बिहिबार, कार्तिक ११ २०७८

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीहरुको चहलपहल बढ्न थाल्यो


  • नेपालदीप
  • बुधबार, असोज १३ २०७८
1.4K
SHARES

गण्डकी। कोरोना कहरका कारण झन्डै ६ महिनादेखि बन्द मुक्तिनाथ मन्दिर खुलेपछि चहलपहल बढ्दै गएको छ। यही असोज १० गतेदेखि मन्दिर खुला गरिएको थियो।

विशेषगरी प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा यहाँस्थित कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास गरिन्छ। यस समयमा प्रत्येक वर्ष देशका विभिन्न स्थानबाट दर्शनार्थी मुक्तिनाथ पुग्ने गर्दछन्।

प्रकृति र संस्कृतिको अनुपम गन्तव्यका रुपमा स्थापित मुक्तिनाथमा पछिल्लो दशकयता चिसोको समयमा समेत दर्शन र अवलोकनका लागि आन्तरिक पर्यटक पुग्ने गरेको भए पनि दुई वर्षयता कोरोना कहरका कारण यहाँ पर्यटकको आवागमन प्रभावित भएको छ।

सङ्क्रमणको जोखिमका कारण गत वैशाखदेखि सर्वसाधारणका लागि पूजाआजामा रोक लगाई बन्द गरिएको मन्दिर यही असोज १० गतेदेखि खुल्ला गरिएको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए। मन्दिर खुलेसँगै दर्शनार्थीको चहलपहल बढ्दै गएको जनाउँदै उहाँले सोह्र श्राद्धका बाँकी तिथिका साथै औँसीका दिनमा दर्शनार्थीको चाप बढ्ने जानकारी दिए।

मुक्तिनाथमा दर्शनार्थीको चाप बढेसँगै केही वर्षयता पर्यटक लक्षित पूर्वाधारका साथै सुविधा सम्पन्न होटल बन्ने क्रमले गति लिएको छ।

दशकअघिसम्म मुक्तिनाथको दर्शन गर्न जाने तीर्थालु आसपासका भेटी, गोठ तथा रानीपौवास्थित धर्मशालामा बस्ने गर्दथे। ठाउँठाउँबाट आएका तीर्थयात्रीले रानीपौवा खचाखच भरिन्थ्यो भने अधिकांशले खाने कुराका साथै ओढ्ने ओच्छ्याउने सामग्री आफैँ लिएर जाने गर्दथे।

चार दशकअघिसम्म तीर्थयात्राका क्रममा यस्तै पौवा र ठाँटी, भेँडीगोठ आदिमा बस्नु बाध्यता थियो। पछिल्ला वर्षमा भने मुक्तिनाथ मन्दिर आउने दर्शनार्थीका लागि सामान्यदेखि सुविधा सम्पन्न होटल उपलब्ध छन्।

यहाँ रहेको रानीपौवाले आफ्नै महत्व एवम् ऐतिहासिकता बोकेको छ। तत्कालीन समयमा रणबहादुर शाहकी रानी सुवर्णप्रभा १८६३ मा मुक्तिनाथ दर्शनका लागि पुगेकी थिइन्। सुवर्णप्रभासँग मुक्तिनाथका स्वामी महाराजले दर्शनार्थीलाई तीर्थयात्राका क्रममा बास बस्न समस्या परेको अनुरोध गरिछन्।

सोही अनुरोधकै आधारमा रानी सुवर्णप्रभाले मुक्तिनाथ मन्दिर प्रवेशको मुख्यद्वार यही रानीपौवामा धर्मशाला निर्माण गरिन्। स्थानीयवासीका अनुसार तत्कालीन समयमा कुष्मा अर्मादीबाट काठ ल्याएर धर्मशाला निर्माण गरिएको थियो।

त्यसै समयदेखि रानीले बनाइदिएको धर्मशाला भएकाले यसलाई रानीपौवा भनिएको हो। उक्त धर्मशालाले तत्कालीन समयदेखि नै मुक्तिनाथमा आउने तीर्थयात्रीलाई खान तथा बास बस्न सहज भएको थियो।

रानीपौवामा धर्मशाला निर्माणसँगै फूल, प्रसाद एवम् आवश्यक अन्य समान बेच्ने क्रमबाट यो ठाउँले बिस्तारै व्यावसायिक रुप लिँदै गएकामा यो अहिले रानीपौवा बजारका रुपमा चर्चित छ।

तत्कालीन समयमा रानीपौवामा बसोबास नभएका कारण त्यहाँबाट केही तल पुराङ गाउँमा सर्वसाधारण बस्दथे। रानीपौवा र आसपासका गोठ तथा पुराङ बस्ती रहेकामा धर्मशालामा दर्शनार्थी बस्न थालेपछि पुराङवासी बिस्तारै रानीपौवातिरै उक्ले।

धमाधम बन्दै गरेका सुविधा सम्पन्न होटलसँगै रानीपौवा क्षेत्रकै संरचनामा ठूलो परिवर्तन आएको मुक्तिनाथ गाउँका पूर्वमुखिया एवम् होटल ग्रान्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिए। उनका अनुसार झन्डै २०३२÷३३ सालसम्म यो ठाउँ सामान्य लेक रहेको र यहाँ भेडाबाख्राका गोठ थिए। पछिल्ला वर्षमा विदेसिएका युवा फर्केर यहीँ होटल व्यवसाय सञ्चालन गर्न लागेका छन्।

दुई वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथको भ्रमणसँगै भारतीय धार्मिक पर्यटक आउने क्रमले गति लिएको थियो । कोरोना कहरका कारण पछिल्लो दुई वर्षयता प्रभावित यहाँको धार्मिक पर्यटन आगामी दिनमा भने बढ्ने विश्वास लिइएको छ।

पर्यटकलाई लक्षित गरी निर्मित यहाँका होटलका कोठाबाटै हिमाल र मनोरम भूबनोट एकसाथ अवलोकन गर्न सकिन्छ भने रोजाइअनुसार राष्ट्रिय, अन्तर्राष्ट्रियदेखि स्थानीय खानाका परिकारका स्वाद खान पाइन्छ। सडकको पहुँच र यातायातको सुविधा भएपछि पछिल्लो दशकयता मुक्तिनाथमा धार्मिक पर्यटकको आगमन बढिरहेको यहाँका व्यवसायी बताउँछन्।

मुक्तिनाथलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मानिन्छ । मुक्तिनाथलाई भगवान् विष्णुले तपस्या गरेको पुण्यभूमिका रुपमा लिइन्छ। तपस्याका क्रममा भगवान्को शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको १०८ धारा यहाँ रहेको किंवदन्ती छ। यहाँका १०८ धारामा स्नान र मुक्तिनाथको दर्शन गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास रहेको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताए।

मन्दिर खुल्ला गरिए पनि कोरोनाको सम्भाव्य जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य मापदण्ड पालनालाई भने अनिवार्य गरिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए। उनका अनुसार मुक्तिनाथ आउन चाहने दर्शनार्थीका लागि विदेशीका हकमा ७२ घण्टाको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ भने स्वदेशीका लागि दुवै खोप लगाएको कार्ड, पिसिआर रिपोर्ट वा एन्टिजेन परीक्षण गरिएको रिपोर्टमध्ये एक अनिवार्य गरिएको छ। (रासस)

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट