आइतबार, असोज ३ २०७८

शिक्षानीतिले निम्त्याएको भाषिक पैरो


  • नेपालदीप
  • मंगलबार, भाद्र २९ २०७८
1.2K
SHARES

वि.स. २०२८ सालमा नया शिक्षा लागु भएपछि नेपालको शिक्षाक्षेत्रमा क्रमशः भाषिक, सांस्कृतिक, धार्मिक तथा राजनैतिक अतिक्रमण आरम्भ भएको हो । खासगरी, युनाइटेड मिसन टू नेपाल र अमेरिकन शान्तिदलको संयोजनमा शिक्षाक्षेत्रबाट क्रमशः संस्कृत तथा नेपालीभाषालाई विस्थापित गर्ने दीघकालीन रणनीतिमा अमेरिकी, बृटिश, युरोपेली तथा भारतले पनि सहयोग दिएकै हो ।

वि.स. २०४६ सालको परिवर्तनसम्म शिक्षाक्षेत्रमा धेरै हस्तक्षेप भैसकेको थियो । तत्कालीन नेपाली कांग्रेसको सरकारले शिक्षाक्षेत्र नीजिक्षेत्रलाई दिने निर्णय गरेर चोरबाटोको ठाउँमा हाकाहाकी नै देशको भाषा, संस्कृति तथा धर्ममा हस्तक्षेप निम्त्याने काम गरेको हो ।

अंग्रेजी एउटा विश्वब्यापी भाषा हो र अहिले आएर यसले रैथाने भाषाहरू बोल्नेहरू बीच संचारको काम गर्छ । नेपालीले अंग्रेजी भाषा जान्नुपर्छ तर भाषाका विश्वब्यापी मान्यताहरूलाई खोपामा थन्क्याए प्ले-ग्रुप देखि नै अंग्रेजी पढाउने मान्यता प्रदान गर्नु तत्कालीन सरकारहरूको आत्मघाती कदम थियो, जसको साइड-इफेक्ट आज देखिंदै छ ।

न्यादरल्याण्ड, जर्मनी, फ्रान्स, पोर्चुगालआदिमा अग्रेजी भाषा पढाइन्छ र १५-१६ वर्षको उमेरका बालबालिकाहरूले अंग्रेजीका माध्यमबाट संचार गर्न सक्छन् तर नेपालको जस्तो सबैविषयहरू अंग्रेजी भाषामा पढाउने काम हुँदैन । इच्छुक विद्यार्थीले सुरूदेखि नै एक विषय अंग्रेजी लिन्छन् र अन्य सबै विषयहरू आफ्नो रैथाने भाषामा नै पढ्ने र बुझ्ने गर्छन् ।

वि.स. २०६३ को परिवर्तनले नेपालका रैथाने भाषाहरू, संस्कृति तथा धर्ममा प्रहार गर्ने खुला छूट दियो । समानता, गणतन्त्र, समानुपातिकताका नाममा नेपालको आन्तरिक संचारभाषाका रूपमा अंग्रेजीलाई विकास गर्ने विदेशीहरूको एजेन्डामा हरेक राजनीतिकदलले सार्वजनिकरूपमा सहमति व्यक्त गर्दै गए । अन्य नेपालका रैथाने भाषाहरूका तुलनामा विकसित भएको र आम नेपालीहरूले “संचार”का लागि स्वीकार गरिसको नेपाली भाषालाई कमजोर बनाउन सबैभन्दा बढी माओवादीहरू हतारिए ।

प्रगतिशीलसंग जोडेर साम्यवादी धारका राजनैतिक दलहरूले, समाजवादसंग विकासको सपना देखाएर कांग्रेस लगायतका प्रजातन्त्रवादीहरूले भाषामाथिको आक्रमणलाई बैधानिकता दिए । अन्य नेपालका रैथाने भाषाहरूको विकास गर्ने नाममा नेपाली-भाषामा आक्रमण भयो र हुँदैछ ।

संस्कृतसंग चरम घृणा गर्ने साम्यवादीहरूले र पुंजीवादी मुलुकका शिक्षित भएका बौद्धिकदलाली गर्नेहरूले अन्य रैथाने भाषाहरूको विकासको नाममा नेपाली भाषामाथि आक्रमण गरे । यिनका आततायी कर्मले अन्य रैथाने भाषाको त विकास भएन नै आन्तरिक संचारमा स्थापित नेपाली भाषा पनि कमजोर तुल्याइयो । यो सबै सड्यन्त्र नेपालका रैथाने भाषाहरूलाई विस्थापित गरेर अंग्रेजीको वर्चस्व स्थापित गर्नका लागि थियो । षड्यन्त्र हदैसम्म सफल पनि भएको छ ।

यस सन्दर्भमा सबैभन्दा उदेकलाग्दो कुरा के हो भने शिक्षाका क्षेत्रमा अत्यन्त नाम  कमाएका विद्वानहरू पावरमा हुँदा यी सबै परिवर्तनहरू भएका हुन् । सानो ठिमी, किर्तिपूर, धुलिखेल, प्रज्ञाप्रतिष्ठानआदिमा उपरोक्त शिक्षाविदहरूको वर्चस्व रहेको बेला भाषिक त्रासदीका नीतिहरू कार्यन्वयन भएका हुन् । अहिले त्यतिबेला पावरमा भएका तिनै विद्वानहरू “नेपाली भाषा विग्र्यो” भनेर उफ्रिएको देख्दा उदेक लाग्छ ।

स्थानीय जनतालाई अधिकार दिएइएको भनिएको स्थानीय, प्रान्तीय तथा केन्द्रिय सरोकारबालसंग अवका दिनमा स्थानीय रैथाने भाषा, संस्कृति तथा धार्मिक मान्यताहरू कमजोर बनाउन ठूला विदशी तथा स्वदेशी आइएनजीओ/एनजीओहरूलाई अझै सजिलो हुनेछ ।

भाषिक तथा रैथाने भाषा-संस्कृतिको अधिकार स्थापित गर्ने नाममा सबैतिर अंग्रेजी लाद्ने काम तिब्रतर रूपमा हुनेछ । आन्तिरक संचारको माध्यमका रूपमा नेपालीलाई विस्थापित गरेपछि त्यसका ठाउँमा “विकास, अन्तराष्ट्रीयाता, वैज्ञानिकता तथा प्रगतिशीलता”जस्ता शब्दजाल खडा गरेर अंग्रेजीको बर्चश्व स्थापित गरिने छ । यसको ज्वलन्त उदाहरण संसदभित्रको शिक्षाउपसमितिमा सधैं अग्रेजी विद्यालयहरूको वकालत गरेबाट बुझ्न सकिन्छ ।

यदि हामी आफ्नो धर्म, संस्कृति तथा नेपालका रैथाने भाषाहरूप्रति साच्चिकै संवेदनशील छौँ भने तुरुन्त नीजी र सरकारी द्वैध शिक्षाप्रणालीको अन्त्य हुनुपर्छ । हरेक विद्यालयमा मातृभाषासहित आन्तरिक संचारभाषाका रूपमा नेपाली पढाउने ब्यबस्था मिलाउनुपर्छ । अंग्रेजीलाई “आन्तरिक संचारको भाषाका रूपमा विकास गर्ने एडिवी”आदिको षड्यन्त्रबाट तुरुन्त बाहिर निस्कनुपर्छ ।

अमेरिकन साइकोलोजीकल एसोसिएसनले सन् १९७५ देखि १९९२ सम्म गरेको अनुसन्धानले “हरेक बालबालिकाले आफ्नो मातृभाषामा जसरी राम्रोगरि “अन्डरस्टेन्ड” गर्न सक्छन् आगन्तुक भाषामा सक्दैनन्, त्यसैले आफ्नै मातृभाषामा विकास गरिएका पाठ्यपुस्तकहरू नै ज्ञानका सबैभन्दा अनुकुल स्रोत हुन्छन्” भन्ने निष्कर्ष निकालेको थियो ।

यसै गरी, यो लेखकले सन् २००७ मा गरेको एउटा अनुसन्धानले काठमाडौँका महंगा विद्यालयमा पढ्ने विद्यार्थीहरूको तुलनामा “समस्याहरूसंग जुध्न सक्ने र आफ्नो कुरा अरूलाई स्पस्टसंग बुझाउन सक्ने सुझबुझ” घरायसी काम गर्ने र गरिवका बालबालिका पढ्ने भनेर चिनिने सरकारी विद्यालयका बालबालिकामा बढी प्राप्त भएको थियो । यसको मुख्य कारण नै भाषा हो ।

पछिल्लो समयमा नेपाली भाषाको रोमनी करण गर्ने र केही परम्परागत प्रचलनमा रहेका अक्षरहरू विस्थापित गर्ने निर्णयहरू भएपछि पुन: भाषिक विवाद सृजना गरिएको छ । प्राज्ञ मुकुन्दशरणआदि विद्वानहरूले यस विरुद्ध भाषिक संघर्ष गरिरहेको तत्थ्य यथार्थ हो ।

एउटा तत्थ्य हामीले बुझ्नैपर्छ कि भाषाका साथ उसको संस्कृति, रितिरिवाज, धार्मिक तथा सांस्कृतिक मान्यताहरू पनि जोडिएका हुन्छन्  । अंग्रेजीसंग उसको धार्मिक तथा सांस्कृतिक परम्परा पनि भित्रिन्छ, फ्रेन्च, जर्मन हिन्दीआदिसंग पनि यही हुन्छ । अन्य भाषाका तुलनामा अंग्रेजीले रैथाने भाषालाई बढी चाढै विस्थापित गर्छ । यो कुरा सन् १९९५ मा दक्षिण अफ्रीकामा गरिएको अनुसन्धानले पुष्टि गर्छ ।

त्यसैले नेपालका अन्य रैथाने भाषाहरू र नेपाली बोलीका बीचमा मित्रतापूर्ण सहकार्यको खाँचो छ । राई-लिम्बु, गुरुङ-मगर, मेचे-कोचे, थारू-डोट्यालीआदि भाषाहरूसंग नेपाली जति निकट छ, त्यति निकट अग्रेजीसंग हुनैसक्दैन । नेपाली जान्नेका लागि अन्य रैथाने भाषाहरू र रैथाने भाषा बोल्ने-लेख्नेहरूका लागि नेपाली भाषा अंग्रेजी वा अन्य विदेशीभाषाहरूका तुलनामा धेरै सजिलो हुन्छ । सजिलै सिक्न सकिन्छ ।

घृणावादका पक्षधरहरू नेपालका अन्य रैथाने भाषाभाषीहरू विच नेपालीलाई एउटा जातविषेशको भाषा भएको भ्रम फैलाएर अंग्रेजीको भलो गर्नेकाममा सक्रिय छन् । हामीले बुझ्नुपर्छ यी घृणावादीहरूले आफ्नो भाषा-संस्कृति कत्ति पनि माया गर्दैनन् । यिनको काम केवल नेपाली-नेपालीहरू विच द्वन्द उपस्थित गराएर विदेशी भाषा, धर्म तथा संस्कृति थोपर्नु हो ।

उपरोक्त घृणावादी चरित्रलाई विस्थापित गर्न नेपालभित्रका सबै भाषाहरू विच तुरुन्त मित्रतापूर्ण सम्वन्ध स्थापित गर्न, सहकार्य गर्न र एकअर्काका पूरक तथा सहयोगी भएर काम गर्ने वातावरण मिलाउन लागि पर्नुपर्छ ।

अन्यथा, हाम्रो हातबाट आफ्नो रैथानेभाषा, संस्कृति, धर्म तथा परम्परा जान्छ अपितु नेपालीको पहिचानसमेत भडखालोमा पर्छ अहिलेको नेपाली पुस्ताले एउटा भाषिक पहिरो भोगीसकेको छ, यस्ता तीन-चारबटा भाषिक पहिरो रोक्न सकेनौं भने एकदिन न नेपाली भाषा रहन्छ न नेपालका अन्य रैथाने भाषाहरू नै रहन्छन् । अंग्रेजीरुपि कालले सबैथोक निलेर खरानी बनाउँछ । यस सन्दर्भमा,  डा. लक्ष्मीप्रसाद खतिवडाका अनुसन्धानहरू पठनीय र बुझनीय छन् ।

हामी आफैले आफ्नो जरोकिलो मकिएको थाहा पाउने र त्यसका लागि समग्ररूपमा सक्दो सहकार्य गर्ने विकल्प हामीसंग छ । यसैमा हाम्रा रैथाने भाषाहरू, हिन्दू, बौद्ध, जैन, किराती बोनआदि संस्कृतिहरूको सुरक्षा छ । यस विषयमा सबैको सहकार्य नै एकमात्र विकल्प छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट