बुधबार, मंसिर १५ २०७८

देशको विकासका अवरोधक शक्ति ?



  • नेपालदीप
  • शनिबार, असोज ३० २०७८
2.1K
SHARES

कम्युनिष्टहरूले “धर्म र धार्मिकता”लाई आर्थिक पछौटेपन र विकासको अवरोधक शक्तिका रूपमा प्रस्तुत गर्छन् । यही मन गढ़ंते चिन्तनका आधारमा “धर्मनिरपेक्षता”वादलाई विकासको मूलफुटाउने आधार भएको ठान्छन् । दोश्रो, राजतन्त्रलाई विकासको अवरोधक र भेदभावको मुख्य आधारका रूपमा व्याख्या गर्छन् । नेपाली साम्यवादीहरूले यी दुई एजेन्डा आज पनि बोकेर हिंडिरहेका छन् । धर्मलाई अफिम र राजतन्त्रलाई सामन्तहरूको नेता भनिरहेका छन् ।

कार्लमार्क्सले पूँजीवादी राष्ट्र युकेको एउटा लाइब्रेरीमा वसेर “पूँजी र साम्यवादी घोषणापत्र” लेखेका थिए । विश्वको राजनैतिक परिदृश्यबाट साम्यवादी शक्तिहरू विलिन हुँदै गर्दा तेही यूकेमा पूँजीवादी राजनैतिक शक्ति जीवित छ, राष्ट्रले इसाई धर्म मान्छ र राजतन्त्र पनि जस्ताको तस्तै छ । साम्यवादीहरूको “प्रगतिशीलता” गफ मैं रहंदा पूँजीवादीहरूले (समाजवाद) हरेक नागरिकलाई आत्म निर्भरताको अभ्यास गरिरहेका छन् ।

विश्वका अधिकांश पूँजीवादी देशहरू (अमेरिका वाहेक) धेरैजसोमा राजा छन् । धेरैजसो राष्ट्रहरू धर्मसापेक्ष छन् । अस्ट्रेलिया, जापान, क्यानाडा, न्यादरल्याण्ड, साउदी अरेवीया, दूवई, ओमान, कतार, कुवैतआदि अनेकौं देशहरूमा सवैधानिक वा सक्रिय राजसंस्थाहरू छन् । यी अधिकांश देशले संबैधानिक रुपमा इसाई, मुस्लिम वा बौद्ध धर्म मान्छन् । यी देशहरूमा राजतन्त्र र धार्मिकताले रोकेको देखिन्न, बरू प्रगतिशील छन् ।

अमेरिका र सिङ्गापुर वाहेक विश्वको कुनै पनि मुलुक साम्यवाद र समाजवादी राजनैतिक व्यबस्थाले विकसित भएको उदाहरण भेटिन्न । साम्यवाद र समाजवादको राजनैतिक चिन्तन अंगालेका देशका राजनैतिक नेताहरूले “पूँजीवाद, धार्मिकता, सामन्तवाद, प्रगतिशीलता, भेदभावरहित, समाजवाद मूलक”जस्ता शब्दहरू प्रयोग गरेर सधैं “विकास” सपना देखाउँछन् । मेरो अनुभवले भन्छ, साम्यवाद, समाजवाद, प्रजातन्त्र, संघिएता, गणतन्त्रजस्ता शब्दहरू प्रयोग गर्नेहरूले प्रगति होइन प्रगतिको सपनामात्र देखाउँछन् ।

नेपालमा धार्मिकताका विरुद्ध धर्मनिरपेक्षता, राजतन्त्रका विरुद्ध गणतन्त्र स्थापना गरेर विकासको मूल फुटाउने सपना देखाइदै छ । २००७ साल देखि फरकफरक तवरले आज २०७८ सम्म प्रयोग भएकै हुन् तर पनि “लोकतन्त्र र गणतन्त्र” शिशुनै छन् । ७२ वर्षको शिशु !!! नेपाली राजनैतिक सन्दर्भमा धर्मनिरपेक्षता हिन्दू सनातानिका विरुद्ध र लोकतन्त्र राजाका विरुद्ध नभई नेताहरूलाई राज्यको सम्पत्तिमा पहुँच पुर्याउन निर्माण गरिएको हो भन्ने तत्थ्य अव बुझ्न थालिएको छ । विपना भोग्ने अधिकार धर्मनिरपेक्षतावादीहरूलाई आरक्षित गरिएको हो ।

आजको विश्वमा पूँजी नचाहिने कुनै एकजना साम्यवादीको अस्तित्व छ जस्तो लाग्दैन । नेपालका हकमा हेर्ने र बुझ्नेहरूले भन्न सक्छन् : नेपालका साम्यवादीहरू असली पूंजीवाद प्रेमी छन् । पूंजीवादलाई गालीगलौज गरेर पुँजीपति बन्ने कला विश्वका साम्यवादी नेताहरूले राम्ररी बुझेका छन् । धर्मलाई गालीगलौज गरेर धार्मिक जीवन विताउने कला विश्वका कम्युनिस्टहरूले नेपालीसंग सिक्नुपर्छ । आजभोली धेरैजसो नेपाली साम्यवादीहरू “बौद्ध-धर्म” मान्ने भएका छन् किनभने बौद्ध भौतिकवादका निकट छन् रे !!

महान् विद्वान कार्लमार्क्सका विचारले विश्वमा धेरै ठूलो परिवर्तन भएको सत्य हो । खासगरी महिलाअधिकार, मानवअधिकार, साझाअधिकार तथा अन्धविश्वास विरुद्धको सामूहिक चेतना । तर उनको विचारहरूलाई जडतत्वसरह अपरिवर्तनीय ठानेर (जडतापूर्वक) बोलेर हिड्ने र मार्क्सवाद पनि कुनै वेला असान्दर्भिक हुन सक्छ भन्ने परिवर्तनलाई स्वीकार्न नसक्ने यथास्थितिवादीहरूले मार्क्सलाई वदनाम गरिरहेका छन् । साम्यवाद र पूँजीवादको ककलेट समाजवादले देशको विकास हुन्थ्यो भने भारत आज अमेरिका वा चीनभन्दा बढी प्रगतिवाला मुलुक हुनुपर्थ्यो ।

धर्मनिरपेक्षताले विकास हुने र धार्मिक राष्ट्रियताले देश पछौटेपनमा जाने भन्ने साम्यवादी तथा समाजवादीहरूको निष्कर्ष पूर्णतया गलत र अवैज्ञानिक छ । चरमधार्मिक राष्ट्रहरू दुवई, कतार, साउदीअरव, युके, नर्वेजस्ता राजतन्त्रसहितका राष्ट्रहरू विकसित छन् भने तथाकथित समाजवाद, प्रजात्रन्त्र र गणतन्त्रको अभ्यास गरिरहेका नेपालसहित भारत, अफगानिस्तान, श्रीलंका, अमेरिकन राष्ट्रहरू, अफ्रिकेली मुलुकहरू अविकसित छन् । नेपालका गणतन्त्र वा प्रजातन्त्रवादीहरूले किन देशको नेपालको विकास भएन ? भनेर सोध्ने हो भने उत्तर प्रष्ट छ : संसारमै असफल सिद्धान्तहरूमा अङ्गीकार गरेर विकास खोजेका छौँ । केही विकासमा सफल अपवाद राष्ट्रहरू उदाहरण बन्न सक्दैनन् ।

यसरी विकासको लागि वाधक शक्ति धर्म, राजतन्त्र होइन, अवरोधक शक्ति विदेशी सिद्धान्तहरूमा अतिअन्धविश्वास हो । धर्मनिरपेक्षता, लोकतन्त्र (गणतन्त्र), विदेशीवादहरूको प्रयोगले नेपाली विकासमा अवरोध सृजना गरेको छ । त्यैपनि नेताको लागि यो प्रिय छ किनभने यसले तिनको भलो गर्छ । नेपाली जनतालाई नेताहरूले जवाफ दिनैपर्छ कि २०४६ पछि पनि ३४ बर्ष व्यतीत भैसकेका छन् तर नेपालको विकास किन भएन ? जवाफ सबैलाई थाहा छ – नेपाल र नेपालीलाई धर्मनिरपेक्षता, तथाकथित विभाजनकारी समावेशीपन र (ठेकेदारी तन्त्र) अर्थात् गणतन्त्र फापेन ।

सत्य तीतो वा मिठो हुँदैन सत्य सत्य नै हुन्छ । लोकतन्त्र, समाजवाद वा धर्मनिरपेक्षताका नाममा “मोज” गर्नेहरूका लागि यी विचार प्रतिगामी होलान् तर सर्वसाधारण नेपालीका लागि सत्य हुन्, त्यो पनि तीतोसत्य । देशको विकास र प्रगतिको लागि सबैभन्दा बढी अवरोधक शक्ति को होला ? यो उत्तर जनतासंग छ, हामी सबैसंग छ तर हामी आफ्नै उत्तरमा विश्वास गर्दैनौं । जुन दिन हामीले निर्धक्कसंग उत्तर दिन्छौं त्यो दिन नेपालीको भाग्योदय आरम्भ हुने छ ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट