बिहिबार, कार्तिक ११ २०७८

अहिंसालक्षणो धर्म:


  • नेपालदीप
  • बुधबार, असोज २० २०७८
3.1K
SHARES

महात्मा चाणक्यले सङ्ख्या सूचि ५१० औं सूत्रमा धर्मको प्रमुख लक्षण नै अहिंसा हो भनेर जनसाधारणलाई सचेत गरेका छन् । यो सूत्रको उपस्थितिले चाणक्यका वखतमा राजनैतिक, धार्मिक र सांस्कृतिक व्यवस्थाअन्तर्गत हिंसाहरू हुन्थे भन्ने प्रष्ट हुन्छ । महाभारतमा प्रत्यक्ष हिंसा (मारकाट) मानसिक हिंसा (मनले कूभलो चिताउनुआदि) अभौतिक हिंसा अर्थात् कुनै देवीदेवतालाई खुसी पार्न धार्मिक हिंसा बारे चर्चा गरिएको छ ।

यज्ञमा पशुहत्या गर्ने प्रावधानहरू वैदिक साहित्यमा राइछाई छन् । खासगरी शाक्त-सम्प्रदाय र केही तान्त्रिक सम्प्रदायमा यज्ञका लागि पशुवलिदान स्वीकार र प्रचलित छन् । नेपालका सबैजसो देवी मन्दिरहरूमा परम्परागत रूपले वलिदान दिइन्छ भने मस्टोहरूलाई पनि बलिदिने चलन छ । यस अर्थमा पशुबलि पनि वैदिक संस्कृति कै एउटा विधि हो भनेर बुझ्नु र स्वीकार गर्नुपर्छ । “वैदिक शास्त्रहरूमा पशुबलिको प्रावधान छैन” भन्न उचित हुँदैन किनभने आजको पुस्ताले गुगल गरेर शास्त्रका मूल भनाई पढ्न सक्छ ।

सत्य कुरा के हो भने वैष्णव, गणपति, शैव, सौर्यहरू सधैं पशुबलिका विरुद्धमा रहे । शाक्त तथा स्मार्तहरूझैं उपरोक्त सम्प्रदायहरू पनि वैदिक सभ्यताकै अंग हुन्, वैदिक नै हुन् । पशुवली स्वीकार्ने मूल वैदिक र अस्वीकार गर्ने कम वैदिक भन्ने
जस्ता विभाजनकारी तर्कहरू सधैं अस्वीकार गरिनुपर्छ । वैदिक विधिको हिंसा र वैदिक विधिको अहिंसा दूवै नेपाली सनातनीहरूका आफ्ना प्रचलन र विश्वास हुन् र सहअस्तित्वमा छन् – सत्य यही हो ।

केही संस्कृतका विद्वानहरू हिंसालाई वैदिक सिद्ध गर्न र केही विद्वानहरू अहिंसालाई वैदिक सिद्ध गर्न मनुस्मृति लगायतका शास्त्रहरूमा उपलब्ध पशुबलि समर्थक र विरोधी उक्तिहरूलाई प्रयोग गर्छन् । अनि, सबैभन्दा उदेक लाग्दो तत्थ्य के हो भने यदि आफ्नो अनुकुलका श्लोक छन् भने ती मूल हुन् भनेर मान्ने र प्रतिकुल छन् भने “प्रक्षिप्त” भनेर तर्किने महारोग हुनुहुँदैन । शास्त्रका भनाईहरूलाई सोही परिपेक्षमा बुझ्नु र स्वीकार्नु पर्छ । यदि शास्त्रले दूवै पक्षको चर्चा गरेका छन् भने सहअस्तित्व स्वीकार गरिरहेका छन् । मनुस्मृतिको ५ चौं ११ रौँ अध्यायमा मनुले खाद्य र अखाद्य पशुहरु तोकेका मात्र छैनन्, अखाद्य पशु खाएमा प्रायश्चितको विधि पनि उल्लेख गरेका छन् ।

एतिबिध्न हुँदाहुँदै पनि धर्मशास्त्रहरूले हत्याका पक्षमा भन्दा अहिंसाका पक्षलाई बढी समर्थन गरेका छन् । महात्मा चाणक्यले “अहिंसा नै धर्मको लक्षण हो” भनेर शास्त्रहरूको सारतत्व प्रकट गरेका हुन् । यहाँ उनले “पशुबलि दिनुहुँदैन” भन्न सक्थे तर उनले अहिंसा शब्दलाई केवल पशुबलिसम्म सीमित गरेनन् । उदाहरणका लागि महात्मा मनुले सयसय वर्षमा जसले अश्वमेघ यज्ञ गरेर यज्ञमा हवन गरेको मासु खान्छ र जसले मासुनै खाँदैन उसको पुण्य वरावर हुन्छ (५/५३) भने अहिंसक हुन प्रेरित गरेका छन् ।

अगाडीका श्लोकहरूमा महात्मा मनुले हविस्यान्न खाने मुनिहरू मासु छोड्ने सामान्यजनको पुण्य वरावर हुन्छ भन्ने प्रष्ट पार्दै मासु नभई नहुने व्यक्तिले “म यहाँ जसको मासु खान्छु अर्को जन्ममा मलाई उसले खाओस् भनेर बचन दिएका कारणले मासु भनिएको हो भन्ने (५/५४-५५) विचारणीय छन् । अन्त्यमा महात्मा मनुका बचनहरूले सच्च्चिकै पशुबलिका पक्षधर र विपक्षी दूवैलाई राम्रो उत्तर दिएका छन् “मासु, मदिरापान र मैथुनआदिमा कुनै दोष छैन तर यी सबैबाट निबृति प्राप्त गर्नुजस्तो महान् पुण्य अर्को हुँदैन (मनु ५/५६) । मूलत: प्रवृत्ति नै महान् दोष हो भनेर बुझ्नुपर्छ ।

दशैंको मुखमा आएर हिंसा र अहिंसाका सवाललाई लिएर विधर्मीहरूले सनातन धर्ममा तीब्रगतिले प्रहार गर्ने छन् । विभिन्न देवीपीठमा दिइने पशुबलिलाई अतिरन्जित तवरले उठाउने छन् । यी दुष्टहरूले वकरइदका दिन घांटीरेटेर हत्या गरिने करोडौं पशुपक्षिका पक्षमा बोल्दैनन् न दैनिक रूपमा सरकारी तथा गैरसरकारी कसाईखानाहरूमा हत्या गरिने निर्दोष पशुहरूका सवालमा बोल्दैनन् तर वैदिक पशुबलिप्रति उनीहरू सधैं आक्रामक हुन्छन् ।

एस्तो अवस्थामा वैदिक हिन्दूहरूनै हिंसा र अहिंसाका पक्षविपक्षमा उभिएर एकअर्कालाई सत्तेसराप गर्नु उचित हुँदैन । म स्वयं शाकाहारी हुँ र आजीवन पशुवलिको समर्थन गर्ने छैन तर शास्त्रले लेखेका तत्थ्यहरू (पशुवलीका पक्षमा) लाई निराकरण गर्ने ममा ल्याकत छैन । यसैगरी पशुवली पक्षधरहरूले पनि पसुवालिका पक्षमा अतिरन्जित तवरले प्रस्तुत हुन आवश्यक छैन । दूवैले आफ्नो वैदिक पद्यतिलाई अवलम्बन गरौँ तर एकअर्काको “खैरो”खन्ने काम गरेर विधर्मीहरूलाई हौसला नदिउँ ।

मेरो लागि त अहिंसापरमो धर्म: नै श्रेष्ठ जीवन पद्यति हो । विश्वका ८२.३% व्यक्तिहरूले मासु खान्छन् । शाकाहारी हुँदैमा मान्छे अहिंसक हुँदैन । बौद्धहरूले आफै पशुहत्या गर्दैनन् तर ती अहिंसक होइनन् । पशुबलिमात्र होइन अहिंसाको अर्थ मानसिक, बचासिक र भौतिक सबै प्रकारका हिंसाबाट टाढा रहनु हो ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट