बिहिबार, कार्तिक ११ २०७८

सनम शाक्य हत्या एवं ३८ क्वीन्टल सुन तस्करी प्रकरण : आज फैसला आउने


  • नेपालदीप
  • मंगलबार, असोज १९ २०७८
2.1K
SHARES

विराटनगर। सनम शाक्य हत्या एवं सुन तस्करीसँग जोडिएको मुद्दाको फैसला जिल्ला अदालत मोरङले मंगलबार गर्ने भएको छ। अदालतका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाकाअनुसार फैसलाको अन्तिम तयारी भइरहेको छ।

कुनै प्राविधिक समस्या नआएमा दिउँसोसम्ममा मुद्दाका फैसला हुने जानकारी उनले दिए। राणाका अनुसार सनम हत्या एवं करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणसँग सम्बन्धित मुद्दाको अन्तिम सुनुवाइ न्यायाधीश भरत लम्सालको इजालस भएको थियो।

प्रतिवादी र वादी नेपाल सरकार पक्षका कानुन व्यवसायीबीच प्रतिरक्षा एवं प्रतिउत्तर बहस गत आइतबार सकिएको हो। एक साता लामो सुनुवाइ सकिएकाले मुद्दाको फैसला आउने चरणमा रहेको श्रेस्तेदार राणाको भनाइ छ।

मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेती मुख्य अभियुक्त रहेको मुद्दामा नेपाल प्रहरीका उच्च अधिकारीसहित ७७ जनालाई प्रतिवादी बनाइएको छ। मुद्दामा उच्च प्रहरी अधिकारी, तस्करीको सुनका लगानीकर्ता, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र विभिन्न एयरलाइन्समा कार्यरत रहेकाहरु एवं गोरेको समूहका सदस्यहरु प्रतिवादी छन्। प्रतिवादीमध्ये ५५ जना पक्राउ परेका छन्। अधिकांश अदालतको आदेशबाट छुटेपछि केही मात्रै पूर्पक्षका लागि कारागारमा छन्। फरार रहेका कारण मुद्दाका २२ जना प्रतिवादी अझै फेला परेका छैनन्।

गोरेको योजना र ‘सेटिङ’ तथा अरु व्यापारीको लगानीमा सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा दुबईदेखि नेपालमा लगभग ३८ क्वीन्टल सुन तस्करी भएको अनुसन्धानबाट पत्ता लागेको थियो। सुन तस्करीका लागि उनले त्रिभूवन अन्तर्राष्टिय विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरी अधिकारीसँग ‘सेटिङ’ मिलाएका थिए। प्रहरीकै सहजीकरणमा भित्रिएको तस्करीको सुन भने अझै फेला परेको छैन।

दुबईबाट तस्करी गरेर ल्याएको सुन भारत पुर्‍याइ सकिएका कारण फेला पर्न नसकेको अनुसन्धान सम्बद्ध स्रोतको भनाइ छ। गोरेको समूहले दुबईबाट तस्करी गरेर २०७४ साल माघ ९ गते नेपाल ल्याएको साढे ३३ किलो सुन त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब बनाइएको अनुसन्धानबाट खुलेको छ। सुन गायब बनाएको आरोपमा गोरेसहित उनको समूहले २०७४ साल फागुन १८ गते करेन्ट लगाएर यातना दिँदै मोरङको उर्लाबारीका सनमको हत्या गरेको हो।

आफ्नै गिरोहमा आवद्ध भएर सुन तस्करीमा भरियाको काम गर्दै आएका सनमको हत्या गोरे र उनको समूहले गरेपछि घटनाको अनुसन्धान गर्दा ठूलो परिणाममा सुन तस्करी भएको पत्ता लागेको हो। धरानमा एक रात राखिएको सनमको शव हत्याको भोलिपल्ट विराटनगरबाट प्रहरीले बरामद गरेर घटनाको अनुसन्धान थालेको थियो।

सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ। त्यही बराबरको बिगो मागदाबीसहितको मुद्दा दर्ता भएको हो। सुरुमा ६३ जनालाई प्रतिवादी बनाइएको थियो। अरु अभियुक्त पूरक अभियोग दर्ताका क्रममा थपिएका हुन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट