बिहिबार, कार्तिक ११ २०७८

गठबन्धनमा दाहाल-नेपाल हाबी हुन खोजेपछि ओलीलाई भेट्दै देउवा !


  • नेपालदीप
  • शनिबार, असोज २ २०७८
2K
SHARES

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटको तयारी गरेका छन्। सरकार सञ्चालनमा पाँच दलीय गठबन्धन भित्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल हाबी हुन खोजेपछि प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीसँग भेट्न लागेका हुन्।

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीलाई केही दिनमै भेट गराउने तयारी भइरहेको स्रोतको दाबी छ। स्रोत भन्छ, ‘प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको भेट सामान्य हो। यसलाई ठूलो मसला बनाइरहनु पर्दैन। राष्ट्रिय राजनीतिको कोर्ष कता लैजाने भन्ने विषयमा प्रधानमन्त्री र ठूलो दलको प्रमुखको भेट हुनु स्वाभाविक हो। केही दिनमा हुन्छ।’

दुई महिनादेखि चार मन्त्रीसहित सरकार चलाइरहेका देउवा गठबन्धन बन्नु अघि गरेको समझदारीमा नेताहरु नअडिएको भन्दै रुष्ट बनेको स्रोतले बतायो। विशेष गरि अमेरिकी अनुदान एमसीसीबारे प्रचण्ड र नेपालले लिएको अडानलाई लिएर देउवा रुष्ट बनेको स्रोतको दाबी छ।

त्यस्तै मन्त्रीपरिषद विस्तारमा पनि अनावश्यक ढिलो गरेर आफूलाई बदनाम बनाउन गठबन्धन भित्रैका नेताहरु लागेको पनि देउवाको बुझाई रहेको बुझिएको छ। दुई महिनादेखि मन्त्रिपरिषद् विस्तार प्रयासमा देउवा असफल भएका छन्।

एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा गठबन्धनभित्र कुरा नमिलेपछि देउवा ‘दूत’ खटाएर एमाले अध्यक्ष ओलीसँग सम्बन्ध सुधारतर्फ लागेका थिए। देउवाले कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की मार्फत ओलीसँग संवाद गरिरहेका छन्।

अवरुद्ध संसद सुचारुका लागि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक राखे पनि प्रमुख प्रतिपक्षी र त्यसको नेतासँग संवाद गर्न सकिरहेका छैनन्। अर्कातिर अर्थमन्त्रालय सम्हालिरहेको माओवादी केन्द्रले पनि बजेट पास गर्ने कुरामा एमालेसँग संवाद गर्न सकेको छैन।

यस्तै देउवानिकट केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले पनि राष्ट्रिय महत्वका मुद्दाहरूमा एकता प्रदर्शन गर्न प्रतिपक्षी एमालेसँग संवाद अघि बढाइएको प्रतिक्रिया दिए। कानुनमन्त्री कार्कीले बिहीबार पनि दिउँसो भक्तपुरको बालकोटस्थित निवासमा गएर अध्यक्ष ओलीसँग संवाद गरेका थिए। उक्त संवादबारे उनले शुक्रबार विराटनगर पुगेर पत्रकारहरुसँग बोलेका थिए।

‘संसदमा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भएर बजेट कार्यान्वयन हुन्छ,’ विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँगको भेटघाटमा मन्त्री कार्कीले भने, ‘त्यसका लागि विपक्षी दलसँग पनि हामीले संवाद थालेका छौँ।’

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट