आइतबार, असोज ३ २०७८

६० दिनभित्र बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न नसक्दा देश बजेटबिहिन हुँदै


  • नेपालदीप
  • मंगलबार, भाद्र २९ २०७८
1K
SHARES

काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले संसदबाट प्रतिस्थापन विधेयक पास नभए केही दिन सरकारले खर्च गर्न रोक्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्। शर्माले मंगलबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा प्रतिस्थापन विधेयक पास हुन केही समय लाग्ने हुँदा केही दिन खर्च गर्न नमिल्ने वातावरण सिर्जना हुन सक्ने बताएका हुन्।

शर्माले भने, ‘विधेयक पारित गर्न छलफल, वार्ता, सहमति हामी गरिराख्या छौँ। सहमति हुँदा हामी त्यसलाई सहमति अनुसार पारित गर्छौँ। नहुँदा नियमित प्रक्रया पुर्‍याएर पारित गर्छौँ। पारित गर्न केही समय ग्याप रह्यो भनेपनि केही समय खर्च गर्ने अवस्था नहुन पनि सक्छ। कर उठाउने विशेष व्यवस्था छ। त्यसअन्तर्गत कर उठिराख्छ। खर्च गर्नलाई पाँच सात दिन रोक्नु पर्ने अवस्था आयो भने रोकिन पनि सक्छ।’

यस्तै अर्थमन्त्री शर्माले अध्यादेशबाट प्रतिस्थापन विधेयक नआउने प्रष्ट पारे। उनले भने, ‘सदन चलिरहेको छ। अध्यादेश आउँदैन। अदालतले अध्यादेशबाट विनियोजन विधेयक ल्याउनु हुँदैन भनेर प्रष्टै भनेको छ।’

मंगलबारको संसद बैठकबाट बजेटको प्रतिस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने अर्थमन्त्री शर्माको प्रस्ताव प्रमुख प्रतिपक्षीको विरोधकाबीच संसदबाट पारित भएको छ। बुधबार रातिदेखि जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेटको वैधानिकता सकिँदैछ। संसदमा पेश भएको ६० दिनभित्र बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न नसक्दा बुधबारदेखि केही सातालाई देश बजेटविहीन हुने अवस्था आएको छ।

त्यस्तो अवस्थामा सरकारले प्रतिस्थापनलाई विरोधकै बीच अघि बढाएको हो। यद्यपि प्रतिस्थापन विधेयक अब असोज ४ गतेको बैठकमा मात्र छलफलका लागि अघि बढाइनेछ। सरकारले पेश गरेको प्रतिस्थापन विधेयक परिपक्‍व हुन समय लाग्ने भएकोले असोजको दोस्रो वा तेस्रो हप्ता मात्रै संसदबाट पास हुने भएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट