सोमबार, मंसिर १३ २०७८

महान हिन्दूत्व



  • नेपालदीप
  • बुधबार, कार्तिक ३ २०७८
2.6K
SHARES

हिन्दू अथवा हिन्दुत्व प्राचीन आर्य वा वैदिक सनातन धर्मलाई बुझाउने आधुनिक नाम हो। प्राचीनकालमा बैदिक-सभ्यतालाई मान्ने समुदायलाई आर्य (श्रेष्ठ) भनिन्थ्यो। आधुनिक इतिहासकारले रुसको ककेसियाली भू-भागमा विकसित भएको र त्यहाँबाट यायाबरका रुपमा संसारभरी फैलिएको एकथरीको मानवजाति नै ‘आर्य’ हो भनेका छन्। परम्परागत भारतवर्षीय विद्वान्हरूले यसको प्रतिवाद गर्दै ‘आर्य’हरूको मूलथलो भारतीय उपमहाद्वीप नै भएको जिकिर गरेका छन्। आर्य शब्दको संस्कृत अर्थ हेर्दा ‘श्रेष्ठ, ज्ञानी, मुक्तिमार्गमा अग्रसर, विद्वान, सभ्य भन्ने लाग्छ।

मूलत: जसले सनातन धर्ममा विश्वास गर्छ त्यही नै आर्य हो, हिन्दू हो, सनातनी हो भने सनातन धर्मले प्रतिपादित आचरणमा विश्वास गर्ने समूहको धार्मिक, सांस्कृतिक, सामाजिक र ब्यबहारिक चेतना नै हिन्दुत्व हो। उपरोक्त तत्थ्यबाट के सिद्ध हुन्छ भने आधुनिक हिन्दुत्वले बैदिक सभ्यताको प्रतिनिधित्व गरेको छ र यो एउटा कुनै जाति, समुदाय, देश, पुस्तक वा सम्प्रदायको साँगुरो घेरामा सीमित छैन। यसका मूल्य मान्यताहरू समस्त मानवजातिका लागि हुन् भने सुखी, सामाजिक, न्यायपूर्ण, विश्वबन्धुत्वपूर्ण आध्यात्मिक समाज यसको लक्ष। जसले ‘उच्च विचार र साधारण जीवन शैली’मा विश्वास गर्छ उसका लागि हिन्दुत्वका ढोका हमेशा खुला हुन्छन्।

वैदिकसनातन धर्मका आदर्शहरूको सम्मान गर्ने, विश्वास गर्ने र त्यसअनुसार दैनिक आचरण गर्ने हरेक मानिस हिन्दू हुन्। एउटा हिन्दूको आफ्नो आध्यात्मिक पहिचान हुन्छ। उसले हरेक जीवले आफ्नो असल वा कमसल कर्मअनुसारको जीवन प्राप्त गर्छ, आफ्ना कर्मको जवाफदेही आफै हुनुपर्छ, हरेक जीव भगवानको एउटा सानो अंश हो, उसले भगवानबाट आफ्नो भाग्य निर्धारण गर्न स्वतन्त्रता प्राप्त गरेको छ, कर्मफलअनुसार पुनर्जन्म हुन्छन् र बैदिक मर्यादाअनुसार आध्यात्मिक जीवन यापन गर्नेहरूले मुक्तिप्राप्त गर्न सक्छन् भन्ने कुरा बुझेको हुन्छ। एउटा हिन्दुले समस्त विश्व-जगतमा भगवानको अस्तित्वको अनुभूति गर्ने हुँदा, उसका लागि कुनै पनि ‘पराया’ हुनै सक्दैन। उसले विश्वका समस्त प्राणीलाई आफ्नै कुटुम्बसरह सम्मान गर्ने प्रयत्न गरिरहेको हुन्छ। समस्त विश्व नै परमपिता परमेश्वरको अंश भएको र आफु परमेश्वरको इच्छानुसार संसारमा आएको हुँदा उसको प्रमुख लक्ष संसारिक बन्धनबाट मुक्ति प्राप्त गरेर भगवानको परमधाममा फर्कनु वा भगवानसंग एकाकार हुनु नै रहेको हुन्छ। यस्तो लक्ष प्राप्त गर्न हरेक हिन्दुले संसारको भलो चाहँदै भक्ति, ज्ञान वा बैराग्यको मार्ग अनुसरण गर्छ र ‘सत्चिन्दानंद’मय स्वरूपमा आरोहण गर्छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट