आइतबार, असोज ३ २०७८

प्राचीन दार्शनिकवादहरू


  • नेपालदीप
  • मंगलबार, साउन १२ २०७८
4.6K
SHARES

प्राचीन समयमा अनेकौं दार्शनिक चिन्तनहरूको अभ्यास गरिन्थ्यो । खासगरी महावीर जैन र गौतम बुद्धले आफ्ना देशनामा निम्न दार्शनिकहरू र तिनका सिद्धान्तका वारेमा चर्चा गरेका छन् । यी दार्शनिक चिन्तनका विषयमा उल्लेख गर्न वेदान्तिहरूले निकै सानो मन बनाएका छन् । आज पनि यी दार्शनिक चिन्तनका बीजहरू सामाजिक तथा सैद्धान्तिक रूपमा विद्यमान छन् ।  यी वादहरूको विषयमा संक्षेप चर्चा तल दिएको छु ।

अक्रियावाद

बुद्धका समकालीन पूर्णकश्यप अक्रियावादका संस्थापक र प्रचारक थिए । पूर्णकश्यपअनुसार “कुनै पनि राम्रो नराम्रो कर्मको कुनै पनि राम्रो/नराम्रो फल प्राप्त हुँदैन । दान, शील, यमनियम, ताप इत्यादि गर्दा पुण्य प्राप्त हुँदैन । हिंसा, झूट, चोरी इत्यादि काम पनि पाप कर्म होइनन् ।  सामाजिक रूपमा स्वीकृत कर्महरू पुण्य ठानिन्छन् भने अस्वीकृत कर्महरू पाप ।

कुनै पनि मान्छेले आफै कुनै पनि राम्रो/नराम्रो कर्म गर्दैन । उसले केवल आफ्नो वरिपरिका क्रियाहरूको अनुकरण गरिरहेको हुन्छ । तेसैले उसले गरेका काम पापपुण्य हुँदैनन् । असलमा, उसले कुनै क्रिया गरिनैरहेको हुँदैन । अत: मान्छे अक्रिय हुन्छ । विनय पीटकमा भगवान् बुद्धले यो मतवारे चर्चा गरेका छन् ।

नियतिवाद

बौद्धकालीन अर्का दार्शनिक मख्खली गोपाल थिए । मक्खली गोपालले नियतिवादमा विश्वास गर्थे । यिनका अनुसार कर्म गरेर मान्छेको जीवनमा कुनै परिवर्तन सम्भव छैन । सम्पूर्ण विश्वको भाग्य “भाग्य”मा बाँधिएको छ । पुरुषार्थ भनेको मानसिक सन्तोष हो । हरेक कुरा नियतिले पहिलेनै निधारित गरेको छ । दैवले लेखेर दिएको बाहेक मान्छेले रत्तिभर पनि प्राप्त गर्न सक्दैन ।

सुख तथा दुख दुवै पूर्वनियत हुन्छन् । नियतिको इच्छा वेगर एउटा पात पनि हल्लन सक्दैन । सबै थोक र मनुष्यको भाग्य पूर्वनियत छ । तेसैले मान्छेले गर्ने कर्मका फलको उ भागीदार बन्न पर्दैन । कुनै पनि कर्म पुर्वनियत भएको कारणले ती घटीत हुन्छन् नै ।

अकृतवाद

बुद्ध तथा महावीरका समकालीन विद्वान प्रक्रुध कात्यायन अकृतवादका संस्थापक आचार्य कहलिन्छन् । यिनका अनुसार पृथ्वी, जल, तेज, बायु, सुख. दुख तथा जीव यी सबै कसैले निर्मित गरेका वस्तु वा विषय होइनन् । तेसैले यिनको कुनै निमित्तकारण छैन । यी सबै विकार रहित छन् र एकआपसमा हानिरहित छन् । कसैले कसैलाई मार्न नष्ट गर्न सक्दैनन् ।

जीवनमा आध्यात्मिकता, स्वर्ग, नर्क, पापपुण्य इत्यादिको कुनै महत्व छैन । यहाँ हरेक वस्तु वा विषयहरू निरपेक्ष छन् । यहाँ कसैले कसैको अपकार वा उपकार गर्दैन । उपरोक्त सातै पदार्थहरू अकृत छन् र यिनै निरपेक्ष वस्तुहरूको संघात विश्व हो । यी एस्तै रहिरहने छन् । यी सबै थोक अकृत छन् ।

उच्छेदवाद

संसारमा कुनै पनि वस्तुको स्थायी अस्तित्व छैन । पापपुण्य वा स्वर्ग नर्कको कुनै अस्तित्व छैन । मृत्यु नै मोक्ष हो । पृथ्वी, जल, तेज र वायु यी चारतत्वहरूको प्राकृतिक मिश्रण र विघटनबाट जीव र अजीव दूवैको निर्माण भएको हो । आत्मा छैन भने एसको अस्तित्वका विषयमा अनुमान गर्नु मूर्खतापूर्ण कार्य हो । आत्मा वा जीवात्माजस्ता कुनै स्थायी वस्तुको अस्तित्व छैन ।

आध्यात्मिक साधनाहरू व्यर्थ छन् । वर्तमान जीवनलाई सुखी तुल्त्याउनु नै जीवनको सर्वोत्तम कर्तव्य हो । तत्काल प्राप्त हुने लाभनै उपलब्धि हो । असल काम गरे स्वर्ग प्राप्त हुन्छ, कमसल काम गरे नर्क प्राप्त हुन्छ भन्न व्यर्थको प्रलाप हो । असल र खरावको आवश्यकता संसारको व्याबहारिकता हो, स्वर्गीय होइन – आजित केशकम्बली नामक विद्वानका यी विचारहरू वैदिक चार्वाकसंग मिल्छन् । ज्ञातव्य होस् – अजित केशकम्बली बुद्धका समकालीन विद्वान मानिन्छन् ।

अनिश्चिततावाद

बुद्धले आफ्नो दार्शनिक देशनामा संजय वेलत्ठीपुत्तले अनिश्चिततावादको स्थापना गरेको र शिष्यहरूले एस सिद्धान्तको अभ्यास गर्ने गरेको परिचर्चा गरेका छन् । अनिश्चिततावादलाई सन्देहवाद पनि भनिन्छ ।  संजय वेलत्ठीपुत्तका मतमा कुनै पनि तत्वका विषयमा निश्चिततापूर्वक केही भन्न सकिन्न । कसैले स्वर्ग देखेर आएको छैन न नर्कनै देखेको छ । नदेखेको नसुनेको वस्तुका विषयमा निश्चिततापूर्वक केही भन्न सकिन्न । पापपुण्य, स्वर्गनर्क, आत्मापरमात्माजस्ता विषयहरूको अस्तित्व अनिश्चित छ ।

संजय वेलत्ठीपुत्त भन्छन् : मैले स्वर्ग र नर्क दुवै देखेको छैन । मेरो अनुभव वा बुद्धिमा यिनको वर्णनात्मक स्वरूपमात्र विद्यमान छ । मैले यी स्वरूपहरूलाई छन् वा छैन भनेर प्रष्ट भन्न सक्दिन । तेसैले आत्मापरमात्मा, स्वर्गनर्क, पापपुण्य, जीवा, ब्रह्मजस्ता विषयहरूको वास्तविक अस्तित्व छ कि छैन मैले केही पनि प्रष्ट भन्न सक्दिन, म अनिश्चित छु ।

हामीले बुझ्नुपर्दा प्राचीन जैन र बौद्धकालीन समाजमा उपरोक्त दार्शनिक चिन्तनहरू प्रचलनमा थिए । बुद्ध र महावीर समकालीन भए पनि एकआपसमा भेटेको कुनै इतिहास छैन तर दुवैले आफ्ना साहित्यहरूमा उपरोक्त पांचवाद वारे चर्चा गरेका छन् भने बौद्धहरूले महावीरको मतलाई “चतुर्यामसंवर” नाम दिएर उल्लेख गरेका छन् । यी मध्ये केवल निर्ग्रंथनाथपुत्र अर्थात् महावीर जैनको सम्प्रदाय आजको (जैनपन्थ) का रूपमा जीवित छ । अन्य सम्प्रदाय र तिनका बौद्धिक परम्पराहरू नष्ट भैसकेका छन् ।

अन्त्यमा, वैदिक, उपनिषदीय, पौराणिक तथा वेदान्त दार्शनिकहरू र तिनकावादहरूको चर्चा हुँदा उपरोक्त सिद्धान्तहरू वारे कत्ति पनि चर्चा गरिन्न । उप्रान्त उपरोक्त महत्वपूर्ण सिद्धान्तको अनुसन्धान गरेर उपरोक्त मतका आचार्यहरू र तिनले अभिनिर्माण गरेका मतहरूलाई सर्वसुलभ बनाइनुपर्छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट