सोमबार, असार ७ २०७८

डन्डिफोरले तपाइकाे सुन्दरतामा कतै कमि ल्याएकाे त छैन?


  • नेपालदीप
  • मंगलबार, माघ २१ २०७६
3.6K
SHARES

काठमाडाैँ । डन्डिफोर छालामा देखिने समस्या हो । यसले मानिसको सौन्दर्यमा असर पुर्‍याउँछ । बच्चादेखि युवासम्म जुनसुकै उमेरसमूहका मानिसलाई डन्डिफोर देखा पर्न सक्छ । सामान्यतया किशोरावस्था टेकेपछि अर्थात् ११–१२ वर्षको उमेरदेखि डन्डिफोर आउन सुरु गर्छ । यद्यपि, ३० वर्ष कटेका व्यक्तिमा समेत यो देखा पर्ने गरेको छ । आमाको हर्मोनले गर्दा भर्खर जन्मेको बच्चामा समेत डन्डिफोर आउन सक्छ । सुरुको तीन–चार महिना देखिएपछि त्यो बिस्तारै आफैँ निको भएर जान्छ ।

कारण

अत्यधिक गर्मीका कारण पनि डन्डिफोर आउने गर्छ ।
वंशानुगत गुणले समेत डन्डिफोरको समस्या देखा पर्छ ।
मिचेर मुख धुने बानी र फेसियल धेरै गर्नाले पनि डन्डिफोरको समस्या देखिन सक्छ ।
धेरै क्रिम लगाउँदा र ती क्रिम सुट नहुँदा पनि डन्डिफोर देखिन सक्छ ।
महिनावारी हुँदा हर्मोनमा गडबडी हुन्छ । यस्तो वेला डन्डिफोर देखिन सक्छ ।
धुलो–धुवाँले चिल्लो निकाल्ने प्वाल बन्द हुन्छ, जसले गर्दा डन्डिफोरको समस्या देखा पर्न सक्छ ।
चिल्लो अनुहार भएका मानिसमा प्राकृतिक रूपमै डन्डिफोर आउँछ ।
यसरी आउँछ
शरीरको सिवासियस ग्ल्यान्ड वा चिल्लो उत्पादन गर्ने प्वाल बन्द भएर पिम्पल आउने गर्छ । धेरै क्रिम लगाउँदा चिल्लो बनाउने प्वालको मुख टालिन्छ । साथै, सिवासियस ग्रन्थिले धेरै चिल्लो उत्पादन गर्‍यो भने पनि ग्रन्थिको मुख बन्द हुने गर्छ । त्यो चिल्लो प्राकृतिक रूपमा निस्किएको हुन्छ । हामीलाई त्यो थाहै हुँदैन । त्यो चिल्लोका कारण छाला नरम बन्ने हो । चिल्लोे रौँको प्वालबाट निस्किन पाएन भने छाला भित्रभित्रै फुटेर पिम्पल बन्छ । त्यसपछि रातो डल्लो भएर आउँछ । जसलाई डन्डिफोर भनिन्छ ।

कहाँ–कहाँ आउँछ ?

डन्डिफोर निधार, नाक, गाला, छाती र ढाडमा समेत आउने गर्छ ।
३० पुगेका महिलाको चिउँडोमा डन्डिफोर आउने गर्छ । साथै, पाठेघरको ओभरीमा गडबडी भयो भने पनि डन्डिफोर आउँछ ।
यसकोे समयमै उपचार भएन भने पछि कालो दाग र खतसमेत बस्न सक्छ ।
आमाको हर्मोनले गर्दा भर्खरै जन्मेको बच्चामा समेत डन्डिफोर आउन सक्छ । सुरुको तीन–चार महिना देखिएपछि त्यो बिस्तारै आफैँ निको भएर जान्छ ।

लक्षण

नदुख्ने र नचिलाउने स–साना दाना देखिन्छन् ।
ती बढ्दै जाँदा डन्डिफोर डल्लो देखिने र पिप भरिने हुन्छ ।
दुख्ने गर्छ, जसका कारण तनावसमेत हुन्छ ।
बच्ने उपाय

अनुहारमा धेरै मसाज गर्नुहुँदैन । साथै, सुट नहुने क्रिम प्रयोग गर्नुहुँदैन ।
पानी धेरै पिउनुपर्छ ।
स्वस्थ खानेकुरा र नियमित फलफूल खाने गर्नुपर्छ ।
डन्डिफोरलाई कोट्याउने र कन्याउने गर्नुहुँदैन ।
धेरै तनाव लिने बानी छोड्नुपर्छ ।
गर्मी र धुलो–धुवाँबाट बच्नुपर्छ ।
डन्डिफोेर धेरै नै आउन थालेको छ भने डाक्टरको सल्लाह लिन आवश्यक छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट