आइतबार, असोज ३ २०७८

पुन: अधिवेशनको माग राख्नु महाधिवेशन भाड्ने नियोजित षड्यन्त्र: देउवा पक्ष


  • नेपालदीप
  • मंगलबार, भाद्र २९ २०७८
1.5K
SHARES

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले डडेलधुरामा फेरि वडा अधिवेशन गर्ने माग राख्नु महाधिवेशन भाड्ने षड्यन्त्र भएको बताएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाले डडेलधुरामा भएको वडा अधिवेशनलाई अमान्य घोषणा गरेपछि देउवा पक्षले माहाधिवेशन गर्न नदिने षड्यन्त्र अनुरुप यस्ता गतिविधि भइरहेको बताएका हुन्।

क्रियाशील सदस्यता विवाद यथावत रहेको तथा जिल्ला कार्यसमितिको समर्थन बिना वडा अधिवेशन भएको भन्दै पौडेल पक्षले पुन: अधिवेशनको माग राखेको हो। सोमबार पौडेल पक्षीय नेताहरुको बसेको बैठकले सभापति देउवाको गृह जिल्लामा वडा अधिवेशन एकपक्षीय रुपमा गरिएको निष्कर्ष निकालेको थियो। बैठक पछि पत्रकार सम्मेलन गर्दै पौडेल पक्षले डडेलधुरामा पुनः वडा अधिवेशनको माग गरेको छ।

सत्ता र शक्तिको दुरुपयोग गरि डडेलधुरामा वडा अधिवेशन भएको पौडेल पक्षले जनाएको छ। ५२ वटै वडामा बाहिरी जिल्लाबाट समेत सुरक्षाकर्मी ल्याएर एकपक्षीय अधिवेशन भएकाले अमान्य भएको पौडेल पक्षको निचोड छ। जिल्ला कार्यसमिति तथा वडा समितिले समेत अस्विकार गरेको वडा अधिवेशन बदर गरी फेरि अधिवेशन हुनुपर्ने माग गरिएको छ।

देउवा पक्षीय महामन्त्री पूर्णबहादुर खड्काले विधिसम्मत भएको अधिवेशन फेरी गर्नु पर्ने माग निर्रर्थक रहेको बताए। ‘क्रियाशील सदस्यताको विवाद कार्यदलले टुंगाएको हो। फेरि वडा अधिवेशन गर्नुपर्छ भन्ने मैले सुनेको छैन,’ महामन्त्री खड्काले भने।

देउवा पक्षीय नेता बीरबहादुर बलायरले फेरि अधिवेशन हुनै नसक्ने बताए। ‘वडा अधिवेशनमा उनीहरुका (पौडेल पक्ष) मान्छे पनि आएका छन्। कसले कति भाग लिएका छन्। हेरे भइहाल्यो नि,’ बलायरले भने, ‘फेरि वडा अधिवेशन हुँदैन।’

यस्तै डडेल्धुराको वडा अधिवेशन अस्वीकार गर्ने भन्नु महाधिवेशन हुन नदिने षड्यन्त्र भएको देउवा पक्षीय नेता नैनसिंह महरले बताए। भोलि अन्य जिल्लामा पनि आफू अनुकुलको परिणाम नआउने देखेर अधिवेशन अस्वीकार गर्ने अवस्थाले महाधिवेशन अनिश्चित बन्ने उनको भनाइ छ ।

‘आज वरिष्ठ नेता रामचन्द्र पौडेल ज्यूले मान्दैनौं भनेर विज्ञप्ति निकाल्नु भएको छ। भोलि अरुले पनि त्यस्तै विज्ञप्ति निकाल्छ। पार्टी त सबैको समान हो। पार्टीका वरिष्ठ नेताको बढी हिस्सा हुने र केन्द्रीय सदस्यको कम हिस्सा हुने होइन,’ उनले भने, ‘सबै केन्द्रीय समितिका सदस्यले पनि वरिष्ठ नेताको जस्तै विज्ञप्ति निकाले महाधिवेशन के हुन्छ? महाधिवेशन नगराउने नियोजित षड्यन्त्रका रुपमा यो सब भइरहेको छ।’

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट