आइतबार, मंसिर १२ २०७८

आजको व्यबस्था : वर्णाश्रम कि वर्गीय ?



  • नेपालदीप
  • सोमबार, कार्तिक १ २०७८
2.5K
SHARES

सनातन हिन्दू संस्कृतिको एतिबिध्न लामो इतिहास हुनुमा वर्णाश्रम व्यबस्थाको सबैभन्दा बढी योगदान छ । समाज छुवाछुत रहित हुनुपर्छ तर वर्णाश्रमरहित हुनैसक्दैन । जातीय व्यबस्था र वर्णव्यबस्था फरकफरक हुन् । वर्णाश्रम व्यबस्थालाई जातीय व्यवस्थाको चस्माले हेर्नेहरूले वैदिक अर्थव्यबस्थाको मर्मलाई बुझेका छैनन् । कार्लमार्क्सको वर्गीय (युटोपिया) व्यबस्थामा पूर्वाग्रह भएकाले त झन् यो तत्थ्य बुझ्नै सक्दैनन् ।

सत्य के हो भने वर्णाश्रम व्यबस्थाको स्वरूप अवश्य परिवर्तन भएको छ तर वर्णाश्रममा कुनै अन्तर आएको छैन । पढ्ने, विद्यार्थी, कमाउने गृहस्थ, मध्यम उमेरको महत्वाकांक्षा र वृद्धावस्था व्यबस्थापनका विभिन्न प्रारूप एवं विद्यजिवी, शक्तिजीवि, व्यापारजीवि र सेवा जीविहरूको वैश्विकतालाई कसैले छोड्न र रोक्न सक्दैन । तर उप्रान्तको जीवनशैलीमा वैदिककालीन समाजको पुनरोत्थान चाहनुहुन्छ भने सम्भव छैन । कालले नित्याएको परिवर्तनलाई कसैले रोक्न सक्दैन , र परिवर्तनलाई स्वीकार गर्नुको अर्थ अवैदिक हुहु हो भन्ने अर्थ लाग्दैन । कार्लमार्क्सको वर्गीय व्यबस्थाले युरोपेली सामाजिक र धार्मिक अवस्थाको प्रतिनिधित्व गर्छ । आजको समयमा तेहाका प्रतिमानहरू परिवर्तन भएका छन् ।

एउटा सभ्यता र संस्कृतिलाई केवल धर्मको आँखाले पढ्नु र बुझ्नेहरू अबुझ हुन् वा जानाजान सम्पूर्ण सभ्यताप्रति पूर्वाग्रहयुक्त छन् । धर्मलाई जातीय नजरियाले बुझ्नेहरु अपरिपक्व मात्र होइन अज्ञानी नै हुन् । जातिहरुको सम्वन्ध भूगोल, समाज र जाति (उत्पत्तिसंग) हुन्छ । आजको विश्व “जाति” अर्थात् उत्पत्तिका आधारमा पहिचानको मान्यताका लागि वैचारिक संघर्षमा केन्द्रीत छ । इतिहास नै जातिको लेखिन्छ । हिन्दूलाई एकातिर जातीय व्यबस्थाको स्रोत मान्ने अर्कोतिर आफ्नो “जाति” उत्पतिका आधारमा पहिचान सुरक्षित गर्न बौद्धिक र भौतिक उत्पात मच्चाउने हास्यका पात्र हुन् ।

आश्रमको अर्थ हो – पडाव । वैदिक ऋषिहरूले जीवनका चारबटा अवस्थागत अवस्थाहरू पत्तो लगाए र ती अवस्थाअनुसार आचारव्यबहारहरू सुनिश्चित गरे । आश्रमले जीवनका अवस्थाहरूको प्रतिनिधित्व गर्छ भने वर्णले ती अवस्थाहरूमा रहंदा गर्नुपर्ने क्रियाकलापहरू (कर्म) सुनिश्चित गर्छ । जीवनको कुन अवस्थामा मान्छेले के गर्नुपर्छ भनेर सुनिश्चित गरिएको वैदिक-सामाजिक, सांस्कृतिक तथा धार्मिक व्यबस्था विश्वको अदभूत र अद्वितीय अवस्था हो । सत्यलाई स्वीकार गर्ने हो भने विश्वको जुनसुकै मानवीय समाज वर्णाश्रम व्यबस्था भित्र बाँधिएकै हुन्छ ।

विश्वभरी लगभग ७५७० जातजातिहरू छन् । ती सबै वर्णमा अर्थात् पठनपाठन गर्ने, सुरक्षा गर्ने, व्यापार-व्यवसाय गर्ने र सेवा गर्ने काममा विभाजित छन् भने पढ्ने, गृहस्थी चलाउने, सामाजिक क्रियाकलापमा अग्रसरता लिने र अन्त्यमा वृद्धावस्था भोग्ने अवस्था पनि अनिवार्य नै छन् । ती व्यक्तिहरू धन्य हुन् जसले प्राकृतिक रूपमा नै वृद्धावस्था भोगिरहेका छन् । यदि वैदिक वर्णाश्रम व्यबस्थाभित्र कुनै कालखण्डमा विकसित भएको “छुवाछुत” हटाईदिने हो भने यो निर्विकल्प वैश्विक सभ्यताको एकमात्र अवस्था हो ।

आश्रमले शारीरिक अवस्था र वर्णले आर्थिक (आजको भाषामा) व्यबस्थाको प्रतिनिधित्व गर्छ । आश्रम सबैको लागि एकैसरी हुन्छ तर वर्ण भने फरकफरक हुन्छ । वर्णमा कर्म चयन गर्ने स्वत्रन्त्रता हुन्छ तर आश्रममा एस्तो स्वतन्त्रता सम्भव हुँदैन । मान्छेले वर्ण फेर्न सक्छ र फेरेका अनेकौं उदारहण पनि छन् तर कुनै पनि व्यक्तिले आश्रम परिवर्तन गर्न सक्दैन ।

विज्ञान परिवर्तनशील हुन्छ । नवीनता र स्वीकार्यता नै विज्ञानको बलियो पक्ष हो । विदेशीहरूले हुँदैनभएको वा बिचमा पलाएको संस्कृति र सभ्यता पहिले तलवारको वलमा त् अहिले पैसाको वलमा विश्वउपर थोपरिरहेका छन् । हामीले आफ्नो संस्कृतिभित्र रहेको वैश्विक सिद्धान्तलाई छोडेर जातीय र कविला-सिद्धान्तहरूका पछाडी दौडिरहेका छौँ । विज्ञान पढ्ने/पढाउने तर आफ्नो समाजले लाखौंवर्ष लगाएर विकसित गरेको र यो सामाजिक, सांस्कृतिक अवस्थाको जग बसालेको व्यबस्थालाई वेवास्था गर्ने “विद्वान” असलमा पढेलेखेका पूर्वाग्रही हुन् । एस्तो पूर्वाग्राहलाई नेपालमा संस्थापन गर्ने काम विदेशी प्रतिमानको राजनीतिमा विश्वास गर्नेहरूबाट भएको छ ।

भारतका डा. अम्वेडकर, एलियाहआदिले वर्णाश्रम व्यबस्थाको घोर आलोचना गरेका छन् । आलोचना उनीहरूको स्वतन्त्रता हो तर यो व्यवस्थाका निर्माता उनीहरू होइनन् । उनीहरूले बोल्दैमा यो व्यबस्था नष्ट हुँदैन । मैले त झन् आजको विश्व झन् कडारूपमा वर्णाश्रम व्यबस्थातिर बढिरहेको देख्छु । टोलटोलमा खुलेका विद्यालय तथा विश्वविद्यालय हरूले ब्रह्मचर्य आश्रम र ब्राह्मणहरूको संरक्षण गरिरहेको छ । आफ्नो देशलाई शक्तिशाली बनाउने होडमा विश्वका देशहरूले क्षत्रीय वर्णको अझैं जीवन्त अभ्यास गरिरहेका छन् ।

विश्वभरिका गृहस्थहरूहरूले व्यापारीको पेशा अपनाइरहेका छन् भने समाजसेवामा वानप्रस्थीहरूको भूमिका बढ्दो छ । सन्यासीहरूका लागि वृद्धाश्रमको व्यबस्था अझैं व्यवस्थित हुँदैछ । गृहस्थहरू र वानप्रस्थीहरू चारैबटा पेशामा फैलिएका छन् । विश्वका सरकारहरूले जागिरलाई “व्यवस्थित” बनाएर सेवाप्रवर्ग अर्थात् शूद्र-वर्णको दिगो व्यबस्थापन गर्दै छ । कार्लमार्क्सले कल्पना गरेको वर्गीय व्यबस्था पलपलमा अवैज्ञानिक र निकम्मा सिद्ध हुँदैछ ।

शिक्षाक्षेत्रको विकासले ब्राह्मणको, शस्त्रक्षेत्रको विकासले क्षत्रीय वर्णको, व्यापारको विस्तारले वैश्य वर्णको र सेवाक्षेत्रको विकासले शूद्रवर्गको दिगो व्यबस्थापन हुँदै । यी वर्णहरूको व्यस्थापन संगै बालबालिकाले पढ्ने सिक्ने व्यवस्थित अवसर (ब्रह्मचर्य), गृहस्थहरूले आफ्नो रुचि अनुसार चारवर्णमध्ये एउटामा प्रवेश गर्ने, वानप्रस्थ जीवनमा रहेकाले आफ्नो रुचिअनुसार मनोरंजन वा समाज सेवा गर्ने र जीवनको अन्त्यतिर आएकालाई सन्यास अर्थात् वृद्धाश्रममा बसेर चिन्तन गर्ने अवसर व्यस्थित भएको छ ।

कार्लमार्क्सको वर्गीय चरित्रले होइन आजको विश्व व्यबस्था वैदिक वर्णाश्रमले संचालित भइरहेको छ । तर एउटा कुरा म स्वीकार गर्ने पक्षमा छु कि कार्लमार्क्सले सम्पत्ति र अधिकारको वितरणमा समानता हुनुपर्छ भन्ने विचारलाई वैदिक वर्णाश्रम व्यबस्थाले आफुभित्र समाहित गरेर वैश्विक बनाएको छ । वर्णाश्रम व्यबस्थाको यो वैश्विक प्रारुपको स्वामित्वमा प्राकृतिक रुपले अधिकार दावी गर्नु पर्ने भारतवर्षीय विद्वानहरूले यो तत्थ्य बुझ्न सकिरहेका छैनन् । यहाँ हामी सबै जागरुक हुनुपर्छ र आजकै मितिबाट आफ्नो स्वामित्व र अधिकार दावी गर्नुपर्छ ।

विद्वान कार्लमार्क्स चिन्तनहरूले वैश्विकतहमा धेरै प्रभाव पारेको छ । खासगरी समाजलाई वर्गीयतहमा विभाजन गरेर रक्तपात गर्न/गराउन एसको ठूलो भूमिका छ । वर्णाश्रम व्यबस्था कुनै जातजाति, राष्ट्र वा समाजको विभाजन र द्वन्दका लागि होइन । वर्णाश्रम व्यबस्था मानवीय समाजको बास्तविक अवस्था र आवश्यकताको समाधान हो । वर्णाश्रम व्यबस्थाले कर्म र उमेर दूवैका बीचमा समन्वय स्थापित गर्छ । छुवाछुत रहित वर्णाश्रम व्यबस्था र अवस्थाको वैश्विकतहमा व्यबस्थापन गर्न सके विश्वको कल्याण हुन्छ । अस्वीकार गर्नका लागि आफ्ना पूर्वाग्रह होलान् र स्वीकार गर्नेहरूका आफ्ना पूर्वाग्रह होलान् तर विश्व कर्म (वर्ण) आश्रम (उमेर)मा विभाजित छ र यसैबाट संचालित छ भन्ने तत्थ्यसंग असहमत हुनै कुनै अवकाश छैन ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट