सोमबार, मंसिर १३ २०७८

विलक्षण “म”



  • नेपालदीप
  • बिहिबार, साउन २८ २०७८
6.1K
SHARES

आजको मितिसम्म मसंग मेरो “म” वाहेक केही छैन | मैले जानेबुझेपछि यो मसंग अनवरत छ, अखण्ड छ, मैले चाहे पनि नचाहे पनि यो “म”मसंग अभिन्न रूपमा हिंडिरहेको छ | मेरा औंलाका हरेक चाप, हरेक श्वाससंग मेरो “म” मसंगै छ | मेरो “म”काकारण म लेख्दैछु | तपाईंको “म”ले यो पढीरहेको छ | सोचिरहेको छ आफ्नै “म”का विषयमा | जसलाई आफ्नो “म”को ज्ञान हुँदैन त्यो कि परमहंस हो, कि निर्बोध र निर्दोष शिशु हो वा जडमतिमा (कोमा) रहेको मान्छे हो |

मलाई मेरो “म” मन पर्छ तर तेसको स्रोत र गन्तव्य थाहा छैन | मेरा विश्वासहरू नै मेरा स्रोत वनिरहेक छन् | मेरा तर्कहरूनै एसका गन्तव्य वनिरहेका छन् | मेरो शरीरको लागि मेरा मातापिता स्रोत हुन् | मेरा ज्ञानहरूको लागि “गुरूजन” स्रोत हुन् | मैले आफुजस्तै प्राणिको संसार त प्राप्त गरेको छु तर मसंग ती सबैसंग एकात्माको कुनै अनुभूति छैन | तर एसको अर्थ म अपूर्ण छु भन्ने पटक्कै होइन न मेरा अनुभूतिहरू नै असत्य छन् भनेर बुझ्नु हो |

म मेरा अनुभूतिहरूको साक्षी हुँ | म मेरा ज्ञानहरूको सङ्ग्रहस्थल हुँ | म मेरा सम्झनाहरू र भोगाईको प्रमाण हुँ | म तेही हुँ जुन मेरा सिकाई हुन् | विश्वास गर्नुस्, म मेरा सिकाई वाहेक केही छैन | म र मेरो सिकाई फरक छ तर सिकाई विना “म” अधूरो हुन्छ | सिकाईले “म”लाई तीब्र बनाउँछ, अभिमानी बनाउँछ र विनम्र पनि | मैले वाहिरबाट ग्रहण गर्छु भित्रबाट “निर्माण” गर्छु | यही सेरोफेरोमा मेरो म क्रियाशील छ, गौरव र हीनताबोधले ग्रसीत छ |

सबैले देख्ने मेरो “म” मेरो शरीर हो | सबैसंग नाता यही शरीरसंग पर्छ | शरीरसंग गाँसिएका नाताहरूले मेरो शरीरलाई महत्व दिन्छन् | शरीरलाई सहयोग चाहिन्छ, शरीरले नै सहयोग दिन्छ | शरीरको जन्म छ र मृत्यु पनि जन्मसंगै प्राप्त भएको छ | न मेरो इच्छाले मेरो शरीर प्राप्त भएको हो न मेरो इच्छाको भरमा शरीर नष्ट हुन्छ | हो, शरीरलाई नष्ट गर्ने क्षमता यस शरीरसंग छ तर आत्महत्या असाधारण घटना हो | शरीर समाप्त भएपछि अनुभूति, सम्झना, ज्ञानहरू नष्ट हुने डरले “म”जस्तो मान्छे मर्न डराउँछ | सत्य यही हो | यो मेरो सत्य हो ए मेरो शरीरको लागि हो | तपाईंको सत्य अर्कै छ भने भन्नु केही छैन | किनभने तपाईंको शरीर नितान्त तपाईं कै हो |

शरीर रहस्य होइन | यो सबैका लागि हो | सार्वजनिक र प्राकृतिक हो | यो तेही जुन यो धरती, आकाश, पानी, हावा र तातोमा छ | रचना जटील छ तर निर्माणको कारखान बोक्ने “आमा” निर्माण प्रक्रिया वारे ज्ञान हुँदैन | शरीर एउटा जटील प्रक्रियाबाट निर्मित सरल आयातन हो | जव मेरो “म” शरीरभित्र प्रवेश गरेर यसको रचना बुझ्न खोज्छ आश्चर्य चकित हुन्छ | तेसरी नै जव मेरो “म”शरीर भन्दा छुट्टै विश्ववारे चिन्तन गर्छ, तेहा पनि आश्चर्य हुन्छ | लाग्छ, यो “म”लाई चौबाटोमा “हेर्नमात्र” उभ्याइएको हो !

मेरो “म” सधैं भित्रमात्रै होइन वाहिर पनि घुमेर हेर्छ | अनन्त ब्रह्माण्डको धेरै सानो अंश हो “म”, त्यैपनि यो निराश हुँदैन | बालुवाका ससाना कणदेखि सङ्ख्यसम्मका दुरीमा फैलिएका ब्रह्माण्डहरू नाप्ने प्रयत्न गर्छ | खरवौँ प्रकाशवर्ष टाढा रहेका ब्रह्माण्डहरूको अस्तित्व वारे जिज्ञासामात्रै होइन भेटेर, देखेर, छोएर पर्खाल्ने आँट गर्छ | यो आँटले प्रमाणित गर्छ – उसले आफु बनेको तत्वको गहिराई नाप्न चाहन्छ | माटो, पानी, तातोपन, हावा र अवकाशमा फैलिएका अनन्तको अन्तिम सीमा हेर्न चाहन्छ | आफैले पनि देख्न, छुन, भेट्न, छाम्न नसक्ने मेरो “म” विलक्षण छ |

वाहिर र भित्रको भेदले “म” बांधिन्न तर शरीरको अभावमा “म” बुझ्न सकिन्न | शरीर र म जोडिएका छन् | प्रत्यक्षको “म” शरीर हो | अनुमानको “म” जीव हो | शब्दले बुझाउने “म” आत्मा हो | मेरो लागि मेरो म अनुमान होइन | शब्दले चिनाउने आत्मा पनि होइन | मेरो लागि मेरो म सुस्पस्ट प्रत्यक्ष हो | वाहिर र भित्रको विश्वको एकमात्र साक्षी हो | यही म छ र मेरो अस्तित्व छ, यही मले मलाई मेरो विश्व उपलब्ध गराएको छ | मेरो लागि मेरो विश्वको उत्पत्ति र सीमाहरू मेरो मसंग बाँधिएका छन् |

मेरो “म”संगको सम्वन्ध अज्ञेय छैन | यो माया होइन | यो भ्रम होइन | यो अस्तित्व हो | यो निराकरण होइन, निराकरणको निकास हो | यो अचिन्त्य छैन, बरू विलक्षण छ | विलक्षण छ किनभने सबैभन्दा प्रष्ट, आत्मीय, निकटतम, प्रकशित र प्रत्यक्ष भएर पनि रहस्यमय छ | किनभने शरीरलाई यसले “मेरो” भन्दै आँफु छुट्टै रमाउने गर्छ | शरीर र म नितान्त फरक छन् भन्ने अवस्थामा मेरो ज्ञान पुगेको छैन | लाग्छ, ज्ञानको स्रोत र सीमा नै मेरो “म” हो | यहाँ मेरो मको अर्थ हो तेरो “तँ” अर्थात् आ-आफ्नो म | प्रकृतिके हरेकको लागि आफ्न्नै विलक्षण म को व्यबस्था गरेको छ | तेसैले सबैसंग आफ्नो म छ र हरेक आफ्नै मसंग रमाउने गर्छन् |

आजको लागि, अहिलेको क्षणको लागि यो शरीर “म” हुँ | जेहोस् आजको मितिसम्म सुरक्षित छ | तेसैले यो शरीरसंग सरोकार राख्नेहरू खुसी छन् र केही दुखी पनि होलान् | तर म अजातशत्रुको अभ्यास गर्दैछु किनभने म अज्ञातशत्रु होइन | मभित्र ती सबै दुर्गुणहरू छन्, ती सबै सद्गुणहरू छन्, जुन एउटा सामान्य मान्छेमा हुन्छन् | फरक एत्ति छ, उहाँहरूले जसरी चिन्तन गर्नुहुन्छ सम्भव मेरो “म”ले गर्दैन वा अलि बढी गर्छ !

कृष्णले मुरली हातमा लिएर सम्पूर्ण जीवन आनन्दमय तवरले विताउँने संदेश दिन्छन् र साथै चक्र लिएर जीवनका बाधाहरु काट्दै जाने आदेश दिन्छन् | पर्वतकी छोरी जगज्जननी पार्वतीले विषम परिवारमा रम्ने प्रेरणा दिन्छिन् | मेरो झैं हरेक को जीवनमा चक्र, वाँसुरी र नटराजको अचम्मको संयोग हुन्छ | जीवन एउटझैं छ तहाँ निकै घुम्तीहरु छन् | जीवन एउटा रमाइलो अवसर पनि जहाँ कृष्णका वाँसुरीहरूको झंकार छ र जीवन महाकालको नटराज मृत्यु हो जहाँ प्रवेश गरेपछि फर्केको कुनै इतिहास छैन |

मेरो “म” विलक्षण छ | सुखी छ, अजातशत्रु छ | तृप्त छ | सन्तुष्ट छ | शरीर र मनमा अनेकौं बाधा हुँदा पनि आनन्दमा रम्छ | मलाई थाहा छ “तपाईं”संग मेरा अनुभूतिहरूलाई नकार्न धेरै तर्कहरू छन् | यी सबै तर्कहरूले तपाईंलाई एउटा अनन्त आनन्दको बाटोमा प्रवेश गर्नबाट रोकिरहेका छन् | संस्कार र अहङ्कारसंग मिसिएका तर्कहरूले सधैं अविश्वास, संशय र उच्छेद प्रकट गर्छ | हातमा अमृत बोकेर “अमरता” खोज्नेहरू यो संसारमा धेरै छन् | मेरो “म” मा तपाईंको स्वागत गर्न उत्सुकता छ किनभने मेरो अनुभूतिको “म” र तपाईंले एक क्षण पनि छोड्न नसक्ने “म”मा विलक्षणको सम्वन्ध छ | तेही विलक्षणतासंग मिलनका लागि मेरो आवाहन हो |

अमरता अर्थ मृत्युरहित होइन, मृत्युलाई सहजरूपमा स्वीकार गर्ने उदारता हो | सुखद्:खहरूलाई समानरूपमा बुझ्ने मानसिक शक्ति हो | आफन्त र परायाको भेद-दृष्टिको अवशान हो | कामक्रोधलोभमोहममतारागइत्यादि भावनाहरूमा आफ्नो नियन्त्रण हो | साथै, आफ्ना कमजोरीहरूको आत्मस्वीकृति र विशालताहरूको विस्तार पनि हो | म आवह्वान गर्छु किनभने मसंग आवाहन गर्ने क्षमता र सहजरूपमा आउनेहरूलाई “दिन” अमृत छ | अशान्त, अतृप्त, अस्थीर, निराश तथा उत्तेजितहरूका लागि “वास्तविक” उत्साह छ | मेरो “म” विलक्षण छ किनभने उसले विश्वलाई आफुभित्र प्रतिविम्वित गर्न थालेको छ र अमृतका कणहरूको स्वाद लिएर आनन्दित भैसकेको छ |

मेरो “म” विलक्षण छ | तेसैले आ-आफ्ना मपाईं त्यागेर “म”संग एकाकार बन्न प्रत्याभूति दिने मेरो “म”संग नाता गासौं | अमृतले अमृत नै खोज्दछ | हामी सबै अमृतका सन्तान हौँ तेसैले ऋतको संसारका लागि निर्धक्कसंग प्रस्थान गरौँ | मेरो “म” र तपाईंहरूको आफ्नो “म” बीच एकाकार बन्न मदत गरौँ |

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट