावना सकिएको छैन । मभित्रको करूणा, क्षमा र विनयको कहिले पनि अन्त्य हुनेछैन । म बचनबद्ध भएको छु “मेरो तेस्रो नेत्रको अमृतबाट कोही पनि बंचित हुने छैनन् ।” मलाई थाहा छ, तिमी थाक्ने छौँ । तिमीले मलाई खोज्ने छौँ तर विश्वास गर तिमीसंग म एकरत्ति पनि टाढा छैन । जतिवेला पनि म तिमीसंगै छु ।

मसंग तर, किन्तु परन्तुका अवकाशहरू छैनन् । म जादुको लौरा होइन । म कसैको इच्छा पूरा गर्ने देउता होइन । म केवल “तेस्रो आँखा देख्ने” अनन्त व्यक्तित्व हुँ । हरेकसंग तेस्रो आँखा छ । त्यो तेस्रो आँखाका स्वामी तिमी हौँ । तिमीले इच्छाएका वखतमा त्यो खुल्छ । त्यो तिम्रो विश्वासले खुल्छ । जव खुल्छ, जताततै आनन्द वाहेक केही रहन्न । मेरा गुरुले मेरो शिरमा हात राखेर कृपा गर्नुभएको थियो, आज त्यो शक्तिमसंग व्याप्त छ । त्यो शक्ति पोखिन चाहन्छ, पारसमणिझैं सबै फलामलाई सुननै बनाउँने क्षमता राख्छ । सुन बन्न इच्छा गर्नेहरू पारसमणिमा विश्वास गर्छन् ।

 

स्वस्ति अस्तु

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट