बिहिबार, कार्तिक ११ २०७८

दक्षिण कोरियामा भयो श्रम कानुन परिमार्जन, नेपाली युवालाई पनि लाभ हुने


  • नेपालदीप
  • शनिबार, असोज २३ २०७८
1.1K
SHARES

काठमाडौं। दक्षिण कोरियाको श्रम मन्त्रालयले विदेशी श्रमिकका लागि नयाँ नियम लागु गर्ने भएपछि करिब ५० हजार नेपाली युवालाई पनि लाभ हुने भएको छ।

यही अक्टोबर १४ देखि कोरियाले रोजगार अनुमति प्रणाली इपिएसअन्तर्गत कोरियामा कार्यरतका लागि नयाँ श्रम कानुन लागु गर्न लागेको हो। कोरियामा वैधानिक तवरले काम गरिरहेकाहरूले नयाँ श्रम कानुनअनुसारका सुविधा लिन पाउनेछन्।

ई–९ भिसा भएका विदेशी कामदारहरूले कम्पनी परिवर्तन गरे पनि प्रतिबद्ध कामदारका रूपमा फेरि कोरिया प्रवेश गर्न पाउनेगरी नियम परिमार्जन गरेको हो।

यसअघि विदेशी कामदारले ४ वर्ष १० महिनासम्म लगातार एउटै कम्पनीमा वैधानिक रूपमा काम गरे मात्रै प्रतिबद्ध कामदारका रुपमा पुनः कोरिया प्रवेश पाउने व्यवस्था थियो।

गत अप्रिलमा पहिलाको नियम परिवर्तन गरी एकै प्रकृतिको कम्पनीमा परिवर्तन गरेको भए प्रतिबद्ध कामदारका रुपमा कोरिया आउन पाउने नियम लागू गरिएको थियो। सो नियमलाई पनि परिमार्जन गरेर फरक प्रकृतिको कम्पनी परिवर्तन गरे पनि प्रतिबद्ध कामदारका रुपमा कोरिया प्रवेश गर्न पाउने नियम लागु गर्न लागिएको हो।

सुविधाका लागि उत्पादनमूलक, कृषि तथा पशुपालन, मत्स्यपालन, निर्माण तथा सेवा क्षेत्रमा वैधानिक तवरले काम गरेको हुनुपर्ने नियममा उल्लेख छ।

तर जतिपटक कम्पनी बदले पनि स्वदेश फर्कने बेला कार्यरत कम्पनीमा भने कम्तीमा १ वर्ष काम गरेको हुनुपर्ने नयाँ नियममा उल्लेख छ। यसअघि बढीमा तीनपटक मात्रै कम्पनी परिवर्तन गर्न पाउने र प्रतिबद्ध कामदारका रुपमा कोरिया फर्कन पूरै अवधि एकै कम्पनीमा काम गरेको हुनुपर्ने नियम थियो।

कोरोना महामारीका कारण भिसा सकिएकालाई कोरिया सरकारबाट एक वर्ष भिसा थप्न पाएकाहरूले पनि कम्पनीले चाहेको खण्डमा कोरिया फर्कन पाउने गरी नियम परिमार्जन गरिएको छ।

अन्तिम कम्पनीमा काम गरेको एक वर्ष नपुगेको अवस्थामा श्रम विभागले फेरि प्रवेश गर्न योग्य भनेर सिफारिस गरे प्रतिबद्ध कामदारका रूपमा कोरिया प्रवेश गर्न पाइने नयाँ नियममा उल्लेख छ।

सबै सर्त पूरा गरेको खण्डमा कोरियाबाट श्रम सम्झौता गरी स्वदेश फर्किएको एक महिनाभित्रै कोरिया फर्किन पाइने नियम बनाइएकाे छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट