सोमबार, मंसिर १३ २०७८

दशैं क्षत्रीय शक्तिको पुनर्जागरण हो



  • नेपालदीप
  • बिहिबार, असोज २८ २०७८
3.5K
SHARES

नेपालमा सनातन धर्म संस्कृतिको रक्षा गर्न क्षत्रीय व्यक्तित्वको निकै खाँचो अनुभव हुँदैछ । पशुबलि प्रति मेरो व्यक्तिगत विमति छ तर क्षत्रीय शक्तिको आवश्यकता बढ्दो छ । नौ दुर्गाको पूजाआजा केवल कर्मकाण्डका रूपमा होइन सनातन धर्मको पुनर्जागरणको रूपमा सबै नेपालीहरूले बुझ्न जरुरी छ । कमजोरलाई सबैले हेप्छन्, शक्तिशालीलाई कसैले छुंदैन ।

दशैंजस्ता (दुर्गापूजा) चाडवाडहरूमा विधर्मी र धर्मनिरपेक्षतावादमा कट्टरपन्थी विदेशी धार्मिक समूहहरूले सनातनीहरूलाई फुटाउन अनेकौं आरोपहरू लगाउने छन् तर हामी सबैले विवेकको प्रयोग गरेर आ-आफ्नो परम्पराअनुसार भगवती दुर्गाको आराधना गर्नुपर्छ । दशैंको वहिष्कार गर्नेले आफ्नो रैथाने धर्मसंस्कृतिको जगेर्ना गरिरहेको छ कि छैन ? हामीले लेखाजोखा राख्नैपर्छ ।

नेपालको संविधान धर्म निरपेक्ष छ तर कुनै पनि नेपाली धर्मनिरपेक्ष छैनन् । इसाईहरूले आफ्नो धर्म राम्ररी पालन गरिनै रहेका छन् । मुस्लिम, किरात सबै आ-आफ्नो धर्मलाई छोडेर धर्मनिरपेक्ष बन्न सक्दैनन् । राज्य धर्मनिरपेक्ष हुँदैमा राज्यसंचालन गर्ने व्यक्ति धर्मनिरपेक्ष हुँदैन भन्ने सबैभन्दा राम्रो उदाहरण नेपाल नै हो । देशको सर्वोच्च संस्था प्रतिनिधि सभाले विधिवत् दसैं विदा लिएको छ । दशैं माने पनि नमाने पनि सबैले “दशैं मान्न” लागि विदा प्राप्त गरेका छन् ।

निसन्देह धर्मनिरपेक्षता सही अर्थमा पाखण्ड हो । यो पाखण्ड विरुद्ध बोल्लेहरूलाई संविधानका पक्षधरले देखि सहन्नन् । धर्मनिरपेक्षतासंग चारकोश टाढा रहेका अतिवादी धार्मिक समुहहरूले यसको स्वागत गर्छन् । नेपाली राजनीतिको तस्वीर हेर्दा धर्मनै मान्दिन भन्नेहरू, विदेशी धार्मिक समुदायहरू र धर्मको निन्दा (हिन्दू-सनातनीको मात्र) निन्दा गरेर जीवित रहनेहरू धर्मनिरपेक्षतावादी छन् । संविधान बनाउनेहरूले “धर्मनिरपेक्ष” लेखे किनभने उनीहरू हुतिहारा थिए । जनता हुतिहारा छैनन् तेसैले दशैंतिहार मनाउंदै छन् ।

युद्धमा देशले मान्छेको बलि लिन्छ र मान्छेले पनि खुसिखुसी दिन्छ । यो पनि वलिदान नै हो । एस्ता बलिदानको गुणगान हुन्छ । अहिले देशको धर्म, संस्कृति र सभ्यता सङ्कटग्रस्त छ । मुस्लिम हुँदा धर्म निरपेक्षवादी, इसाई हुँदा धर्मनिरपेक्षवादी हुने तर हिन्दू-सनातनी हुँदा कट्टरपन्थिको चिन्तन दिने राजनैतिक शक्तिका अगुवाहरूलाई क्षत्रीय शक्तिको आवश्यकता छ । देशले वलिदान होइन क्षत्रीय शक्तिको पुनर्जागरण माँगेको छ ।

म व्यक्तिगत रूपमा पशुवलीको समर्थन गर्दिन । म आफै आजीवन शाकाहारी हुँ । तर यी सबैले परम्परागत रूपमा कोट, मन्दिर र अन्य अवसरमा दिंदै आएका बलिहरू रोकिन्नन् । शाक्त परम्पराको देशमा शक्तिपूजा स्वाभाविक लाग्छ । अव यी शक्तिपीठहरूका बलिहरूको उद्देश्य बदलिएको छ । नेपालभरि बाइसे र चौविसे राजाहरू हुँदा आपसी लडाई हुन्थ्यो र सबैले कोटकोटमा शक्ति पूजा गरेर शक्ति प्रदर्शन र आर्जन गर्थे ? अहिले हाम्रो लडाई सनातन धर्मको रक्षामा केन्द्रीत हुनुपर्छ । मेरो विचारमा मांसाहारसंग पशुवलीको धेरै कम सम्वन्ध छ । काठमाडौँ उपत्यका होस् वा देशका अन्य भाग. सबै मांसाहारीले विधिपूर्वक बलिदान दिएको मासु खान्छन् त ? होइन, कत्ति पनि खादैनन् ।

दशैंमा गरिने अधिकांश पशुबलि “बलि”का लागि नभई मासुका लागि हुन् – अव यो कुरा बोल्न, भन्न र बुझ्न धेरै बुद्धि लगाउनु पर्दैन । शास्त्रचर्चा बहाना हो, स्वाद नै प्रमुख कार्य हो । महत्वपूर्ण तत्थ्य के हो भने चेतना शास्त्रबाट नै अङ्गीकार गरिएको छ । शक्ति आर्जनको यो दिशानिर्देशलाई क्षत्रीयशक्तिमा रुपान्तरित गर्दै सनातन धर्म, संस्कृति र सभ्यताको अक्षुण्णतामा रुपान्तरित गर्नुपर्छ ।

पशुबलि र पशुबलि रहित आराधना पद्धति दूबै सनातन धर्मका दुई चिन्तन हुन् । दुवै आ-आफ्नो ठाउँमा ठीक छन् किनभने दुवैका विषयमा शास्त्रले अनुमति प्रदान गरेको छ । जसले बलिदानरहित आराधना गर्छन् उनीहरू पनि शास्त्रकै अवलम्बन गरिरहेका छन् भने जसले बलिदान गर्छन् उनीहरू पनि शास्त्रकै अनुकरण गरिरहेका छन् । मुख्य कुरा – सनातन धर्मको रक्षा हुनुपर्छ किनभने हामी नेपालीको अस्तित्व यसैमा टिकेको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट