आइतबार, असोज ३ २०७८

संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन्ः भट्टराई


  • नेपालदीप
  • मंगलबार, साउन १२ २०७८
3.6K
SHARES
काठमाडौँ। विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले गणतन्त्र, संघियता र धर्म निरपेक्षताबारे पुन: अवलोकन हुनुपर्ने विचार प्रकट गरेपछि जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाएका छन्। भट्टराईले झिंगाको सरापले डिंगा नमर्ने भन्दै मिश्र राजतन्त्रको ‘भूत’ मात्र भएको टिप्पणी गरेका हुन्।
भट्टराईले मिश्रले चर्चा बटुल्न बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी माथि धावा बोलेको पनि आरोप लगाएका छन्। उनले भनेका छन्, ‘झिंगाको सरापले डिंगा मर्दैन! कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको विरूद्ध बोल्यो भन्दैमा तरंगित हुनपर्दैन।संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् भन्न डराउनुपर्दैन!बरू वैकल्पिक राजनीतिको सपना बोकेका युवा सतर्क रहून!’
हिजैमात्र विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले गणतन्त्र ढल्न लागेको बताएका थिए। छलफलका लागि भन्दै ‘मार्ग परिवर्तन: विचारभन्दा माथि देश’ नामक दस्ताबेज सार्वजनिक गरेका मिश्रले गणतन्त्र ढल्ने र राजतन्त्र पुनस्थापना हुने कुरालाई अब कसैले रोक्न नसक्ने प्रक्षेपण गरेका छन्।
मिश्रको उक्त प्रस्तावपछि मूलधारको राजनीति तरंगित बनेको छ। उनको पक्षमा र विपक्षमा बुद्धिजीवी, नेताहरुले विचार प्रकट गर्न थालेका छन्। मिश्रबारे नागरिक आन्दोलनको नेतृत्व गरिरहेका वरिष्ठ पत्रकार नारायण वाग्लेले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको बिँडो मिश्रले थाम्न खोजेको टिप्पणी गरेका छन्। उनले लेखेका छन्, ‘कुनै पार्टीको पदाधिकारी भएर ‘नितान्त व्यक्तिगत’ धारणा सार्वजनिक गर्नु आफैँमा राजनीति हो। परिदृश्यबाट ओलीजी हटेपछि जनतालाई विभ्रम बाँड्ने बिँडो मित्र रवीन्द्र मिश्रले थाम्न खोज्नुभयो। कम्तीमा राप्रपा त खुश भयो!’
मिश्रको उक्त प्रस्तावबारे अभिनेत्री मनिषा कोइरालाले समेत सहमति जनाएकी छिन्। उनले प्रजातन्त्रमा फरक विचारको लागि ठाउँ हुने भन्दै वैकल्पिक विचारको सम्मान गर्नु पर्ने बताइन। मिश्र विरुद्ध गन्नेमान्नेहरुबाट नै नकारात्मक टिप्पणी आएपछि उनले जति नै प्रजातन्त्रको बारेमा गफ गरेपनि चरित्र र व्यवहारमा प्रजातन्त्र नदेखिएको बताइन। उनले स्वस्थ बहस छोडेर मिश्र माथिको आक्रमण असहिष्णु प्रवृति भएको बताइन।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट