आइतबार, असोज ३ २०७८

किन राष्ट्रसंघले संस्कृत दिवस तोक्नु पर्छ ?


  • नेपालदीप
  • बुधबार, साउन २० २०७८
3.3K
SHARES

१. प्राचीनतम लेख्य साहित्य
विश्वमा लगभग ६७०० भाषाहरू छन् | ती मध्ये ल्याटीन, रोमन इत्यादि प्राचीन ठानिन्छन् | तर संस्कृत यी सबैभन्दा प्राचीनतम भाषा हो भन्ने अनुसन्धानबाट सिद्ध भैसकेको छ | विद्वानहरूका वेदको लेखन सम्वन्धि समयका वारेमा मतभेद भए पनि “वेद विश्वको सबैभन्दा प्राचीनतम लेख्यरूपमा उपलब्ध साहित्य” हो भन्ने कुरामा कुनै विवाद छैन | जर्मन विद्वान म्याक्समूलरले आफ्नो प्रसिद्ध पुस्तक “प्राचीन संस्कृतसाहित्यको इतिहास” (१८५९) नामक पुस्तकमा वेदको लेखनकाल ई.पू. १५०० देखि ६०० वर्षसम्म भएको तर्क गरेका छन् | एस्तै अर्का जर्मन विद्वान याकोवीले र बृटिश विद्वान विन्टर नित्सले ऋग्वेदको लेखनकाल कमसेकम ई.पू. ४५०० वर्ष भएको प्रमाणित गर्ने प्रयत्न गरेका छन् | तेस्तै भारतीय विद्वान बालगंगाधर तिलकले ( ओरायन, पृ0 २१४-२०) खगोलीय गणनाका आधारमा ऋग्वेदको लेखनकाल ई.पू. १० हजार वर्ष पहिले भएको उल्लेख गरेका छन् |
२. पश्चिममा संस्कृत
सन् १९०० भन्दा अगाडी पश्चिमा विद्वानहरूले वैदिक, बौद्ध, जैन तथा अन्य भारतवर्षीय भाषा, साहित्य, संस्कृति र सभ्यताका सम्वन्धमा लेखेका विषयवस्तुहरूको पुन:समीक्षा गर्नु आवश्यक छ | वैदिक साहित्यमा सबैभन्दा बढी काम गर्ने जर्मनका म्याक्स्मुलर (१८२३-१९००) हुन् | यिनले चारैवेद, उपनिषदहरूसहित अनेकौं संस्कृत ग्रन्थहरूलाई जर्मनी भाषामा अनुवाद गरेका छन् | धेरै पश्चिमा विद्वानहरूसहित भारतवर्षीय विद्वानहरूले पनि यिनका कामको प्रशंसा गरेका छन् तर अनुवाद गर्दा यिनले “युरोपेली धर्मसंस्कृति भन्दा उत्कृष्ट संस्कृत कथनहरूलाई विकृत गरेर प्रस्तुत गरेका थिए” भन्ने आरोपमा सत्यता रहेको हवार्डमा संस्कृत र अर्थशास्त्रका प्राध्यापक रेभन स्लिक (१९२२-१९९२) ले स्वीकार गरेका छन् भने नेपाली र भारतमूलका केही प्रसिद्ध अनुसन्धाताहरूले “युरोपियनले संस्कृतका ग्रन्थहरूको अनुवाद गर्दा केवल शब्दार्थलाई महत्व दिएर भावार्थलाई छोडेकोले अनुवादले प्राथमिक सूचनामा अन्याय गरिएको गरेको” भन्ने आरोप लगाउँदै आएका छन् |
चाल्स विकिनले १७८५ मा अंग्रेजीमा अनुवाद गरेको श्रीमद्भगवद्-गीता नै युरोपेली भाषामा संस्कृतबाट अनुवाद पहिलो ग्रन्थ मानिन्छ | एसियाटिक सोसाइटीको नेतृत्व गरेका सर विलियम जोइन (१७४६-१९९४) ले संस्कृत भाषा र युरोपेली भाषाको तुलनात्मक अध्ययन गरेका थिए | संस्कृत भाषाका वारेमा उनी लेख्छन् ”संस्कृत भाषा एउटा अत्यन्त महत्वपूर्ण छ | यो ग्रीक र ल्याटिन भन्दा धेरै परिस्कृत र व्याकरणआदिका कारण ज्यादै वैज्ञानिक रहेको पाएको छु (१७८६) भनेर आफ्नो प्रसिद्ध कृति ओथ्नो ग्राफी अफ एसियाटिक बर्ड” लेखेका छन् | जेम्स मिलले (१७७३-१८३६) १२ वर्ष लगाएर बृटिश इन्डियाको इतिहास लेखे जसमा उनले सर विलियम जोइनलाई आफ्नो स्रोत बनाए | सर जोइनले “संस्कृत भाषाको विकास प्राचीन युरोपेली भाषाबाट भएको” भन्ने निष्कर्षलाई जेम्स मिलले “पश्चिमा मूलका घुमन्ते आर्यहरूले भारतवर्षमा आक्रमणकारी बनेर प्रवेश गरेका हुन् | अत: आर्यहरूको जरोकिलो युरोपनै हो” भन्ने मन गठंत इतिहास लेख्न सहज बनायो | जुन आज लगभग अस्वीकृत भैसकेको छ |
विलियम जोइनले कालिदासको शकुन्तलम् र कुमार सम्भवको अंग्रेजी भाषामा अनुवाद पनि गराए तर उनको दृष्टिकोणमा कुनै पनि इतिहास बाइबलको जेनेसिस भन्दा प्राचीन हुनै सक्दैन | तेसैले उनले वेद, उपनिषद तथा अन्य संस्कृतका ग्रन्थहरूको समय निर्धारण गर्दा ई.पू. ३५०० भन्दा अगाडी जाने साहस गरेनन् | जेनेसिसले सृष्टिको आरम्भ ई.पू. ४००० तिर गरेको भन्ने विसप उसेरको कथनलाई काट्नु उनको धार्मिक विश्वास विपरित थियो | यो तत्थ्य उनले आफ्नो कृतिमा प्रष्टसंग उल्लेख गरेका छन् | तत्थ्य प्रष्ट छ, वार्षिक ८०० पाउंड दिने गरी अंग्रेजले जोइनलाई बृटिश इन्डिया कम्पनीले कलकत्ताको न्यायाधीश बनाएको थियो, उनको प्रमुख काम नै अंग्रेजहरूको शक्ति बलियो बनाउनु थियो जुन बाइबलसंग जोडिन्थ्यो | संस्कृतभाषामा रहेका असल तत्थ्यहरूलाई जस्ताको तस्तै अनुवाद गर्दा “बाइबल” कमजोर हुन्थ्यो |
आजको मितिमा केही भारतवर्षीय र पश्चिमा विश्वविद्यालयका विद्वानहरूले अनुवादहरूको पुननिरीक्षण आरम्भ गरेका छन् भने केही पश्चिमा-सुप्रिमेसीका पक्षधर प्राध्यापक पुलोक, डोनियरआदिले जोइन र मिलको दृष्टिकोणमा टेकेर काम गरिरहेका छन् | आज पश्चिमा विश्वमा संस्कृत भाषा, साहित्य, विज्ञानप्रति निकै अभिरुचि बढेको देखिन्छ भने संस्कृतका ग्रन्थहरूको अनुवादमा पनि उनीहरूको सक्रियता प्रसंशनीय छ | आज विश्वका धेरैजसो विश्वविद्यालयहरूले प्राचीनतम भाषाका रूपमा अनुसन्धान प्रयोजनका लागि संस्कृत-भाषा, साहित्यहरूलाई अङ्गीकार गर्न थालेका छन् | पश्चिमा जगतमा बढ्दो नास्तिकता (इसाई धर्मप्रति अरूचि)ले वैदिक, जैन र बौद्ध साहित्यहरूको अध्ययन गर्न विद्वानहरूलाई अभिप्रेरित गरेको छ | संस्कृत भाषाकै योगदान भन्नुपर्छ, वैदिक संस्कृति (हिन्दू, जैन बौद्ध, किराती तथा बोन) धर्म, संस्कृति तथा सभ्यताहरूप्रति अभिरुचि राख्ने र वैदिक संस्कृति अङ्गीकार गर्नेहरूको सङ्ख्यामा निकै व्यापकता आएको छ | धर्मपरिवर्तन गर्ने/गराउने प्रतिमान नै नभएको हुँदा संख्यात्मक रूपमा “हिन्दू धर्म मान्नेहरू बढेका छन्” भन्न मिलेको छैन | विविसीको प्रतिवेदनअनुसार विश्वमा सबैभन्दा बढिरहेको धार्मिक सम्प्रदाय इस्लाम हो भने संस्कृतिचाहिं हिन्दू नै हो |
३. विविधतापूर्ण साहित्य
विश्वभरी लगभग ६५०० भाषाहरू प्रचलित छन् जसमा ४९ भाषा बोल्ने केवल एकएक व्यक्तिमात्र छन् | करिव ४७३ भाषाहरू लोप भैसके | अंग्रेजी, फ्रेन्च तथा जर्मनभाषाको विस्तारले खासगरी फ्रेन्च र अंगेजीको विस्तारका कारण लोप भएका भाषाहरूको सङ्ख्या ३७८ छ | अंग्रेजी र फ्रेन्चभाषाले प्राचीन हित्ति, ल्याटिन, ग्रिकेली भाषाको विकासमा पुरै रोक लगाएको छ | तर विश्वको सबैभन्दा प्राचीन मानिएको संस्कृत भाषामा आज पनि दैनिक ४ बटा पुस्तकहरू लोकार्पण हुन्छन् भने संस्कृत भाषामा विभिन्न समाचार (टेलिभिजन, युट्युव, रेडियो, सामाजिक संजाल) उत्पादन र संचालन भैरहेका छन् | पछिल्लो समयमा संस्कृतप्रति अभिरुचि राख्ने, पढ्नेहरूको सङ्ख्या ह्वात्तै बढेको छ | सन् २०१७ मा भारतले एउटा संस्कृतको केन्द्रीय विश्वविद्यालय नै आरम्भ गरेको छ भने प्रत्यक्ष र इन्टरनेटका मध्यमबाट संस्कृत पढ्नेहरूको सङ्ख्यामा नाटकीय रूपले वृद्धि भएको छ | नेपालमा पनि संस्कृतप्रतिको चासो र अध्ययन गर्ने विद्यार्थीहरूको सङ्ख्यामा तीब्रप्रगति भएको छ तर सरकारीमा भन्दा नीजितवरले संचालन भएका गुरुकुल, वेदविद्याश्रममा विद्यार्थीहरू बढेका छन् | अर्कोतिर संस्कृत जानेका नेपाली विद्वानहरूलाई विश्वप्रसिद्ध विश्वविद्यालयहरूले जागिर दिन थालेका छन् |
उपरोक्त अवस्था उपस्थित हुनुमा (१) विश्वभरी नै स्वधर्म, संस्कृति तथा संस्कारलाई पहिचान मानेर पुनर्जागरणको प्रयास हुनु र संस्कृतभाषामा लेखिएका ग्रन्थहरूमा धेरै विषयवस्तु समेटिएको हुनु | असलमा, प्राचीन संस्कृतभाषाले जतिधेरै विषयवस्तु समेटेको छ, तेतिधेरै अन्यविश्वका प्राचीनभाषाहरूले समेटेका छैनन् | न्युयोर्क विविविका प्राध्यापन जोनादनकाअनुसार संस्कृतलाई “हिन्दूहरूको भाषा मान्नु/बनाउनु भाषाविद्हरूले गरेको अक्षम्य पाप हो |” किनभने विश्वका अन्यभाषाहरू घुमन्तेप्रकृतिमा रहेको बेला संस्कृतमा वेद, आरान्यक, ब्राह्मण, उपनिषद, दर्शन, सङ्गीत, छन्द, आयुर्वेद, धनुर्वेद, साहित्य, बस्तु, काम, अर्थ, धर्म, कृषि, गणीतआदि विषयमा धेरैधेरै ग्रन्थहरू लेखिएका थिए | मुस्लिम आक्रान्ता र प्राकृतिक कालले धेरै प्राचीन संस्कृत लेख्य, श्राव्य ग्रन्थहरू नष्ट भए पनि आजका मितिमा अझैं लाखौँ संस्कृतग्रन्थहरू उपलब्ध छन् | नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक काशिनाथ नेउपानेका विचारलाई मान्ने हो भने “अझैं पनि करिव १ लाख संस्कृतमा लेखिएका ग्रन्थहरू विभिन्न व्यक्ति, ठाउँ र प्राचीन पुस्तकालयमा आफ्नो उद्धारको प्रतिक्षा गरिरहेका छन् |” विश्वविद्यालयका अनुसन्धाताहरूले तेता ध्यान दिनु पर्छ | क्रमशः

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट