सोमबार, मंसिर १३ २०७८

चाणक्य नीति : आत्मप्रशंसाको निन्दा



  • नेपालदीप
  • आइतबार, साउन ३१ २०७८
3.4K
SHARES

वैदिक ऋषिमुनिहरूले एतिबिध्न विनम्र तथा निरपेक्ष थिए कि उनीहरूले कहिल्यै पनि आफ्नो, नाम-सम्मान र रोयल्टी खोजे | ऋषिहरूले जे-जति ज्ञानविज्ञान, साहित्य, इतिहास, संस्कृतिका क्षेत्रमा खोज, अनुसन्धान गरे ती सबै नितान्त निष्काम भावले मानवसमाजको उन्नयनका लागि समर्पित गरे | तेतिमात्र होइन, उनीहरूले आफ्ना सन्तानहरूलाई समेत निष्काम भावले ज्ञान-विज्ञानको विकास, प्रसारण गर्न अनुरोध गरे | वेदहरूले अहङ्कारलाई “असुर” भन्दै “निराभिमानी” बन्ने बाटो देखाए | उपनिषद तथा पुराणहरूले तिनकै बाटो अवलम्बन गरे |
ऋषिहरूले ज्ञान-विज्ञानको परम्परामा व्यक्तिको स्वार्थ (व्यक्तिगत सम्पत्ति थुपार्ने र आफ्नो जयजयकार गराउने प्रवृत्तिको विकास नहोस्) प्राथमिकतामा नपरोस् भनेर आचार्यकुलहरूका छात्रछात्रा, अनुसन्धाता तथा अध्यापक/गुरूहरूले खोजेका रचना गरेका विषयवस्तुहरूको जस आफ्ना “मूलआचार्य”लाई प्रदान गर्ने थिति बसाले | अठारपुराणहरूको रचना विभिन्न व्यक्तिहरूले गरे तर स्वामित्व आफ्ना मूलआचार्य “व्यास”लाई दिए | सम्पूर्ण वैदिकग्रन्थहरूको रचना एवंप्रकारेण भएको छ | आचार्यकुलका विनम्र गुरु, छात्रछात्राहरूले आफ्ना कृतिहरू आफ्ना मूलआचार्यकै नाममा प्रकाशित गरे |
स्वार्थ जीवनको एउटा आत्मरक्षक प्रबृत्ति हो | निस्वार्थी व्यक्तिको लागि प्रकृति वा समाज तेति सजिलो छैन | स्वार्थमा हिड्ने ऋषिजनहरू “चार्वाक्” भनिए | केही ऋषिहरूले आफ्नो नामको स्वार्थ रोक्न सकेनन् र आफ्नो रचनालाई आफ्नो पहिचान प्रदान गरे | ऋषिहरूले ऋषित्वको घोषणा निष्काम भाव, त्याग, सत्यनिष्ठा तथा परोपकारी क्रियाकलाप प्रदर्शनका माध्यमबाट गरे | एस्तो निस्वार्थ तथा निष्काम चेतनाको निरन्तरता प्रसिद्ध आचार्य चाणक्यको वेलासम्म पनि जीवित थियो | आचार्य चाणक्य महान् सम्राटका राजगुरू भएर पनि सुखसयलमय जीवन स्वीकार गरेनन् | आफ्ना शिष्यहरूलाई “आत्मा न स्तोतव्य: (चा.सू. ४८४) अर्थात् आफ्नो प्रशंसा आफै नगर्नु” भन्ने आदेश दिए | मूलतः यो आदेश प्राचीन आचार्यकुल परम्पराकै निरन्तरता थियो |

वैदिकशास्त्रमा “आफ्नो प्रशंसा आफै गर्ने” व्यक्तिलाई नाराधम भनिएको छ | ऋग्वेदको तेस्रो मण्डलमा “आत्म प्रशंसक व्यक्ति सधैं भोको हुन्छ” भनिएको छ जसको अर्थ हो चरमस्वार्थी हुनु | उपनिषद्ले “आत्महन्ता” भनेर आत्मप्रशंसकको निन्दा गरेका छन् | ऋषिमुनिहरूले तप-सिद्ध भएको घोषणा आफै गरे परोपकारका कुराहरू कहिल्यै पनि प्रकाशमा ल्याएनन् | ऋषिमुनिले तय गरेको यो मानदंड पाश्चात्य उपभोक्तावादी मानदंडसंग मिल्दैन | आजभोलि विश्वगुरु, जगदगुरु, स्वामीइत्यादि नक्कली “पदवी र पद”हरू धारण गर्ने आधुनिक “सन्त, महन्त तथा गुरू”हरूको विगविगी छ | कति “गुरू”हरू त केवल “मानपदवी”कारण जीवित छन् | कथंकदाचिद् कसैले एउटा पदपदवी” लेख्न गल्ति गर्यो भने तथाकथित गुरुहरू आफ्नो आफ्नो “असली” रुपमा प्रकट हुन्छन् |

यसरी आफ्नो निजी स्वार्थका लागि “आफ्नो प्रशंसा आफै गर्नु वा गर्न लगाउनु” वैदिक संस्कृतिको आदेश विपरित कार्य भएकोले वैदिक संस्कृतका विनम्र विद्वान् तथा साधकहरू सधैं अत्यन्त साधारण तर सधनामय जीवन (low profile lifestyle) विताउँने गर्छन् | यही वैदिक संस्कृतिको आत्मा हो, गुरुत्व हो र आचार्यत्व हो | आधुनिक युगको “आत्मबजारीकरण”को युगमा धेरैका लागि सैद्धान्तिक बन्न पुगेको छ | वैदिक धर्म, दर्शन तथा संस्कृतिका प्रचण्ड विद्वान्हरू पनि “आत्म प्रशंसा”को स्वार्थसंग पराजित भएर “आत्म-प्रशंसा”को बजारीकरणमा तानिएका छन् | पश्चिमाहरूलाई वैदिक सनातन धर्म, संस्कृति तथा विज्ञानको महत्व सिकाउँन अपेक्षित मान्न सकिन्छ | यहाँ शर्त एत्तिहुनुपर्छ कि पदवीधारीहरूको आध्यात्मिक साधना पोख्त र अनुकरणीय हुनुपर्छ | प्रकृतिको स्वभाव परिवर्तन हुँदैन | कर्म परिवर्तन हुन सक्छन् तर धर्मको स्वभाव फेरिन्न | अहिले पनि ऋषिमुनिहरूको अभाव छैन | फरक एत्ति हो कि ऋषिमुनिहरू चर्चा-परिचर्चा, वैभव, भोग, जयजयकार, महाराजआदिको लिप्साबाट विरक्त रहेर एउटा साधारण गृहस्थ, झुम्रे सन्यासी, अर्धसिल्ली जोगीझैं रहेर ब्रह्मसाधनामा अनुरत छन् भने आत्मसम्मान, सत्ता लिप्सा, चरमभोगको इच्छा, चर्चापरिचर्चाको चरमअभिलाषा भएका महाराजहरू ऋषिमुनिको नाममा जनसाधारणलाई झुक्याइरहेका छन् |
सन्त बन्न सजिलो छैन | सन्यासको बाटो कठोर र आत्मउत्सर्गले भरिपूर्ण छ | काम, क्रोध, लोभ, मोह, सत्ता लिप्सा, यश लिप्सा जीवनका साधारण यथार्थ हुन् | एउटा साधारण व्यक्तिका लागि यो सबै छोड्नु सजिलो छैन | तेसमा पनि एकपटक काम, क्रोध, लोभ, मोह, सत्ता लिप्सा, यशलिप्साको चसको लागि सकेपछि “भोग्ने इच्छा”अझैं वलवान् हुन्छ | अनेकौं प्रवन्धहरू बाँधेर “झुक्याउँने, ब्रेनवास” गर्ने प्रयत्न हुन्छन् |

“ब्रेनवास” भएकाहरूको एउटा हुलखडा भएपछि “ठूलो पेट, झरिलो शरीर, महंगा कार, ठूलाआश्रम, धेरै चेलाचेली र मीठो भोजन” सन्तत्वका मानक वन्दछन् | सन्यासीले एउटा गाउँमा एकरात्री भन्दा बढी व्यतित गर्नु हुँदैन, भिक्षामा प्राप्त अन्नहरूलाई स्वादरहित बनाएर भोजन गर्नुपर्छ किनभने इन्द्रियहरूलाई चंचल बनाउँने नै भोजन हो – भन्ने आदेशको कसलाई वास्ता ! “तपोमय” जीवनका ठाउँमा “तमोमय” जीवनलाई नै यदि वैदिक उत्स हो भन्ने भ्रममा विश्वास गर्नेहरू भन्दा पनि तेस्तो भ्रममा भ्रमित पार्न सक्ने ठूला “महात्मा” भनिने छन् | फरक एत्ति हुन्छ कि एस्ता “नक्कली” र आत्मप्रशंसकहरूको भौतिक जीवन भोगमय हुन्छ तर आध्यात्मिक जगतको एउटा छेउमा समेत उनीहरूको प्रवेश हुँदैन | वैदिकशास्त्रहरूको पढ्नेहरू पुन: आत्मरक्षाका लागि शास्त्रहरूको अपव्याख्या गरेर पुन: अर्को आत्मबंचनातिर लाग्ने छन् | साधक र नजानेकाहरूले वैदिकमार्गको यो यथार्थलाई स्वागत गर्ने छन् |

मलाई लाग्दैन कि यो आलेखले आत्मप्रशंसाको लिप्सामा केन्द्रितहरूलाई केही फरक पर्छ | उनीहरू अझैं आफ्नै कुरा ठूलो पार्न तम्सिने छन् | शास्त्रले भन्छ, धनले अन्धो भएको, काम (यौनचाहना)ले अन्धो भएको र आत्मप्रशंसाको चस्को पसेको व्यक्तिलाई ब्रह्माले पनि बुझाउँन सक्दैनन् | धर्मको अपव्याख्या गरेर “परमधार्मिक” देखिने, कहलाउने दृष्टिकोणको जरोमा पश्चिमेली आत्मकेन्द्रित उपभोक्तावाद र बजारवादले काम गर्छ | सनातन धर्मजस्तो प्राकृतिक र आध्यात्मिक जीवनशैलीको अपव्याख्या गर्न सजिलो छ |

पश्चिमा बुद्धिले धर्मलाई बजारीकरण गरेर आफ्नो पेट भर्नेहरू थुप्रै छन् | पश्चिमाशैलीमा प्रशिक्षित व्यक्तिहरूलाई “त्याग, निष्काम कर्म, दान, अतिविनम्रता तथा ऋषिशैली”को व्याबहारिक अर्थ वुझाउँन सजिलो हुँदैन | आत्मप्रशंसाको सम्वन्ध “नाफा”संग छ | स्वार्थीहरूले नाफाका लागि काम गर्छन् | यदि कसैले आफुलाई सनातनधर्मको “प्रमाणिक सन्त”का रूपमा परिचित गराउँछ तर उसको जीवनशैली “विलासी” छ भने “सन्तको मुकुण्डो” भनेर बुझ्नुपर्छ | वैदिकऋषिको जीवननै सदाचारमय भएको हुँदा “सरल जीवन उच्च चिन्तन” (Humble living and high thinking) वैदिक अनुयायीको पहिचान हुन्छ र आचार्य वा गुरूहरू त झन् “समदर्शिन” अर्थात् मानसम्मान, यश, प्रशंसाआदिका सम्बन्धमा पूर्ण निरपेक्ष हुन्छन् | हामी सबै सनातनीहरू ऋषिकुलका विनम्र अनुयायी हौँ | यही हाम्रो आत्मपरीक्षण हो, आचरणको सुरक्षा हो |

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट