बिहिबार, कार्तिक ११ २०७८

प्रहरीमा पेनसन अगावै जागिर छोड्ने बढे: वर्षेनी २ हजारले छोड्छन् जागिर


  • नेपालदीप
  • सोमबार, असोज ११ २०७८
9K
SHARES

काठमाडौँ। हालका केही वर्षहरुमा नेपाल प्रहरीको जागिर छोड्नेको संख्या निकै बढेको छ। १० वर्षे जनयुद्द ताका सबै भन्दा जोखिमपूर्ण जागिर प्रहरीको थियो। संकटकालका ति वर्षहरु भन्दा अहिले प्रहरीको जागिर धेरै सजिलो छ। तर प्रहरी सेवामा आकर्षण भने घट्दो क्रममा छ।

पछिल्लो तीन वर्षको जागिर छाड्ने दर हेर्ने हो भने प्रत्येक वर्ष २ हजार बढी प्रहरीले जागिर छोडिरहेका हुन्छ। आर्थिक वर्ष २०७४/७५ मा २ हजार ५ सय ६४ जना प्रहरीले जागिरबाट राजीनामा दिएका थिए जसमा सबैभन्दा धेरै प्रहरी हवल्दार रहेका छन्। १ हजार ८ सय २ जना हवल्दारले राजीनामा दिए। त्यस्तै, तीन जना प्रहरी नायव महानिरीक्षक रहेका थिए। दुई जना प्रहरी नायव उपरीक्षकले राजीनामा बुझाएका थिए। ८ जना प्रहरी निरीक्षकले राजीनामा दिए। ३ सय ६ जना प्रहरी जवानले राजीनामा दिँदा ३१ जना प्रहरी कार्यालय सहयोगीले पनि राजीनामा दिएका थिए।

‘प्रहरीको जागिरमा आकर्षण कम भयो। सबैभन्दा धेरै तल्लो तहका प्रहरीले काम गर्नुपर्छ। काठमाडौंमा त १८ घण्टासम्म खटिने प्रहरी भनेको तत्लो तहका नै हुन्। त्यसैले अन्य आकर्षणको जागिर खोज्न पुग्छन्,’ नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्माले भने।

नेपाल प्रहरीमा प्रवेश गर्दा जवानदेखि असई र प्रहरी निरीक्षकले १६ महिना कष्टपूर्ण तालिम गर्नुपर्छ। लोकसेवाबाट नाम निकालेर तालिमसम्म पुग्नुपर्ने सङ्घर्ष कम छैन। त्यो दुःखले खाएको जागिर छोड्ने क्रम प्रहरीमा तिब्र छ।

यसको कारण हो प्रहरीमा सेवा सुविधा कम हुनु र प्रहरी भइसकेपछि वैदेशिक रोजगारीको सम्भावना। ‘केही समय प्रहरीमा काम गरेपछि विदेश सेक्युरिटी गार्डमा समेत राम्रो तलब सुविधा छ। त्यसैले धेरैको जागिर छोड्नुको कारण अन्य क्षेत्रमा भएको आकर्षण नै भएको देखिन्छ,’ नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले भने।

‘पहिले तल्लो तहका प्रहरीलाई एफपीयू मिसनलगायत अन्य मिसनहरू जाने अवसर थियो। जसमा जाँदा ६ महिनासम्म बस्दा ८ देखि १० लाख रुपैयाँ बचत गरेर ल्याउने गरेका थिए। अहिले त्यस्तोखाले अवसर पनि छैन। उनीहरूले आफ्नो करिअर सुरक्षित नदेख्दा जागिर छोडेका छन्,’ पूर्व एआइजी विज्ञानराज शर्माले भने।

यसो त पछिल्लो समय तालिम प्राप्त गरेका प्रहरीहरूले जागिर छोड्ने क्रम बढ्दो छ। यसरी सङ्गठन छोडेर जानेहरूमा तत्लो तहका कर्मचारीमात्र छैनन्, उच्च तहमा पुगेका पनि छन्। उच्च तह र तल्लो तहमा जागिर छोड्नाका कारण भने फरकफरक भेटिन्छन्। उच्च तहका प्रहरी सङ्गठनभित्र हुने गरेको बढुवाकै कारण जागिरबाट राजीनामा दिने गरेका छन्। डीआइजी नवराज सिलवाल, डीआइजी रमेश खरेलले आइजीपी नियुक्तिको विषयलाई नै लिएर जागिर छाडेका थिए। राजनीतिक हस्तक्षेप भएको भन्दै उनीहरुले राजीनामा दिएका थिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट