बिहिबार, कार्तिक ११ २०७८

विदेशी नीतिको सम्मोहन


  • नेपालदीप
  • मंगलबार, असोज १९ २०७८
3.4K
SHARES

भगवान श्रीकृष्णले गीतामा भनेका छन् : नक्कल गर्न नमिल्ने विषयहरूमा गुण र कर्म हुन् । जसले अर्काका गुण (धर्म)को नक्कललाई विकासको मानदंड ठान्छ, तेसको पतन निश्चित छ । जसले विदेशी राजनैतिक मोडेल, विदेशी विकासका मोडेल र प्रगतिका मोडेलहरूलाई नेपालको प्रगतिको मोडेल मानिरहेका छन् आफु गलत भएको भनेर आलोचना मात्रै गर्न सकिरहेका छैनन् । भित्रभित्र हीनताबोध र निराशाले जरा गाडिसकेको छ । पूर्व प्रधानमन्त्री श्री प्रचण्डले बडो इमान्दारीपूर्वक “आत्महत्या” गर्ने सोचिरहेको भनेर इङ्गित गरेका छन् ।

विज्ञान तथा प्रविधिहरू जसले आविष्कार गरे पनि विश्वका साझा हुन्छन् । तथाकथित विकसित र मानवाधिकारको वकालत गर्ने राष्ट्रहरूले यी साझा सम्पदाहरूलाई पैसा कमाउने साधन बनाउँछन् – यो यथार्थ तर फरक तत्थ्य हो । विज्ञान र प्रविधि विश्वको जुनसुकै कुराबाट ल्याए पनि हुन्छ र दिए पनि हुन्छ तर “नीतिचाहिं आफ्नै हुनुपर्छ । विज्ञान प्रविधि आयात निर्यात गरे पनि “नीति”आफ्नै भएका देशहरू अविजित र विकसित छन् तर “नीति”मा नक्कल गर्नेहरूको हविगत नेपाल भन्दा फरक छैन ।

नेपालमा आधुनिक पश्चिमा राष्ट्रवाद र विकासको मोडेललाई नेपालमा चिनाउने पहिलो काम जंगवहादुरले वेलायत भ्रमणपछि भित्र्याएका थिए । उनले विदेशी विकासका मोडेलहरूको प्रयोग आफ्नो लागि दरवारहरू निर्माण गर्न प्रयोग गरे । बेलायत जानुअधिसम्म “कोपरा”मा दीसापिसाव गर्ने जंगवहादुरको कुलले तेसपछिमात्र टोइलेट निर्माण गरेको तत्थ्य विदित नै छ । प्राविधिकरूपमा प्राविधिक विकासको सूत्रपात गर्ने काम युद्ध र चन्द्र समसेरबाट नै भएको हो । उनीहरूले “नीति”का सवालमा भने कुनै सम्झौता गरेन् – सत्य यही हो ।

हाम्रा पूर्वप्रधानमन्त्रीहरू तथा अन्य नेताहरू हामी भन्दा कत्ति पनि कम देश भक्त छैनन् । उनीहरू आफ्नै बुद्धि र परिश्रमको वूतामा सर्वोच्च कार्यकारी पदमा पुगेका हुन् । नेपालको प्रगतिमा उनीहरू असफल हुनुको सबैभन्दा प्रमुख कारणनै “नीति”का मामिलामा स्वदेशी भन्दा विदेशीलाई बढी विश्वास र भरोसा गर्नु हो । विदेशी मोडेलमा काम गरे नेपालको विकास हुन्छ भन्ने अविवेकी विश्वास नै हो । दुर्भाग्यको कुरा के भने २०७८ सालमा प्रधानमन्त्री बनेका व्यक्तिहरू पनि यसै मानसिक रोगबाट पीडित छन् । उनीहरू यो तत्थ्य न बुझ्न चाहन्छन् न सुन्न नै चाहन्छन् । साउनमा अन्धो भएको गाईले सधैं हरियो नै हरियो देख्छ – भनेझैं विदेशी नीतिहरूको विश्वासले सम्मोहित छन् । उदेकलाग्दो तत्थ्य हो कि यी आफ्नो सम्मोहनमा सम्मोहित छन् । यसैमा रमेका छन् ।

राणाको जहानिया तन्त्र अन्त्य हुँदासाथ विश्वमा विकसित भैरहेका राजनैतिक परिवर्तनकारी “चिन्तन”हरूको नेपालीमा पनि प्रभाव पर्यो । भारतीय स्वत्रन्त्रता र  भारतमा इस्ट इन्डिया कम्पनीले आरम्भ गरेका विकासका र नीतिका मोडेलहरूलाई तत्कालीन आन्दोलनकारी नेपाली नेतृत्व (विपी, पुष्पलालआदि)ले मानसिक रूपमा स्वीकार गर्यो । फलत: पुष्पलालको नेतृत्वमा कम्युनिस्ट पार्टी र विपीको नेतृत्वमा प्रजातान्त्रिक धार खडा भए । पुष्पलाल होस् वा विपी दूवैले नेपालीको समुन्नति त चाहेकै हुन् तर विज्ञानप्रविधिलाई स्वागत गर्ने नीति निर्माण गरेर विकासका लागि “आफ्नै नीति” विकसित गर्नुभन्दा दूवैले रेडिमेड विदेशी “नीति”हरू अवलम्बन गर्ने नीति अख्तियार गरे ।

जानेर वा नजानेर “नीति” स्वीकार गर्ने यो निर्णय नेपाल र नेपालीको लागि आजका मितिसम्म क्यान्सर बनेर दुखिरहेको छ । जनताले नेपाल विकसित, उन्नत र सम्बृद्ध होस् भन्ने चाहन्छन् तर नेताहरूले नेपालको विकास केवल विदेशी प्रतिमानबाट मात्र सम्भव छ भन्ने पूर्वाग्रहले गस्त छन् । फलत’ विश्वका जनताको औसत आय १३५००/ डलर पुगिसक्दा पनि नेपालको भने ११०० डलरभन्दा माथि उठ्न सकिरहेको छैन । कहिले प्रजातान्त्रिक मूल्यका नाममा. कहिले साम्यवादी मूल्यका नाममा त कहिले समाजवादका नाममा नेपाल प्रयोगको वस्तुसरह भएको छ ।

अमेरिका, वेलायत वा युरोपमा सफल भएका “नीति”हरू नेपालमा सफल हुन्छन् भन्ने हुँदैन । धेरैजसो अफ्रिकी, अमेरिकी राष्ट्रहरू अमेरिकाको नेतृत्वको प्रजातन्त्रको नक्कल गरेर विकासत हुन्छौं भन्ने दिवास्वप्नका कारण पीडित छन् । अर्कोतिर १९९० को दशकसम्म स्म्यवादी मोडेलले मात्र विकासको लक्ष प्राप्त हुन्छ भन्ने रसीयाली मोडेलका कारण धेरै राष्ट्रहरू पीडित बने भने तेसै बखत समाजवादको (पूँजीवाद, साम्यवाद र प्रजातन्त्रको) ककलेट विकसित भयो जसलाई भारतमा नेहरूले, नेपालमा विपीले र ब्राजिलमा तात्कालिक राष्ट्रपति फेजियोले स्वीकार गरे । तिनै प्रकारका नक्कलहरू फेल भए । सन् १९५० पछि उपरोक्त मोडेलका आधारमा विकसित भएका देशहरू सिंगापुर र कोरियाले पनि मोडिफाई गरेको जाहेर नै छ ।

यदि आधुनिक विकासको लागि प्रयत्न आरम्भभएको प्रस्थानविन्दु वि.स. २००७ लाई मान्ने हो भने पनि वि.स. २०७८ सम्ममा ७२ वर्ष वितिसकेको छ । यस अवधिमा प्रजातन्त्र, पंचायत, समाजवाद, साम्यवाद र लोकतान्त्रिक प्रजातन्त्र (यो शब्द विकास गर्ने र प्रयोग गर्ने नेपाली संबिधान नै पहिलो हो । सामान्यतया लोकतन्त्र  साम्यवादीले र प्रजातन्त्र पूँजीवादी-समाजवादीले प्रयोग गर्ने पदावली हुन्) सबै मोडेलको प्रयोग भैसकेको छ । यस अर्थमा यी सबै नीतिहरू ७१ वर्षे बूढो हुन् । तर अचम्मको कुरा के भने नेताहरूले अझैं सम्म शिशुनै ठान्छन् ।

नेपालको उन्नति वा विकास नहुनुमा नेतृत्वले विदेशी “नीति”हरू अवलम्बन गर्नु अथवा भनौं नक्कलको मोह नै जिम्मेदार छ । विदेशी “नीति”ले नेपालको विकास गर्ने पूर्वाग्रहबाट मुक्त भएर नेपालकै मोडेलको विकास-पथ न बनाएर र अपनाएसम्म नेपालको समुचित विकासको कुनै सम्भावना छैन । ७२ वर्षसम्म लगातार असफल भैरहेका मोडेलहरू अस्वीकार गर्नुको विकल्प छैन । तर विदेशी ”नीति”हरूप्रति अन्धविश्वास गर्ने नेतृत्व र नेतृत्वलाई भ्रमित पार्ने विदेशीहरूबाट पोषित विद्वानहरूको विकासला मोडेलहरू अस्वीकार गर्न अव अवेला गर्नुहुँदैन ।

विज्ञान र प्रविधि सबैका साझा विषयवस्तु हुन्छन् तर नीति साझा हुँदैनन् । नेपालको विकास अमेरिका वा वेलायतजस्तो हुनुपर्छ, यहाँको राजनीति सिङ्गापुरको जस्तो हुनुपर्छ, नेपाली धर्म-संस्कृति अमेरिकीको जस्तो हुनुपर्छ भन्ने वहसहरू अनर्थ हुन् । असल कुराहरू विश्वको जुनसुकै कुना र व्यक्तिबाट सिक्नुपर्छ तर “नीति”का सवालमा कुनै प्रकारको सम्झौता गर्न हुँदैन । जुन दिन नेपाली नेतृत्व, जनताले विदेशी मोडेलका विकास “नीति”लाई आफ्नो मनबाट दीसा पुछेझैं फाल्न सफल हुने छन्, त्यस दिनदेखि नेपालको विकास र प्रगति आरम्भ हुनेछ ।

नेपालको द्रूततर विकासका लागि निम्न काम आरम्भ गर्नुपर्छ –

(१) नीति आफ्नै हुनुपर्छ – अर्थनीति, राजनीति, धर्मनीति, सामाजिक नीति, विकासका नीति नेपालीले आफ्नै बुतामा निर्माण गर्नुपर्छ । अमेरिकी जनताका आर्थिक आवश्यकता र नेपाली जनताका आर्थिक अवश्यकताहरू फरक छन् । राजनीतिका सवालमा आफ्नै सात प्रकारका मौलिक राज्य संचालनका मोडेलहरू छन्, ती सबैको मुल्यांकन गर्दै समय सुहाउँदो (लोकतन्त्र, प्रजातन्त्र, समाजवादजस्ता शब्दजानबाट मुक्त भएर) राजनैतिक परिपाटी निर्माण गर्नुपर्छ । यस्तो परिपाटीमा गुण र कर्मलाई प्राथमिकतामा राख्नुपर्छ ।

(२) धर्म र संस्कृतिले सभ्यताको निर्माण हुन्छ । धर्मनीति र समाजनीति आफ्नै हुनुपर्छ । धर्म र समाजकातहमा आफ्नो समाजमा रहेका कमीकमजोरीहरूलाई निराकरण गर्दै “वहुलतामा एकता”को नीति अङ्गीकार गर्नुपर्छ । समाज र व्यक्तिलाई ससानो इकाईमा विभाजित गरेर सामाजिक न्याय प्राप्त हुन्छ भन्ने विदेशी मोडेल चरम स्वार्थी छ । बसुधैव कुतुम्वकम् र संसारको कुनै पनि व्यक्ति दुखी न रहोस् भन्ने नीतिमा काम गर्नुपर्छ । यदि नेपाली जनता धर्मप्राण छन् र हिन्दू, बौद्ध रहन चाहन्छन् भने धर्मनिरेपेक्षता नै विकास र प्रगतिको वाधक ठहरिन्छ । मुस्लिम देशहरू धार्मिकतहमा अत्यन्त कट्टर भएर पनि विकसित भएका छन् । धर्म तथा संस्कृतिलाई विकासको बाधक ठान्नेहरू मूर्ख हुन् ।

(३) विज्ञान र प्रविधिले विश्व साँघुरिएको छ । कुनै पनि समाजले अर्को समाजबाट आएको “प्रभाव”लाई पूर्ण रूपमा रोक्न सक्ने अवस्था छैन तर नेपाली नेतृत्वले नीतिगततहमै नेपाललाई “प्रभावित” हुने श्रेणीमा स्थापित गर्ने पाप गरिरहेका छन् । नेपाल केवल ग्राहक मात्र होइन निर्यातक पनि हो भन्ने संदेश दिनसक्ने नेतृत्व हुनुपर्छ । उदाहरणका लागि हिन्दू संस्कृति विश्वको एकमात्र प्राचीनतम जीवित संस्कृति हो” भन्ने ऐतिहासिक तत्थ्यको स्वामित्व लिन र विश्वभरि यो विचारलाई प्रचारप्रसार गर्न कसैले रोक्दैन नेपाली नेतृत्वलाई !

अन्त्यमा, “नीति” आफ्नै निर्माण गर्ने साहस र तेसलाई कार्यान्वयन गर्ने न्यूनतम सङ्कल्पका विषयमा नेपाली राजनैतिक र विद्वानहरूका बिचमा सहमति बनेको क्षणबाट नेपालको प्रगति र विकासले गति लिने छ । नत्र डोजरको  शक्तिलाई विकास मान्ने, विदेशी विकासलाई सपना ठानेर कार्यन्वयन गर्न खोज्ने र आफ्नोप्रति हीनताबोध भएसम्म कार्लमार्क्स, अब्राहम लिंकन, जवाहरलाल नेहरू, राजा वीरेन्द्र आफै आए पनि नेपालको विकास सम्भव छैन । माँगेको कोट र मेकअप गरेको अनुहारले सधैं धोका पाइन्छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट