बुधबार, मंसिर १५ २०७८

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले अविश्वास प्रस्ताव फेस नगरी राजीनामा दिने



  • नेपालदीप
  • बुधबार, साउन २७ २०७८
6.1K
SHARES

विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरेपछि संकटमा परेका मुख्यमन्त्री शंकर पोखरेलले आजै राजीनामा दिने भएका छन ।

विशेष अधिवेशन माग गर्ने विपक्षी गठबन्धनको पक्षमा प्रदेश सभाका बुहमत सदस्य एकढिक्का भएपछि पोखरेलसामु पहिल्यै राजीनामा दिने कि अधिवेशन सामना गर्ने भन्ने दुइटा विकल्प मात्र बाँकी थियो ।

एमालेका अधिकांश नेता र प्रदेश सांसदहरूले अधिवेशन सामना गर्नेभन्दा पहिल्यै राजीनामा दिने विकल्पमा बढ्ता जोड दिएका छन् । मुख्यमन्त्री पोखरेलले साढे १२ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।

बुधबार बिहानैदेखि सत्तापक्ष र विपक्षी गठबन्धन तीव्र छलफलमा जुटेका छन् । विपक्षी गठबन्धन लुम्बिनीको लुम्बिनी बुद्ध गार्डेन होटलमा छ । सत्ता पक्ष एमाले संसदीय दलको बैठक बुटवलस्थित मुख्यमन्त्री निवासमा बसिरहेको छ ।

लुम्बिनी प्रदेशका एक नेताले प्रदेश सभामा एमालेको बहुमत छैन भन्ने स्पष्ट भएपछि राजीनामा दिएर बाटो खोलिदिनु पर्ने सुझाव धेरै नेताहरुले दिएको बताए ।

पार्टीको नीतिविपरीत सरकारमा सहभागी भएकै कारण जनता समाजवादी पार्टीबाट कारबाहीमा परेर पदमुक्त भएका सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डेले मंगलबार राति नै मन्त्री पदबाट राजीनामा दिएको सार्वजनिक गरेका थिए ।

लुम्बिनी प्रदेशमा सत्ता पक्ष अल्पमतमा रहेको भन्दै विपक्षी गठबन्धन माओवादी, कांग्रेस, जसपा र जनमोर्चाका ३४ जना सांसदले साउन १९ गते तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता गर्दै विशेष अधिवेशन माग गरेका थिए । त्यही मागअनुसार प्रदेश प्रमुख अमिक शेरचनले बुधबार दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेका छन् ।

अधिवेशन संविधानविपरीत रहेकोले विशेष अधिवेशन फिर्ताको माग गर्दै सत्ता पक्ष एमालेका प्रदेश अध्यक्ष एवं प्रदेशसभा सदस्य लीला गिरीले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले मंगलबार निवेदन हेर्न नभ्याइनेमा राखेपछि विपक्षी गठबन्धन अधिवेशनको अन्तिम तयारीमा जुटेको हो ।

८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्य मात्र छन् । बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ । विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन् । सत्ता पक्षमा एमालेका ३८ जना मात्र छन् ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट