बुधबार, मंसिर १५ २०७८

सातौं पटक कार्यतालिका परिवर्तन: अब महाधिवेशन मंसिर २७- २९



  • नेपालदीप
  • बिहिबार, कार्तिक ११ २०७८
1.8K
SHARES

काठमाडौँ। नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सातौं पटक कार्यतालिका परिमार्जन भएको छ। केन्द्रीय निर्वाचन समितिले वडादेखि केन्द्रसम्मको नयाँ निर्वाचन कार्यतालिका तयार पारेको हो।

समितिको बुधबारको बैठकले मंसिर २७–२९ मा १४औं महाधिवेशन गर्न निर्वाचन कार्यतालिका तयार पारेको हो । निर्वाचन समितिका एक सदस्यले कात्तिक २७ देखि मंसिर २७ सम्मको समयसीमा राखेर एकमहिने कार्यतालिका तयार पारिएको बताए। उनका अनुसार बिहीबार पुनः बैठक बसेर कार्यतालिका सार्वजनिक गरिनेछ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकमा सदस्यहरू गोपालकृष्ण घिमिरे, सीताराम केसी र एकराज पोख्रेल उपस्थित थिए ।

अर्का सदस्य तेजबहादुर रावल काठमाडौंबाहिर रहेकाले निर्वाचन कार्यतालिका सार्वजनिक हुन नसकेको ती सदस्यले बताए । उनका अनुसार कात्तिक २७ गते निर्वाचन प्रक्रिया सुरु हुन नसकेका १३ जिल्लाको वडा अधिवेशन हुनेछ । कात्तिक ३० मा पालिका अधिवेशन, मंसिर ३ मा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन, मंसिर ६ मा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, मंसिर १०–११ मा जिल्ला अधिवेशन र मंसिर १६–१८ मा प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको ती सदस्यले बताए ।

कांग्रेसले मंगलबार केन्द्रीय निर्वाचन समितिसँग बैठक गरी मंसिर मसान्तसम्म महाधिवेशन सम्पन्न हुने गरी कार्यतालिका बनाउन निर्देशन दिएको थियो । यसअघिको कार्यतालिकामा कात्तिक १०–१२ गते प्रदेश अधिवेशन र मंसिर ९–१३ गते केन्द्रीय महाधिवेशन गर्ने उल्लेख थियो । निर्वाचन समितिले तयार गरेको प्रस्तावित तालिकामा भने प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनबीच १० दिनको मात्र फरक छ ।

सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, बाँके, डोल्पा, कैलाली र रसुवा गरी १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । तीमध्ये रौतहट र रसुवाको क्रियाशील सदस्यताको टुंगो लागेको छैन । पालिका अधिवेशन सम्पन्न भइसकेका ५१ जिल्लाको प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन हुन सकेको छैन । १३ हिमाली जिल्लाको भने जिल्ला अधिवेशनसमेत भइसकेको छ ।

कहाँ पुग्यो अधिवेशन प्रक्रिया ?
हालसम्म अधिवेशनअन्तर्गत ५१ जिल्लामा स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । निर्वाचन क्षेत्र एउटा मात्र भएका पहाडी र हिमाली १३ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी १३ जिल्लामा भने वडा तहको अधिवेशनसमेत सुरु हुन सकेको छैन । रौतहट र रसुवामा क्रियाशील सदस्यता विवाद अझै टुंगिन सकेको छैन । कार्यतालिकाअनुसार काम नहुँदा छैटौँपटकको कार्यतालिकासमेत प्रभावित बन्न पुगेको थियो । मंगलबारको पदाधिकारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले समितिलाई पूर्ण निर्णयको पूर्ण अधिकार रहने भन्दै मंसिरभित्र सम्पन्न हुने गरी कार्यतालिका बनाउन निर्देशन दिएका थिए । सोहीअनुसार समितिले नयाँ कार्यतालिका तयार पारेको हो ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट