बिहिबार, कार्तिक ११ २०७८

विश्वराष्ट्र : वैदिक गन्तव्य


  • नेपालदीप
  • सोमबार, असोज १८ २०७८
1.7K
SHARES

हामीले (नेपाली तथा भारतीय) जति कुरा पश्चिमका वारेमा जानेका छौँ तेसको तुलनामा पश्चिमाहरुले हामीलाई थोरै बुझेका छन् । उनीहरूले आफ्नो धर्म, संस्कृति तथा व्यापारलाई सहयोग पुग्ने गरी हाम्रो कुराहरू बुझेका छन् कि हाम्रा मौलिक तत्थ्यहरूलाई आफुलाई लाभ प्राप्त हुने गरी बुझेका छन् । यदि कुनै तत्थ्यहरूलागि अहितकारी वा उनीहरूको धर्म, संस्कृति, सभ्यता र भाषा भन्दा श्रेष्ठ छ भने बडो बुद्धिमानिपूर्वक तत्थ्यहरूलाई बटारेर अनर्थ लगाएका छन् । उदाहरणका लागि “लिंग” शब्दलाई लिउँ । संस्कृतमा लिंग शब्दका १४ बटा अर्थ हुन्छन् तर उनीहरूले यसको केवल “पेनिस”का रूपमा अर्थ्याए ।

कर्मलाई जातजातिका अर्थमा बुझाएर बंसज र अंशियारका रूपमा संगै  बसेकाहरू दाजुभाईलाई दक्षिण अफ्रीकाको जस्तो “गोरा र काला”को समार्थक बनाए । उनीहरूले हाम्रो शिक्षा क्षेत्रमा प्रवेश गरेर आफुले चाहेको र आफ्नो लागि व्यापारिक तथा धार्मिक लाभ हुने सबै कुरालाई “प्रगतिशील, आधुनिक र विज्ञान सम्मत” भएको विश्वास दिलाए । उनीहरूले विज्ञान, ज्ञान तथा धार्मिक मामिलामा पनि आफु नै श्रेष्ठ रहेको विश्वास दिलाएर खानपान, रहनसहन, भाषा र अन्त्यमा पोसाकमा समेत आफ्नो बर्चश्व कायम गरे ।

उपरोक्त भनाई केवल हिन्दूहरूमा मात्र होइन रैथाने दक्षिण अफ्रिकेली समुदाय, रैथाने अमेरिकी, रैथाने अस्ट्रेलियाली र अन्य समुदायमा पनि लागु हुन्छ । इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, पोर्चुगालीआदि सबै विश्वका सभ्यताहरूमा आफ्नो संस्कृति तथा धर्म थोपर्न सफल भएका छन् । तेहाका वर्तमान शासकहरूलाई यी सबैको लागि जिम्मेवारी दिन मिल्छ कि मिल्दैन ? छलफल हुनुपर्छ तर यी देशका गोराहरूले विश्वलाई दिएको भन्दा विश्वका संस्कृति, सभ्यताहरूलाई समाप्त पार्न अगाडी देखिन्छन् । आज पनि “गोराहरू विश्वका सबैभन्दा श्रेष्ठ, बुद्धिमान्, विकसित तथा सृजनशील हुन्छन् भन्ने दम्भ उनीहरूमा जस्ताकोतस्तै छ ।

आधुनिक यन्त्रजन्य सुखसुविधाहरूको खोज र विस्तारमा पश्चिमा राष्ट्रहरूले धेरै सफलता प्राप्त गरेका छन् । मान्छेहरूको जीवनशैलीमा यी वैज्ञानिक खोजहरूले नाटकीय सरलता उत्पन्न गरेको छ । विज्ञान, प्रविधि शिक्षाआदिमा विश्वले निकै प्रगति गरेको छ । तर यस्तो प्रगतिका लागि पश्चिमेतर विश्वले आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक  रूपमा धेरै गुमाउनु परिरहेको छ । पश्चिमाहरूले प्रगतिशील विज्ञान-प्रविधि र शिक्षाको विकासका नाममा गरीव तथा आफूभन्दा फरक मुलुकहरूलाई धार्मिक, सांस्कृतिक तथा आर्थिक दासत्व (बर्चश्व) स्वीकार गर्न बाध्य पारिरहेका छन् । धार्मिक स्वतन्त्रता, धर्मनिरपेक्षता, मानवाधिकारजस्ता विषयहरूमा उनीहरूको सधैं दोहोरो मानदंड विश्वले बुझेकै छन् । असलमा, विषयहरू “सही” भए पनि पश्चिमाहरूले यी प्रतिमानहरूको प्रयोग आफ्नो राजनैतिक र आर्थिक फाइदाका लागि गर्छन् ।

विश्वप्रसिद्ध अर्थशास्त्री अमर्त्य सेन र पौरस्त्यवादका लेखक एडवर्डले आफ्ना कृतिहरूमा पश्चिमाहरूले आफ्नो आर्थिक तथा सांस्कृतिक विस्तारका लागि प्रयोग गर्ने “कुटनीति”का विषयमा गहनरूपले विश्लेषण गरेका छन् । यसको अर्थ, केवल पश्चिमाहरूमात्रै दोषी छन् भन्ने होइन । आफ्नो देश र संस्कृतिलाई माया गर्ने गौरवशाली विद्वानहरूले प्रस्तावित र प्रस्तुत गरेका अनुसन्धान मूलक तत्थ्यहरूलाई पनि “नकार्ने” प्रवृत्ति र तेसमा अन्धविश्वास गर्ने मानसिकता रहेसम्म वैश्विक मौलिकताले समेत ठाउँ पाउन सक्दैन । अमर्त्य सेनले यसका लागि “राजनैतिक नेतृत्व”लाई  दोषी ठान्छन् ।

विश्वको सबैभन्दा प्राचीन तर जीवन्त संस्कृति हिन्दू-सनातनी हुन् । यहुदीहरूको सङ्ख्या थोरै छ । जैन, बौद्ध र शिख  सम्प्रदायहरू सनातन धर्मबाट विकसित भएका हुन् । आज सनातनी सहित जैन, बौद्ध र शिखहरूको बिडम्वना के हो भने यी सबै आफ्नो गौरवका लागि भविष्य वा वर्तमानलाई धन्यवाद नदिएर भूतकाललाई महत्वपूर्ण ठान्छन् । सत्य हो कि सनातनी, जैन र बौद्धहरूले विचार र संस्कृतिका क्षेत्रमा धेरै फड्को मारेका थिए तर विज्ञानका क्षेत्रमा तुलनात्मक रूपले त्यतिबिध्न काम भएको पाइन्न । आत्मरति गर्दैमा सत्य वदलिन्न तर हजारौं वर्षदेखि जीवन्त रहेको यो संस्कृतिमा गौरवका साथ अनुसन्धान गरेर निकट भविष्यलाई “पश्चिमाहरू” भन्दा विकसित बनाउन सकिने सम्भावनाहरू निकै बढी छन् ।

यसका लागि सबैभन्दा महत्वपूर्ण सहयोग आधुनिक समयमा पश्चिमा वा पौरस्त्यहरूले विकसित गरेका प्रविधि नै हुनेछन् । प्राचीन “दसी”हरूको निरन्तरता र विकसित भएका वैज्ञानिक संसाधनहरूको विवेकशील प्रयोगले वैदिक-संस्कृति र सभ्यता अझैं सारतत्वमा पुग्न सक्छ । पश्चिमाहरूले विज्ञानमा वैदिक विवेकको उपयोग गर्न सक्छन् भने पौरस्त्यहरूले पश्चिमा विज्ञानप्रविधिको प्रयोग गरेर मानवमात्रमा “विराटप्रज्ञा”को विस्तार गर्न सक्छन् । वैदिक संस्कृतिको एउटा महत्वपूर्ण विशेषता भनेको यसले पृथ्वीमा मान्छेले कोरेका राष्ट्रका सीमाहरूलाई आध्यात्मिक रूपले अस्वीकार गर्छ । यो चिन्तनले विश्वभरिका मान्छेहरूका लागि “विश्वमानवता” वा विश्वराष्ट्रको अवधारणामा सहकार्य गर्न प्रोत्साहित गर्छ ।

वैदिक ऋषिहरूले “बसुन्धरा”का रूपमा पृथ्वीलाई मान्छेको साझा निवासस्थलका रूपमा परिभाषित गरेका छन् । विज्ञानको विकाससंगै मान्छेको मन अझैं साँगुरो भएको छ । शक्तिशाली र वैज्ञानिक रूपमा प्रगतिशील मानिने राष्ट्रहरूले अनेकौं “बन्धन”हरू विकसित गरेर मान्छेको प्राकृतिक घुमन्तेपनमा बन्देज लगाएका छन् । रुस, क्यानाडा, अमेरिका तथा अस्ट्रेलियाजस्ता विशालकाय राष्ट्रहरूका सीमाहरू निकै कडा छन् । फराकिलो हुनुपर्ने मान्छेको “मन”अझैं साँगुरिएको छ । यो आफैमा विरोधाभास हो । राष्ट्रराज्यको अवधारणामा एकेश्वरवादी चिन्तन’मिसिंदा अमेरिका, बेलायत, अस्ट्रेलियाको निर्माण हुन्छ । तर आजको वैश्विक आवश्यताले राष्ट्रराज्य होइन बहुलतावादी राज्यराष्ट्रको स्वागत गर्न तयार हनुपर्ने हुन्छ । विकसित इतिहासले  भविष्यको मान्छे “बहुलतावाद”मा प्रवेश नगरी सुख पाउने छैन ।

विचारको तहमा वैदिक चिन्तन जतिविध्न फराकिलो छ, विज्ञानका पक्षमा हामी अतिनै कमजोर छौँ । भूतकालको गौरवमा रमाएर वर्तमान त वित्ला तर भविष्यले केही प्राप्त गर्ने छैन । पश्चिमाहरूले बडो परिश्रम गरेर विकसित गरेका विकसित संसाधनहरूसंग वैदिकहरूको उन्नत चिन्तनलाई मिश्रण गर्न सके विश्वका सम्पूर्ण मानवहरू सहिष्णुता पूर्वक “विश्वराष्ट्र”का नागरिक बन्न सक्ने तत्थ्यमा शंका नगरे हुन्छ । विश्वनै हाम्रो घर हो, सम्पूर्ण विश्वलाई श्रेष्ठ्तर वनाउँ, मूसोको लागि पनि भोजनको व्यबस्था गरौँ, संगै हिडौ, संगै बसौं, सहकार्य गरौँ र अन्त्यमा यही विश्वलाई स्वर्गमा रुपान्तरित (कपिल) गरौँ भन्ने भविष्यवाणी सफल हुने निश्चित छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट