आइतबार, असोज ३ २०७८

६ जनाको सामूहिक हत्याको अनुसन्धान सिआइबीको टोलीले गर्ने


  • नेपालदीप
  • मंगलबार, भाद्र २२ २०७८
1.4K
SHARES

विराटनगर। संखुवासभाको मादी नगरपालिका–१ मा कार्की परिवारको विभत्स हत्या प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पनि खटिने भएको छ ।

विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीका अनुसार सोमबार एकैपरिवारको ६ जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको सिआइबी टोली घटनास्थलतर्फ जानेछ । सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा भएको सो घटनामा हाल सङ्घीय प्रहरी इकाई कार्यालय धरानबाट खटिएको विशेष टोलीले स्थलगत अनुसन्धान सुरु गरेको छ।

घटनास्थल अति नै विकट स्थानमा रहेका कारण अनुसन्धानमा खटाइएको प्रहरीको विशेष टोलीलाई घटनास्थलसम्म पुग्न समय लागेको प्रहरी उपरीक्षक भीम दाहालले जानकारी दिए। यसक्रममा प्रहरीले अनुसन्धानका लागि ‘ट्रयाकर’ डग पिकु र लैलालाई प्रयोग गरिरहेको प्रहरी उपरीक्षक दाहालले बताए।

तर वर्षाले गर्दा केही कठिनाई भएको प्रहरीको भनाई छ। वर्षाका कारण तालिमप्राप्त कुकुरबाट गरिने अनुसन्धानलाई प्र्रभावकारी हुन नसकेको बताइएको छ। प्रहरी उपरीक्षक दाहाल नेतृत्वको प्रहरीको विशेष टोली घटना नजिक पुगिसकेको जनाएको छ।

घटनामा ८५ वर्षीय बौद्धमान कार्कीको परिवारमा ६ जनाको सामूहिक हत्या भएको हो। कान कम सुन्ने र आँखा पनि राम्ररी देख्न नसक्ने बौद्धमान जीवित छन्। प्रहरीका अनुसार बौद्धमानकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५८ वर्षीय तेजबहादुर, बुहारी (तेजबहादुरकी पत्नी) ५२ वर्षीया कमला तथा तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको हो । एउटै परिवारका ६ जनाको हत्या भएपछि गाउँ शोकमा डुबेको छ।

यो पनि

संखुवासभामा विभत्स हत्या प्रकरण : हत्याको कारण आर्थिक पाटो हुन सक्ने प्रहरीको अनुमान

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट