आइतबार, असोज ३ २०७८

पतिपत्नी


  • नेपालदीप
  • सोमबार, भाद्र २८ २०७८
1.5K
SHARES

पति र पत्नी दुवै शब्दको अर्थ “मालिक मालिक्नी” हुन्छ । न कोही ठूलो न कोही सानो । प्राकृतिक भिन्नता वाहेक सबै वरावर । तर दूई फरकफरक परिवारमा हुर्केका दुई विपरित लिंगी “मान्छे”ले एउटा परिवार बनेर बस्नु, रमाउनु तथा दाम्पत्य जीवनका कर्तव्यहरू पालन गर्नु महायोग हो, महात्याग हो र महान् सङ्कल्प हो ।

पतिपत्नीमा कहिलेकाहिं खटपट हुनु स्वाभाविक हो । कहिलेकाहिं कुरा नमिल्नु पनि सामान्य हो तर जहिलेसुकै नमिल्नु असामान्य हो । धेरैले आपसमा कुरा मिलाउँछन् तर केहीले आफै कुरा मिलाउँ सक्दैनन् । कुरा मिलाउँन नसक्दा आपसमा कुरा बल्झिन्छ र तपाईं दाम्पत्य जीवनमा “बिष” पोख्नेहरूलाई सजिलो हुन्छ । यहीं सचेततापूर्वक सावधान हुनुपर्छ ।

सचेतनाका पांचबटा खुड्किला छन् : शारीरिक, मानसिक, बौद्धिक, सामाजिक र आध्यात्मिक । यी पांचबटा विधाको संयुक्त नाम नै मानसिक स्वास्थ्य हो । कसैकसैले “समग्रस्वास्थ्य” पनि भन्छन् । मान्छे केवल शरीरले स्वास्थ्य भएर पुग्दैन । मन, बुद्धि, सामाजिक व्यबहार र अस्तित्व पनि स्वास्थ्य हुनुपर्छ ।

हरेक दम्पतिको पहिलो सिंडी शारीरिक रूपमा स्वास्थ्य जीवन हुन्छ । धेरैजसो दम्पतिहरूले आफ्नो शारीरिक स्वास्थ्यको कत्ति पनि वास्ता नगरी अर्काको लागि मरिमेट्छन् । तेसैले दैनिक एकपटक “तिमी/तपाईंको शरीर त ठीक छ” भनेर एकआपसमा सोध्नुस् । यो काम हरेक दिन अनिवार्य गर्नुस् । के तपाईंले आफैलाई वा आफ्नो पति/पत्नीलाई सोध्ने गर्नुभएको छ ?

मान्छेको मन ज्यादै कमलो हुन्छ । काटेको घाउँ निको हुन्छ तर मनमा लागेको घाउँ निकै परिश्रम गरेपछि मात्र निको हुन्छ । पतिपत्नीको प्रेममय सम्बन्ध “मन”मा धेरै निर्भर गर्छ । तेसैले हरेक दिन दुईचार पटक “म तिम्रो/वारेमा सोचिरहेको थिएँ, केही मदत चाहिएको थियो कि ? भन्दै विहानदेखिका केही घटना र भोगाईहरू आपसमा साझा गरौँ । मन खुसी हुन्छ, केही गार्हो भए मन हलुका हुन्छ । याद गर्नुस् : पतिका लागि पत्नी र पत्नीका लागि पतिभन्दा नजिकको अरू कोही हुनै सक्दैन ।

तर्क गर्नु मान्छेको स्वभाव हो । हामी तार्किक प्राणी हौँ । पतिपत्नीका रूपमा समस्या समधानका क्रममा हाम्रो तर्क “फरक” हुन सक्छ किनभने हामी फरकफरक व्यक्ति हौँ र अहिले पतिपत्नी छौँ । “फरक”पनालाई संवाद गरौँ वा संवाद गर्ने सङ्कल्प गरौँ । फरकमतलाई “अहङ्कार”को विषय न ठानौं । “हाम्रो विचमा “फलानो विषयमा मतभेद छ” भन्ने तथ्यलाई सम्मान पूर्वक स्वीकार गरौँ र अगाडी बढौं । “मेरो नै गोरुको बाह्र टक्का”बाट उन्मुक्तभई “तिम्रो र मेरो दूवै गोरुको बाह्र नै टक्का हो तर औचित्यचाहिं विचारनीय छ” है भन्ने कुरामा सहमत हौँ । मतभेदलाई मनभेदका रूपमा विकसित हुनबाट जोगाउँ ।

मान्छे सामाजिक प्राणी हो र घरव्यबहारमा हरेक व्यक्तिको आ-आफ्नै “रोल” हुन्छ । आफ्नो “रोल” सरल, सहज र खुसी पूर्वक सम्पादन गर्ने सामर्थ्य नै सामाजिकता हो । तेसैले आफ्नो दायित्वलाई कर्तव्य ठानेर पालन गरौँ । यदि पति/पत्नीका विचमा दायित्व पालनमा समस्या देखा पर्यो वा सामाजिक व्यबहारमा समस्या देखियो भने “सहृदयता”का साथ संवाद गरौँ । शारीरिक, मानसिक वा निर्णय गर्न नसक्दा सामाजिक व्यबहारमा परिवर्तन आएको हुन सक्छ ? हरेक दिन पतिपत्नीले एकआपसमा सोधौं “मैले तिमीलाई केही सहयोग गर्नुपर्छ कि ?”

दाम्पत्य जीवनको वैदिक लक्ष भनेको मोक्ष प्राप्ति हो भने पाश्चात्य लक्ष आत्म-परिचय (self-actualization) हो । शारीरिक, मानसिक, बौद्धिक तथा सामाजिक/सांस्कृतिक/धार्मिक दायित्व पालन गर्दागर्दै पनि खालीपन हुनसक्छ । एस्तो अवस्थामा पूर्णकर्तव्यका रूपमा योग, ध्यान, तीर्थयात्रा, दानदातव्य तथा परोपकारका कार्यहरू सरसल्लाह पूर्वक पतिपत्नी मिलेर गरौँ । आपसमा बसेको वेला एकअर्कालाई सोधौं “पूर्णता प्राप्त गर्न, सन्तोष प्राप्त गर्न हामीले के गर्नुपर्छ ? के हाम्रो लक्ष पूर्ण भएको छ ? सरलता नै सुखी दाम्पत्य जीवनको पहिलो समझ हो ।

पतिपत्नी अर्थात् दम्पतिले विश्व चलाउँछन् । विश्वको अर्थतन्त्र होस् वा राजनीति सबै दम्पतिहरूको मूठीमा हुन्छ । यदि तपाईंको दाम्पत्य जीवन सुखी छ, खुसी छ भने विश्व नै सुखी हुन्छ, रमाइलो हुन्छ । यदि तपाईंको दाम्पत्य जीवन कलहपूर्ण छ भने विश्व नर्कसरह हुन्छ । तेसैले विश्वलाई सुखी, शान्त तथा उर्जावान् बनाउँनका लागि आफ्नो दाम्पत्य स्वास्थ्यको रक्षा गरौँ, सुरक्षा गरौँ र खुसी बनौं ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट