बुधबार, माघ ५ २०७८

भष्ट्राचार नीति…



  • नेपालदीप
  • मंगलबार, कार्तिक १६ २०७८
2.9K
SHARES

मूलत: भष्ट्राचार कूनीति, अनीति र दण्डनीय हुनुपर्ने हो । तर नेपाली राजनीतिले भष्ट्राचारलाई “नीति”का रूपमा विकास गर्न सफल भएको छ । कुनै दिन नेपाली राज्नानैतिक नेतृत्वसंग “भष्ट्राचार नीति” सिक्न विदेशबाट प्रतिनिधि नै आयो भने अचम्म मान्नु नपर्ला । हाल, मास्क नलगाएका मान्छे देख्दा अचम्म लागेझैं । असल व्यक्ति र तिनको नियतमा प्रश्न उठाउँन सकिन्न र नेपाली समाज पनि एस्तै असल व्यक्तिका असल चरित्रका कारण जीवित छ । “भष्ट्राचारीलाई किरा परुन्” श्रापले काम गरेन किनभने यो नारा पनि आफैमा नैतिक छ कि छैन भन्ने प्रश्न गर्न सकिन्छ । अव त भ्रष्ट्राचारको विरोध गर्ने परपोजलमा लेख्न लगाएर पनि भ्रष्ट्राचार गरिन्छ भन्ने मैले ठुलै नेताको मुखबाट सुनेको छु ।

नेपालमा विकास नै भएको छैन भन्ने कुरासंग म सहमत छैन तर राजनैतिक संस्कार (कुसंस्कार)ले देशको मनोविज्ञान धुजाधुजा भएको छ । एकअर्कालाई विश्वास नगर्ने र राजनीति गर्नेले कुनै उद्योग/व्यवसाय वा आयआर्जनको काम नगरी राजनैतिक शक्तिबाट नै सुखसुविधा आर्जन गर्ने मनोविज्ञानको विकास भएको छ । राजनीति “भ्रष्टाचार नीति”मा रुपान्तरित भएको छ । नेपालमा देखिएको भौतिक विकास योजनाको प्रतिफल नभई सरकार र दलालहरू बिच कमिसनका लागि भौतिक विकास गर्नुपर्ने बाध्यात्मक परिस्थितिको उपज हो भन्न मिल्छ । विकास गरिएको होइन भएको हो । यदि राजनैतिक शक्तिले देश र जनताको लागि विकास गर्थे भने मेलम्ची आउन ३० वर्ष लाग्ने थिएन ।

राजनैतिक इमान्दारीको अभावमा राजनीति शब्दनै घृणाको पर्याय बनेको छ । संघिएतापछि त छन्, यो निकै गन्हाएको छ । कोरोनाको कहरको विचमा पनि राजनैतिक संस्कार नभएका नेताहरूको सत्ताप्राप्तिको लागि मरिहत्ते गर्ने प्रवृत्तिले नेपाल र नेपालीको छवि धुमिल भएको छ । गणतन्त्र पक्षधरहरूले एकचम्चा पानीमा डुवेर मर्ने परिवेश सृजना भएको छ ।  यी सबै घटनाले नेपाली राजनैतिक नेतृत्व र चेतना निर्लज्जमात्र होइन दया,माया तथा हृदयहिन छ भन्ने स्थापित भएको छ । जनताले निकास खोज्दा “पश्चगामी” भनेर गालीगलौजमा उत्रने नेताहरूका कारण गणतन्त्र अझैं वदनाम भएको छ । भने अर्कोतिर यसरी लेख्न कलम उठाउनु पर्ने अवस्था र व्यबस्थाको एउटा अंश बन्नु पर्दा नमज्जा लागिरहेको छ ।

सत्ता र सत्ताका राजनीति गरेर लाभ प्राप्त गरिरहेकाहरू राजनीतिलाई “पन्थ” मानेर हिंडीरहेका छन् भने राजनीतिमा चासो नराख्ने, केवल भोटरको भूमिका वहन गर्न चाहने तथा जीवन यापनको सकसमा परेकाहरू विदेशिएका छन् । सत्तामा पुग्नेहरू राजगर्न व्यस्त हुँदै गर्दा माथि भनिएका चारै वर्गहरू विदेशीमा आफ्नो श्रम बेच्न बाध्य भएका छन् । कुनै पनि सत्तामा पुग्ने दलहरूले वैदेशिक रोजगारीमा आफ्नो उर्जाशील उमेर बेच्न बाध्य भएकाहरूलाई देशमै उपयोग गर्ने कुनै रणनीति छैन ।

सबै उद्योगी र राजनैतिक शक्तिलाई एकै डालोमा हाल्नु हुँदैन तर “नामका लागि राजनीति गर्ने, नाफाका लागि व्यापार गर्ने र लाभका लागि शैक्षिक नेतृत्व गर्ने” तकड़ीले नेपालको कुनै पनि परिवर्तनलाई संस्थागत हुनै दिंदैनन् । यदि कसैले सम्बृद्धिको मोडेल प्रस्तुत गर्छ भने पनि त्यसप्रति नकारात्मकता फैलाएर अपव्याख्या गरिन्छ । यो तिकड़ी असल कुरा सुन्न चाहन्न, देशलाई हित हुने काम देख्न चाहन्न र देशको र देशवासीको हितका लागि बोल्न चाहन्न । बोल्नेहरूलाई हास्यका पात्र बनाउने गरी प्रस्तुत गरिन्छ ।

आज पाँच – छ जना पूर्वप्रधान मन्त्रीहरू,  हजारौं पूर्वमन्त्रीहरू जीवित छन् । ती संग सहकार्य गरेका वरिष्ठ निजामति कर्मचारीहरू छन् । ती सबै आफ्नो क्षमता र बौद्धिकताका कारणले सर्वोच्च नेतृत्वमा पुगेका हुन् भन्ने म विश्वास गर्छु । सबै त्यो ठाउँमा पुग्न सक्दैनन् । उहाँको देश भक्ति प्रति पनि मैले शंका गर्दिन तर पटकपटक देशको नेतृत्व गर्दा पनि “देशमा भांडभैलो” रोकिन्न भने तेसको दोष जनतालाई भिडाउन मिल्दैन । हामी नेपालीको सबैभन्दा ठूलो दुर्भाग्य नै भन्नुपर्छ सर्वोच्च सत्तामा पुगेका कुनै पनि प्रधानमन्त्रीहरूले सत्य स्वीकार गर्न तयार छैनन् । असफलताको रहस्य यहीं लुकेको छ ।

पूर्व प्रमहरू झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, पुष्प कमल दाहाल, केपी ओली तथा वर्तमान प्रम देउवा आफैमा पटकपटक देशको नेतृत्व गरेका व्यक्ति हुन् । सामान्यतया सबैले राजनीतिमा आफ्नो जीवन विताएका छन् तर देशको दुर्दशाका लागि आफ्नो जिम्मेदारी स्वीकार्न उहाँहरू कदापि तयार हुनुहुन्न । पटकपटक देशको नेतृत्व गर्दा पनि समस्या समधान गर्न तिर भन्दा समस्या सृजना गर्नेतिर उहाँहरूको मूल प्रवृति प्रष्टसंग बुझिन्छ । जव जनताले यी प्रश्नहरू सोध्ने गर्छन् उहाँहरू एकअर्कोलाई दोष लगाएर तर्कनु हुन्छ । कुरा प्रष्ट छ – कि उहाँहरू दोषी हुनुहुन्छ, असक्षम हुनुहुन्छ, भष्टचारी हुनुहुन्छ अथवा उहाँले देशका लागि अङ्गीकार गरेको व्यबस्था देश र जनताका लागि अनुकुल छैन ।

पंचायत र राजा पैतीस वर्ष वितिसकेको छ । यस अवधिमा अहिलेकै नेतृत्वले राज गरेको हो । यो नेतृत्वले निकाश र विकास दुवै दिन सक्दैन किनभने यसले समस्या समाधानका लागि होइन समस्या सृजना गर्न काम गरिरहेको छ । एकआपसमा दोषारोपण गरेर आफु पन्छिने रोगले ग्रसीत छ । व्यक्तिगत रूपमा पूर्वप्रम प्रचण्डको प्रशंसा गर्छु । उनले आफ्नो एकमात्र छोरो गुमाएका छन् । पत्नी गम्भीर विरामी छन् । छोरीको असाध्य रोगका कारण गुमेकी छन् तर पनि उहाँले राजनैतिक नेतृत्व गरिनै रहनुभएको छ । उहाँलाई पक्षपातरहित भएर देश निर्माणमा लाग्न कसैले रोकेको छैन । खनाल, नेपाल, ओली, भट्टराईहरूले अव देशभित्र पद-प्रतिष्ठा प्राप्त गर्न बाँकी छैन । उहाँहरूको अलमलले आम नेपालीको मन दुख्छ । त्यागको संस्कृति भएको लोभ र विदेशीको नक्कल गर्ने वृत्ति कत्ति पनि सुहाउँदैन ।  ओली असफल भए पछि अभिभारा देउवामा सरेको छ । देउवा आफैले जवाफ दिनुपर्छ – जनता निराश हुने कि उहाँ उपर भरोसा गर्ने ?

तिहारको सुन्दरअवसरमा एस्तो नकारात्मक लेख लेख्नु पर्यो । जनतासंग क्षमा माग्छु तर भ्रष्ट्राचारको नीति निर्मातासंग क्षमा माग्ने कुरै छैन ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट