आइतबार, मंसिर १२ २०७८

महान हिन्दूत्व – १



  • नेपालदीप
  • सोमबार, कार्तिक ८ २०७८
2K
SHARES

१.     सनातन धर्मको विशालता

वैदिक-सनातन धर्मका संस्कारहरू गर्भाधानबाट आरम्भभई मृत्युसम्म फैलिएका छन् । यो सबै सुनेर, देखेर, पढेर अहिन्दूहरूले अचम्म मानेर औंला टोक्छन् । असलमा, वैदिकसनातन धर्मका संस्कारहरूको ठूलो महत्व छ र भौतिक र आध्यात्मिक जीवनलाई सफल पार्न यी अनिवार्य पनि छन् । मेरो अनुभवमा, हिन्दुत्वका नैतिक नियमहरूजस्ता ब्यबहारिक नियमहरूको अन्य धर्म वा सम्प्रदायहरूले परिकल्पनासम्म गर्न भ्याएका छैनन् । एउटा मान्छेले वैदिक विधिविधानहरूलाई खुरुखुरु पालन गर्दै जान्छ भने उसले भौतिक सफलताका साथै आध्यात्मिक जीवनलाई पनि पूर्णतया सफल बनाउँछ । एउटा किताब, एउटा ईश्वर, एउटा सम्प्रदाय, एउटा गुरूको साँघुरो घेरामा बाँधिएर जीवन यापन गर्नेले ‘हिन्दुत्व’को विशालतालाई बुझ्नै सक्दैनन् । अधार्मिक हुँदा एउटा शरीरका रूपमा बाँचिरहेको थिएँ भने आज मसंग एउटा अजन्मा पूर्ण आत्मा छ र विश्वका हरेक  प्राणी वा वस्तुमा भगवानलाई अनुभव गर्न सक्ने अद्भुत क्षमता ममा विकसित भएको छ । आज म केवल ‘मेरो’ लागि न बाँचेर ‘विश्व’का लागि बाँचेको छु । मैले अनेकतामा एकताको अनुभव गरेको छु । धृति, क्षमा, दम, अस्तेय, पवित्रता, इन्द्रीयउपर अधिकार, बुद्धिमतापूर्ण निर्णय, भौतिक र आध्यात्मिक जीवनको असल ज्ञान (विद्या), परमसत्यको ज्ञान र क्रोध-रहित जीवन जीउने असल व्यवहार ममा विकसित भएका छन् । एउटा गैरहिन्दूले यी अनुभव कहिल्यै पनि समेट्न सक्दैन ।

२.     प्राचीनतम संस्कृति

यदि हामीले इतिहासका किताव पल्टाएर हेर्ने हो भने तीन-चारहजार वर्ष पूराना सभ्यता र संस्कृतिहरूको जीवित अस्तित्व भेट्टाउनै सक्दैनौ सिवाय हिन्दूहरूको । विश्वमा अन्य संस्कृतिहरूको अस्तित्व नरहेर यस्तो भएको होइन । मिश्री-सभ्यता, इन्का, मेक्सिकोको माया, मोहेनजोदेदोजस्ता असंख्य सभ्यताहरू पृथिवीमा विकसित भएका थिए । आज हिन्दूत्व बाहेक पांचहजार वर्ष पूराना कुनैपनि सभ्यताहरू जीवन्त छैनन् । यी सभ्यताहरूको आस्तित्व थाहा पाउन समेत ‘पूरातत्वविद्हरू’को सहयोग चाहिन्छ । सबै भन्दा पूरानो भएर पनि यदि आज हिन्दू-सभ्यता जीवित छ भने यसको मुख्य कारण हो – यसको लचकता र प्रमाणित इतिहाँस । हाम्रा पाश्चात्य खोजकर्ताहरूले हरहमेशा ‘आफ्नो बाहेक’का सभ्यताको इतिहास लेख्दा पूर्वाग्रहपूर्ण सोच राखेका छन् । होइन भने प्राचीनतम वेद, उपनिषद् र पूराणहरूको बैचारिक जगमा खडा भएको जीवित ‘वैदिक-सभ्यता’को प्रामाणिक इतिहास लेख्न किन डराउनछन् ? हिन्दू सभ्यताको सही इतिहासले बाइबल, कोरानमा आधारित इतिहासहरू पाखा लाग्ने छन् भन्ने कुरा उनीहरूले बुझेका छन् र त्यसैले उनीहरू डराउँछन् । मलाई दु:ख लाग्छ कि स्वयं हिन्दूहरूले आफ्नो ‘सही’ इतिहास लेख्न अग्रसरता लिएका छैनन् । गोराहरूले लेखिएदिएको इतिहासलाई सदर गर्ने काम बाहेक केही गर्दैनन् ।

हामीले अरूले लेखिदिएको इतिहासमा विश्वास गर्यों । यदि निष्पक्षता पूर्वक विचार-मनन गर्ने हो भने प्राचीन काल देखि नै १४०० वर्ष पूरानो इस्लाम, २००० वर्ष पुरानो क्रिस्तान, २६०० वर्ष पुरानो यहुदी र लगभग २६०० वर्ष पुरानो बौद्ध सम्प्रदाय, जैन र सिख यी सबैले हिन्दू-सभ्यताउपर ‘आक्रमण’ गरेर यसलाई समाप्त पार्न प्रयत्नशील छन् । पाकिस्तान, इन्डोनेसिया, श्रीलंका, अफगानिस्तान, म्यामार, क्याम्बोडिया बंगलादेशजस्ता मूलुकमा हिन्दू-सभ्यता ‘धर्म-परिवर्तन’का कारण समाप्त भए भने आजभोली खासगरी क्रिश्चियन सम्प्रदायका धेरै घटकहरू नेपाल र भारतका हिन्दूहरूलाई क्रिश्चियनहरू लागिपरेका छन् । त्यैपनि हिन्दूहरू विश्वमा तेस्रो छन् । यस सम्बन्धमा फ्रान्सेली र संस्कृतका प्रोफेसर वार्नुफ़ स्टेट भन्छन् ‘हामीले भारतवर्षलाई यसको प्राचीन इतिहास, संस्कृति, नियम एवं भाषाहरूका आधारमा जान्ने प्रयत्न गरिरहेका हुन्छौं तर भित्र छिरेर यसको इतिहासलाई खोतल्ने हो भने ‘विश्वको उत्पतिसंगै’ हिन्दूहरूका उत्पत्तिको इतिहास भेटिने छ ।’ यसैगरी ‘ब्रिटिश इन्डियाको इतिहास’का लेखकले भनेका छन् ‘जुन बखत मिश्रमा पिरामिडहरू बन्दै थिए, ग्रीक, इटाली र रोममा सभ्यताको विकास हुँदै थियो त्यस बखत भारतवर्षीय सभ्यता आफ्नो चरम उत्कर्षमा थियो । यसैगरी अर्का जर्मन दार्शनिक श्रीअगस्तास स्क्लेगल आफ्नो किताव ‘प्राचीन भारतवर्षीय बौद्धिकता’मा लेख्छन् ‘मैले प्राचीन हिन्दूहरूको ईश्वरसंग प्रत्यक्ष संवाद थिएन भन्न सक्दिन किनभने प्राचीन ऋषिमुनिहरूले जुन भाषाशैली, शालीनता, आत्मविश्वास पूर्णतवरले ‘पुस्तकहरू लेखेका छन्’ त्यो असाधारण हुनै सक्दैन ।

यसैगरी प्रभावशाली जर्मन अनुसन्धाता म्याक्समूलर ‘भारत – हामीले त्यहाँबाट के सिक्न सक्छौं’ नामक कितावमा लेख्छन् : हिन्दूहरूको एतिहासिक अभिलेखहरूलाई सही आँखाले मूल्यांकन गर्ने हो हामीले उनीहरू बाट धेरै कुरा सिक्न सक्छौं । प्राचीन लेखकहरूले जसरी आफ्नो चिन्तनलाई लेखनशैली र भाषाको माध्यमबाट प्रकट गरेका छन् त्यहाँसम्म पुग्न हामी (पाश्चात्य विद्वानहरूलाई) अझै धेरै परिश्रम गर्नु पर्ने हुन्छ ।’ उपरोक्त विद्वानहरूका भनाईहरूलाई मनन गर्ने हो भने हाम्रो मनमा प्राचीन वैदिक मनीषीहरूप्रति ठूलो श्रद्धा जागेर आउंछ । त्यस बखत उनीहरूले विकसित गरेका जीवन र अस्तित्वलाई हेर्ने दृष्टिकोण, जीवनको लक्ष र सकारात्मक सोचको हामीले सम्मान नगरिरहन सक्दैनौं । वेद, उपनिषद्, पूराण, व्याकरण, ज्योतिष, आयुर्वेद, गणितजस्ता सबै विधामा योगदान गरेका मनीषीहरूले आफ्नो नाम र समयसम्म उल्लेख नगरेको देख्दा हामी अचम्भित हुन्छौं । निरभिमानी जीवनशैलीको यस्तो महान आदर्श पाश्चात्यहरुका लागि अकल्पनीय विषय हो । मलाई लाग्छ, हिन्दू-संस्कृतिको जस्तो विशालता अन्य संस्कृतिहरूमा छैनन् र वैश्विक-संस्कृति बन्न सक्ने सबै गुणहरू यसमा अन्तर्निहित छन् । जसले वैदिक साहित्य र संस्कृतिको मर्मलाई बुझेको छ, उसले उपरोक्त तत्थ्यलाई सहजले स्वीकार गर्छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट