बिहिबार, कार्तिक ११ २०७८

पूर्वराजा ज्ञानेन्द्रको सन्देश: राजा सहितको प्रजातन्त्र आजको आवश्यकता


  • नेपालदीप
  • मंगलबार, असोज २६ २०७८
5.2K
SHARES

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थासहितको प्रजातन्त्र नेपालको लागि सर्वोत्तम व्यवस्था भएको बताउनु भएको छ। बडा दशैँको उपलक्ष्यमा एक सन्देश जारी गर्दै पूर्वराजा शाहले तत्कालिन परिस्थितिमा बाध्य भएर सम्पूर्ण जिम्मेवारी ग्रहण गरेपनि ‘प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्तैन भन्ने आबोध’ आफूले गरेको बताउनु भएको हो।

‘देशको तत्कालिन परिस्थितिले हामीलाई बेग्लै जिम्मेबारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्तैन भन्ने आबोध हामीले गरेका छौं। प्रजातान्त्रिक, प्रगतिशिल या अन्य जुनसुकै बिचारप्रति आस्थावान भए पनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वाश हामीले लिएका छौ,’ शाहको भनाइ छ।

शाहले अतितको गौरवपूर्ण व्यवस्थालाई सम्झिएर अहिलेको नमिल्दो स्थितिलाई सुधार्न सकिने पनि बताउनु भयो। उहाँ भन्नु हुन्छ, ‘अतितका गौरवपूर्ण विधि व्यवस्थालाई सम्झेर विध्यमानका नमिल्दा स्थितिलाई सुधार्ने सकारात्मक र देश सुहाउँदो राजनीति, राज्य व्यवस्थाका सबै कृयाशिल शक्तिहरुबाट सहि सोच राख्नु देश र जनताको हितमा उपयुक्त अनुभूति हो भन्ने हाम्रो धारणा छ। देशभन्दा माथि हामी कोही पनि छैनौं।’

शाहले वर्तमान राजनीतिक व्यवस्थाले सबैतिर निराशा छाउँदा आफ्नो मन पोलेको बताउनुभयो। उहाँले नेपाली समाज सानातनी आदर्श र पुर्ख्यौली पौरखबाट पृथक नभएपनि राजनीतिक व्यवस्था माटो सुहाउँदो नभएको बताउनु भएको छ।

शाहद्वारा जारी सन्देशमा भनिएको छ, ‘हाम्रो समाज सनातनिक आदर्श र पूख्यौली पौरखबाट पृथक छैन तर हाम्रो राजनीति र राजकाजी चालचलन त्यस अनुरूप हुन सकेनन्। लोककल्याणका हेतु, राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनु पर्ने हो। तर राजनीतिक व्यवस्था आफु आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको छ। कोरोनाको महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी, महंगी र अस्थिरताको भुमरीमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त?’

शाहले कुनै पनि राजनीतिक परिवर्तन देशसँग अन्तर सम्बन्धित हुने भएपनि ६३को परिवर्तन भने जनताको दैनिक जीवनीमा निरासाको बादल बनेर आएको आरोप लगाउनु भयो।

उहाँ भन्नु हुन्छ, ‘कुनै पनि परिवर्तनको मर्म देशसंग अन्तर सम्बन्धित हुने गर्दछ त्यसको प्रभाव जनताले आफ्नो दैनिक जीवनमा अनुभूत गर्न सक्नु पर्दछ। दुर्भाग्यबस शिक्षा तथा स्वास्थ्यको व्यापारीकरण, विकास निर्माणका कामको भ्रष्टिकरण, प्रशासनिक र राजनीतिक पेशाले सिमित व्यक्तिलाई फाइदा पुयाउने र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निरासाको बादल छाएको छ। त्यसै गरि सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म संस्कृति संकटमा पार्ने, राष्ट्र हितमा केन्द्रित रहनु पर्ने परराष्ट्र नीति असन्तुलित भई राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौती थपिएकोले हाम्रो मन पोलेको छ।’

शाहले शाहवंशीय परम्पराले राष्ट्रलाई जहिले पनिकेन्द्र मा राखेको र जन चाहनाको परिधिमा बसेको पनि स्मरण गर्नु भयो। उहाँ भन्नु हुन्छ, ‘हरेक नेपालीलाई आफ्नो स्वतन्त्र विचार र आस्थाको अधिकार छ, हुन्छ र रहन्छ। राजसंस्था वैचारिक आस्थाका आधारमा विभेद गर्दैन त्यो हाम्रो मान्यता पनि होइन न त परम्परा। शाहवंशीय राज पदद्धिको इतिहासले स्पष्ट गरेको छ, राष्ट्रिय आवश्यकता र जन चाहनाको परिधि बाहिरबाट कुनै पनि समस्याको समाधान खोजेको छैन, खोज्दैन पनि।’

शाहले अहिले कम्युनिस्ट नेतादेखि स्वतन्त्र व्यक्तिहरुले राष्ट्रिय स्वाधीनताको लागि राजसंस्थासँग गठजोड गर्न सकिन्छ भन्ने किसिमका विचारहरु आफूले सुनेको संकेत गर्नु भएको छ। उहाँले त्यस्ता विचारहरु राष्ट्रको चिन्ताले व्याकुल भइ निस्केको बुझेको बताउनु भएको छ।

‘देशभक्ति र राष्ट्रप्रतिको भावना मानिसमा दभित भए पनि नामेट हुन सक्तैन, योग्य समयमा समुचित तरिकाबाट त्यो प्रस्फुटित हुने गर्दछ। केहि समय यता जिम्मेबार एवं देशभक्त नागरिकहरुबाट राष्ट्रको चिन्ताले व्याकुल भई व्यक्त बिचारहरुलाई हामीले राष्ट्रिय अनुराग र निष्ठा मात्र प्रकट गरेको नभई, आम नेपालीमा राष्ट्रवादी चेतको संचार समेत गराएको रुपमा बुझेका छौं,’ जारी सन्देशमा भनिएको छ।

शाहले सम्पूर्ण नेपाली जनमा विजया दशमीको शुभकामना व्यक्त गर्नु भएको छ।

May be an image of text

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट