आइतबार, असोज ३ २०७८

राम जन्मभूमि अयोध्यामा भारतले ६ भगवानका भव्य मन्दिर बनाउने


  • नेपालदीप
  • सोमबार, भाद्र २८ २०७८
703
SHARES

नयाँदिल्ली। भारत अयोध्यास्थित राम जन्मभूमि परिसरमा विभिन्न ६ भगवानका मन्दिर बनाइने भएको छ। राम मन्दिर निर्माण समितिले तयार गरेको अन्तिम ब्लुप्रिन्टअनुसार ६ वटा मन्दिर निर्माण गरिने तय भएको हो।

अहिले राम मन्दिरको जग बनाउने काम धमाधम छ। राम मन्दिर ट्रस्टका सदस्य डा. अनिल मिश्रका अनुसार सकेसम्म अक्टोबर अन्तिमदेखि नोभेम्बर पहिलो सातासम्ममा जसरी पनि निर्माण सम्पन्न गर्ने योजना छ।

ब्लुप्रिन्टअनुसार राम जन्मभूमि परिसरमा सूर्य, गणेश, महादेव, दुर्गा, भगवान विष्णु र ब्रह्माका मन्दिर बनाइने भएको हो।

‘यी ६ वटा मन्दिर परिसरसँग जोडिने गरी बाहिरी परिधिमा बनाइनेछ। हिन्दु धर्ममा भगवान रामका साथै यी भगवानको पूजालाई पनि निकै महत्त्वपूर्ण मानिन्छ,’ मिश्रले भने।

जग निर्माणको काम सकिएपछि नोभेम्बर पहिलो सातासम्ममा गर्भगृह निर्माणको काम थालिने पनि मिश्रले जानकारी दिएका छन्। मन्दिरको विशाल संरचनामा ढुंगा राख्नका लागि चार ठाउँमा चारवटा क्रेन टावर राखिने पनि उनले जानकारी दिए।

राम मन्दिर निर्माणका लागि एक लाख २० हजार वर्गफिटमा ५० फिट गहिरो जग बनाइँदैछ। अक्टोबर अन्तिमसम्ममा जग भर्ने काम सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि त्यो सम्भव भएन। हाल मन्दिर निर्माण ट्रस्टले समुद्री सतहभन्दा १०७ मिटर उचाइसम्मको जग निर्माण गर्ने योजना बनाएको छ।

४४ तहको जग निर्माण गर्ने भनिए पनि अब ४८ तहको बनाइने ट्रस्टका सदस्यले जानकारी दिएका छन्। मन्दिर निर्माणमा सिमेन्टको कम प्रयोग गरिने छ। सिमेन्टले ताप सोस्ने भएकाले वातावरण तातो बनाउँछ। त्यही भएर सिमेन्टको कम प्रयोग गर्न लागिएको ट्रस्टका सचिव चम्पट राईले बताएका छन्।

राम मन्दिरको विशाल गर्भगृह निर्माण गर्न उत्तर प्रदेशको मिर्जापुरबाट ल्याइने ३.५ लाख क्युबिक फिट ढुंगाको प्रयोग गरिने छ। ढुंगा काट्ने र मिलाउने कामको जिम्मेवारी मिर्जापुरका दुई कम्पनीलाई दिइसकिएको ट्रस्टले जनाएको छ। तर, मिर्जापुरमा दैनिक १० देखि १२ घण्टा मात्र विद्युत आपुर्ति हुने गरेको छ, त्यसैले निर्माण कार्य अपेक्षाकृत गतिमा हुन नसकेको हो। पीटीआई

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट