आइतबार, असोज ३ २०७८

बस्त्रको (पहिरनको) भाषा ?


  • नेपालदीप
  • बिहिबार, भाद्र २४ २०७८
1.3K
SHARES

मैले छोरीलाई सोधें ‘तीजमा सारी (धोति) किन लगाएको?’ उसको जवाफ थियो, ‘यो महिलाको ट्रेडिशनल पहिरन हो । यो लगाएपछि ब्रतबस्न सजिलो हुन्छ ।’ अर्थात् सारी लगाउँदा मनमा सात्विक भाव उदय हुन्छ ।

‘पाइन्ट-सर्ट वा कुर्था सलवार नि ?,’ मैले सोधें। ‘खै, यिनमा ब्रत बसेको जस्तै हुँदैन । तेसैले कसैले नलाएका होलान् !’ २३ वर्षीय छोरीले जवाफ दिई ।

कहिल्यै धोति नलाउने पुरुषहरूले पनि विवाह, ब्रतबन्ध, पूजाआजामा आफै कर्ता बन्दा “पाइन्ट माथि भए पनि” धोती लपेटेका देखिन्छन् । किन ?

प्रष्ट जवाफ धेरैसंग नहोला तर एउटा तत्थ्यचाहिं प्रमाणित हुन्छ कि आधुनिक ‘पाइन्ट-सर्ट’ वा महिलाले धेरैजसो लगाउँने पंजावी कुर्ता-सलवारलाई “पवित्र” दर्जा प्राप्त छैन ।

वैदिक कालदेखि नै “वाहिरी र भित्री” बस्त्रको चलन थियो । म केटाकेटी हुँदा “वाहिर हिंड्दा” प्रयोग गरिने वस्त्र  पूजाआजा र भोजनका वखतमा कत्ति पनि प्रयोग हुँदैनथ्यो । दीसा गर्दा प्रयोग भएको बस्त्र त झन् वाहिर जाँदा, पूजाआजा वा भान्सामा प्रयोग गर्न बन्देज नै थियो ।

तीजमा महिलाहरूले रातो सारी प्रयोग गर्नुहुन्छ । रातो रङ्ग ऊर्जा अर्थात् गतिशीलताको प्रतिक हो । तीजको ब्रतसंग रातो रङ्ग जोडिनुको अर्थ हो “उप्रान्तको जीवन अझै क्रियाशील हुनु । दोश्रो तत्थ्य, रातो रङ्ग वैदिक रङ्ग पनि हो । तेसैले वैदिक संस्कृतिको सुरक्षाको दायित्वमा महिलाले अग्रणी भूमिका वहन गर्नुभएको छ ।

जेहोस्, पुरुषले धारण गर्ने धोति होस् वा महिलाले धारण गर्ने साडी दुवैले दशैं, तिहार, होली, दिवाली, तीज अन्य पूजाआजाका अवसरमा आफ्नो मूल्य प्राप्त गरेका छन् । विवाह-ब्रतबन्ध वा अन्य नेपाली रैथाने चाडवाडमा साडी लगाएर महिलाहरूले आफ्नो मौलिक पोसाकको सुरक्षा गर्न अतिनै महत्वपूर्ण भूमिका वहन गरेका छन् ।

नेपालीमात्रको चाड तीजका अवसरमा महिलाहरूले एकदिन भए पनि विदेशी बस्त्रबाट स्वाधिनता प्राप्त गर्छन्, आफ्नो जरोकिलोमा पुन: जोडिन्छन् । तर केही विदेशी संस्कृतिका विनम्र “दासी”ले साडी वा धोती धारण गर्नुमा पनि “अधिकार”को आहरण ठान्छन् ।

पराई दासत्वको लागि शुभकामना छ । सधैं दासत्वमा जीवन यापन गर्नु । नेपाली नारीहरूले भक्ति, समर्पण र प्रेमका साथ “फैसन र आध्यात्मिकता”का लागि साडी धारण गर्दा, ब्रत वस्दा कसैको छाति चिरिन्छ भने चिरियोस् । स्वतन्त्रताका नाममा स्वच्छन्दता र कर्तव्यका नाममा केवल अधिकारको मात्र वकालत गर्नेहरूको आफ्नो पारिवारिक जीवन सफल होस् । शुभकामना

के बस्त्र लगाउने, कहाँ लगाउने ? यो नारीको निजी अधिकारको विषय हो । नारिलाई “भोग्या” ठान्नेहरूका लागि बस्त्रको अर्थ छैन । उनीहरूको नजर केवल “शरीर”मा हुन्छ । आफ्नो मनको “पाप” नारीको शरीरमा थोपर्नेहरू “पापी” हुन् । आफ्नी पत्नी ब्रत वस्दा, उनीहरूप्रति सम्मान व्यक्त गर्न नसक्ने पुरुषहरू धर्तिको बोझ हुन् ।

अन्त्यमा एत्ति भन्छु कि बस्त्र लगाउने अधिकार लगाउने वालाको हो तर बस्त्रको भाषा हुन्छ । बस्त्रको भाषाले मानवीय चिन्तन, सोच र व्याबहार नियन्त्रित हुन्छ । टाईसूटमा धर्मकर्म होइन रक्सी मिठो हुन्छ, धोती-सारीमा दानदातव्य, सेवा र मोक्षसाधना घटित हुने रहेछ ।

एसै मेलोमा मैले इसाई र मुस्लिम मित्रहरूसंग फोन गरेर “तपाईंको धर्ममा खास अवसरमा खास किसिमका लुगाहरू पवित्र र अपवित्र हुने चलन छ ? भनेर सोध्दा उहाँहरूले एकस्वरमा “छैन” नै भन्नुभयो ।

तेसैले म निर्धक्कसंग भन्न सक्छु “जस्तो खायो अन्न उस्तै हुन्छ मन” भन्ने उखानझैं बस्त्रको भाषा हुन्छ र मान्छेको मनले बस्त्रको भाषाअनुसार शरीर र व्यबहारलाई निर्देशित गर्छ तेसैले भन्नुपर्छ “जस्तो लायो बस्त्र उस्तै हुन्छ मन” । निसन्देह, नेपाली रैथाने बस्त्रहरूको ऋतु छ, भाषा छ र मर्म पनि छ । चाडवाडमा रैथाने बस्त्रको भाषा बुझ्ने र ग्रहण गर्नेहरू देख्दा खुसी लाग्छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट