बिहिबार, कार्तिक ११ २०७८

नेपाल इतिहासमै पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा


  • नेपालदीप
  • बुधबार, असोज २७ २०७८
1.2K
SHARES

काठमाडौं। बुधबार बंगलादेशविरुद्ध बराबरी खेल्दै नेपालले साफ च्याम्पियनसीपको फाइनलमा पुगेको छ। नेपाल पहिलोपटक साफ च्याम्पियन च्याम्पियनसीपको फाइनलमा पुगेको हो।

आजको म्याचमा नेपाललाई कम्तिमा बराबरी नतिजा आवश्यक थियो भने बंगलादेश जितको खोजीमा थियो। बंगलादेशले ९ मिनेटमै अग्रता लिएपछि नेपाल दवावमा परेको थियो। तर खेलको ८८ औं मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गर्न सफल भएपछि नेपालले बंगलादेशलाई बराबरीमा रोक्न सकेको हो।

नेपालले गोलका लागि बनाएको क्लियर चान्समा पेनाल्टी एरिया बाहिर आएर फाउल गरेसँगै बंगलादेशका गोलकिपर रहमान जिकोले रातो कार्ड पाएका थिए। त्यससँगै १० जनामा सीमित भएको बंगलादेशका खेलाडीले १८ यार्ड बक्समा अञ्जनमाथि फाउल गरेसँगै नेपालले पेनाल्टी पाएको थियो।

माल्दिभ्समा जारी प्रतियोगिताको फाइनल पुग्नका लागि कम्तिमा बराबरी नतिजा निकाल्नु पर्ने बाध्यतामा रहेको नेपालले आठौं मिनेटमा गोल खाएको थियो। मालेस्थित नेसनल फुटबल स्टेडियममा जारी खेलको आठौं मिनेटमा नेपाली डिफेन्डर गौतम श्रेष्ठले विपक्षी खेलाडीमाथि खराब ट्याकले गरेसँगै बंगलादेशले फ्रि-किक पाएको थियो।

सोही फ्रि-किकमा कप्तान जमल भुयाको पासमा सुमन रेजाले हेडरमार्फत गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका हुन्। फ्रि-किक नेपाली खेलाडीको बारमा लागेर ६ यार्ड बक्सभित्र डिफ्लेक्ट भएको थियो। नेपाली डिफेन्डर दिनेश राजवंशीको कमजोरीको फाइदा उठाउँदै सुमन रेजाले गोल गरेका थिए।

प्रतियोगिता १३औं संस्करण सम्म आइपुग्दा नेपाल भने एक पटक पनि फाइनल पुग्न सकेको थिएन। प्रतियोगिताको पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १-० ले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ गोलको नतिजामा हराएको थियो। त्यस्तै, तेस्रो खेलमा भारतसँग १-० ले पराजित नेपालले बंगलादेशविरुद्ध महत्त्वपूर्ण १ अंक हासिल गर्दै शीर्ष दुईमा स्थान बनाएको हो।

राउन्ड रोबिन लिग पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन्। आजै हुने माल्दिभ्स र भारतबीचको विजेताले फाइनलमा नेपालसँग खेल्ने छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट