बुधबार, माघ ५ २०७८

आलोचना, समालोचना र आत्मालोचना



  • नेपालदीप
  • आइतबार, कार्तिक १४ २०७८
4.2K
SHARES

विद्वानहरुका विचार, कार्य तथा लेखहरूको समालोचना हुन्छ । समालोचना अनुसन्धान पद्द्तिकै एउटा रूप हो जसमा सम्बन्धित व्यक्तिको होइन निजका विचार, सिद्धान्तहरूको ठीकठीक मुल्यांकन हुन्छ । समालोचनाले समबन्धित विद्वानको प्रगति हुन्छ, प्रगतिको प्रेरणा मिल्छ, विधार्थीको समालोचनात्मक सीपको विकास हुन्छ ।

आलोचना नकारात्मक प्रतिक्रिया हो जसले निर्दिष्ट व्यक्तिको आत्मविश्वासलाई नोक्सान पुर्याउँछ । आलोचना व्यक्तिमा केन्द्रीत हुन्छ, चरित्रह्र्त्यासम्मको तहमा विस्तारित हुन्छ । यदाकदा आलोचनाका कारण सम्वन्धित व्यक्तिले आत्महत्यासम्म गर्छन् । यसै सन्दर्भमा नेपालीको व्यक्तिगत चिन्तन प्रक्रियामा आलोचना गर्ने प्रवृत्तिले नराम्रो संग कब्जा जमाएको छ जसले सम्पूर्ण नेपाली चिन्तन पद्धतिलाई नै नकारात्मक बनाएको छ, गहिरोसंग घायल बनाएको छ ।

राजनीति, विश्वविद्यालय, विद्यालय, पत्रकारिता, आर्थिककारोवार र मानवीय व्यबहार सबै एस्तो “आलोचात्मक प्रबृत्तिले गर्दा निकै रुग्ण र नकारात्मक बनेका छन् । पत्रपत्रिकाहरूमा होस् वा टेलिभिजनआदिमा नकारात्मक आलोचना बढी सुनिन्छ, हेरिन्छ, पढिन्छ र लेखिन्छ । हाम्रो सामाजिक र सांस्कृतिक चिन्तन एतिविध्न नकारात्मक र आलोचक बनेको छ कि हामीले कुनै असलकामलाई पनि आलोचना गरेर मात्र बुझ्न बाध्य भएका छौँ ।

समालोचना गर्न सिकौं र समालोचनाको पद्धितलाई अझैं बलियो र सार्थक बनाउँ तर अर्काको आलोचना गरेर उसको जीवन-विकासमा बाधक नबनौं । मान्छेले गल्ति गर्छ, पशुले गर्दैनन् । आलोचात्मक दृष्टिकोण छ भने सुधार्न सकिन्छ र तेसलाई रचनात्मक समालोचनामा रुपान्तरित गर्न सकिन्छ । मान्छेले जीवनभरि सिक्न सक्छ र पाउँछ, यही नै यसको विशेषता हो । आलोचना गरेर आफु र आफ्नो समाजलाई कमजोर तथा आत्मविश्वासरहित बनाउने दोष बोक्न भन्दा समालोचना गरेर व्यक्ति र समाजलाई मार्गनिर्देशन गर्नुपर्छ । यसले क्रमशः समालोचना गर्ने र समालोचनाको महत्वलाई बुझेर आफुलाई रुपान्तरण गर्ने संस्कृतिको विकास हुन्छ ।

मुख्यकुरा के हो भने, आलोचना गर्न सजिलो हुन्छ । केवल व्यक्तिप्रतिको नकारात्मक दृष्टिकोण प्रकट गर्न कुनै साक्ष, सामग्री तथा तत्थ्यहरू आवश्यक नपर्ने हुँदा र व्यक्ति वा समाजको चरित्रहत्या गर्न सजिलो हुँदा आलोचना सरल र सहज हुन्छ । समालोचना गर्न निकै परिश्रम गर्नुपर्छ । तत्थ्य तथा सत्य यी दूवैका आधारमा चिन्तनका तहमा काम गर्नुपर्ने हुँदा परिश्रमजन्य हुन्छ । जसरी मानसिक रूपमा स्वास्थ्य रहनका लागि मनोविज्ञानका नियम पालन गर्नुपर्छ तेसरी नै विचार र सैद्धान्तिकतहमा स्वास्थ्य रहनका लागि समालोचनात्म्कता हुनै पर्छ । नेपाली समाजमा समालोचना बल्लबल्ल बाँचिरहेको छ भने आलोचना जवान छ, जताततै पुगेर व्यक्ति र समाजलाई घायल बनाउँदैछ ।

विष्णु शर्माले २ हजार वर्ष अगाडी लेखेको हितोपदेशमा एउटा श्लोक छ जसको भावार्थ “विद्वानहरूको समय काव्यशास्त्र तथा असल कुराहरूमा समालोचना गर्दै वित्दछ भने मूर्ख तथा नकारात्मक दृष्टिकोण भएका मानिसहरूको समय आलोचना र कुसमयमा सुतेर वित्ने गर्छ ।” विष्णु शर्माले इङ्गित गरेका ती सबै व्यक्तिहरू मूर्ख हुन् जसले आलोचनामा समय खर्च गर्छन् । एस्ता आलोचकहरूले न आफ्नो भलोगर्छन् न अर्काको भलो भएको देख्न, सुन्न र बुझ्न चाहन्छन् । व्यर्थमा वकवास गर्नेहरू यो संसारका भार सरह नै हुन् ।

मलाई लाग्छ, अहिलेको नेपाली समाजलाई समालोचनाको दृष्टिकोण विकसित गर्न आत्मालोचना आवश्यक छ । आत्मालोचनाको अर्थ हो – नबुझिकन गरिएका र भएका गल्तिहरूप्रति पश्चाताप गरेर पुन: ती न दोहोर्याउने बाचा गर्नु । यो आत्मशुद्धिको दिगोबाटो हो । वैदिक शास्त्रहरूले एस्तो आत्मालोचनको मार्गलाई “प्रायश्चित” भनेका छन् । जानाजान गल्तिको बहाना गर्नेहरूको कुनै औषधि छैन किनभने उनीहरू गल्ति गर्ने अम्बली हुन् । तर जो साच्चिकै रुपान्तरित हुन चाहन्छ, उसका लागि आत्मालोचना ठूलो अभ्यास हो । आत्मालोचना आफैलाई रुपान्तरित गर्ने सबैभन्दा भरपर्दो औजार हो किनभने यो आफैबाट आरम्भ हुन्छ र आफैमा टुंगिन्छ । आत्मालोचना गरेर रुपान्तरित भएको व्यक्ति वा समाज सधैं रचनात्मक तथा जिज्ञासु स्वभावको हुन्छ । आलोचक जिज्ञासु हुनै सक्दैन । जिज्ञासुहरू सधैं समालोचनात्मक हुन्छन् ।

उप्रान्त, लेख्न सक्ने व्यक्तिले समालोचना र आलोचनाको प्रभाव र विस्तार हेरेर/बुझेर कलम चलाउंदा कसो होला ?

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट