बुधबार, मंसिर १५ २०७८

सुशान्तमाथि दुर्व्यवहार प्रकरणमा प्रहरी भन्छ: मातेर क्लब छाड्न नमानेपछि पक्राउ गरेको हो



  • नेपालदीप
  • मंगलबार, कार्तिक १६ २०७८
2.1K
SHARES

काठमाडौँ। डान्सर सुशान्त खत्रीले आफूलाई प्रहरीले कुनै कसुरविना नै नियन्त्रणमा लिएर झापड हानेको बताएका छन् । सामाजिक संजाल फेसबुकमा लाइभमा आउँदै उनले प्रहरीबाट आफूलाई झापड हानिएको भन्दै उनले प्रहरीलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको बताएका छन् ।

काठमाडौंको एक क्लबबाट आफूलाई प्रहरीले नियन्त्रणमा लिएर एक घन्टासम्म हिरासतमा राखेको पनि उनको भनाई छ । उनले, आफूहरु एक नाइट क्लबमा रहेको र क्लब बन्द हुने समय भएपछि बाहिर निस्कने तयारी गर्दै गर्दा प्रहरी आएर बाहिर निस्किन दबाब दिएको उनले बताएका छन्।

उनले क्लबमा आफ्नोे बिल तिर्न बाँकी रहेको बताइरहँदा प्रहरीले काँधमा समातेर घिसार्दै बाहिर लैजान खोजेको पनि बताएका छन् । उनले, आफ्नो गल्ती के छ भनेर सोधेको तर प्रहरीले एक्कासी गालामा कडा झापड हानेको फेसबुक लाइभमा बताएका छन् । उनले, यस्तो थप्पड आफूले जीवनमा कहिल्यै पनि नखाएको पनि दाबी गरेका छन् ।

सुशान्तले भनेका छन्–‘मेरो बुबा–आमाले हात उठाएको म सहन सक्छु । तर, विना कारण प्रहरी वा कसैले मलाई हात उठाउन पाउँदैन ।’

सुशान्तले विगत १२ बर्षदेखि आफू नेपाललाई विश्वमाझ परिचित गराउन लागिपरेको तर आफ्नै देशमा प्रहरीबाट नराम्रो व्यवहार भोग्नुपर्दा दुःख लागेको उल्लेख गरेका छन् । सुशान्तले कसैलाई पनि झापड हान्ने अधिकार प्रहरीलाई नभएको पनि बताएका छन् ।

आफूले घरमा फोेन गर्छु भन्दा पनि प्रहरीले नदिएको उनको भनाई छ । आफूलाई सामान्य मानिस भएर हिड्न मन लाग्ने बताउँदै उनले प्रहरीलाई विना गल्ती गर्धनमा समातेर घिसार्न र झापड हान्ने अधिकार नभएको बताएका छन् । प्रहरीले कहिलेकाही राम्रो कुरा गर्दा गर्व लाग्ने तर यस्ता खालका भोगाइले सोेचाई नै परिवर्तन हुने उनको भनाई छ ।

सुशान्तले आफू चुप लागेर नबस्ने पनि चेतावनी दिएका छन् । भोलीका दिनमा अरुलाई यस्तो नपरोस् भनेर पनि आफूले आवाज उठाउने उनको भनाई छ । आफूले तयार पारेको भिडियो नेपाल प्रहरीसामु पुगेपनि उनीहरुलाई फरक नपर्ने उनको भनाई छ ।

सन् २०१२ मा भारतको चर्चित रियालिटी शोे ‘इन्डियाज सुपरस्टार’मा छनोेट भएर उत्कृष्ट १० सम्मको यात्रा तय गरेपछि सुशान्तको चर्चा चुलिएकोे थियो । उनको नेपाल र भारतमा लाखौं फ्यान छन् ।

यसो भन्छ प्रहरी

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी दुर्गा दाहालले चाहिँ सुशान्तलाई दुर्व्यवहार नगरेको बताएका छन् । ठमेल क्षेत्रका क्लब सामान्यतया बिहान ४ बजे बन्द हुने भए पनि सुशान्त सिनेटमा बिहान ५ बजे भेटिएका थिए । क्लबमा सुशान्त र उनका साथीहरूबाहेक कोही ग्राहक नभएको र नियमित गस्तीका क्रममा उनलाई सोधपुछ मात्रै गरिएको डिएसपी दाहालले बताए ।

क्लबका कर्मचारीले पटक पटक अनुरोध गर्दा पनि उनी क्लबबाट निस्किन नमानेको र बिल तिर्ने बहानामा क्लबमा बसिरहेको प्रहरले बतायो । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख दुर्गा दाहालले पनि क्लब बन्द हुने समयमा पनि क्लबका कर्मचारीसँग बारम्बार रक्सी माग्दै बसेका खत्रीलाई सुरक्षाको दृष्टिकोणले नियन्त्रणमा लिएको बताए । उनलाई पक्राउ गरेर मेडिकल परीक्षण गरेर हिरासतमा राखिएपनि हातपात र दुर्व्यवहार नगरेको प्रहरीको दावी छ ।

‘उहाँकै साथीले बिल तिरिसकेको अवस्थामा पनि वहाँ मादक पदार्थ सेवन गरेर बसिरहनु भएको थियो । मेडिकलमा पनि उहाँले अत्यधिक रक्सी सेवन गरेको पाइयो । त्यही भएर सुरक्षाको दृष्टिकोणले उहाँलाई नियन्त्रणमा लिएका हौँ’ डिएसपी दाहाल भन्छन्–‘सेलिब्रेटी भनेको अरुलाई मार्गदर्शन गर्ने व्यक्ति हुन्, सेलिब्रेटीलाई नियम र कानुन मिच्ने अधिकार छैन ।’

सुशान्त खत्रीले लेखे ‘एभ्रिथिङ इज क्लियर’

डान्सर खत्रीले फेरि सामाजिक सञ्जालमार्फत प्रहरीसँग सबैकुरा स्पष्ट भएको भन्दै सोह्रखुट्टे प्रहरी वृत्तलाई धन्यवाद दिएका छन् । उनले एउटा पोष्ट सेयर गर्दै लेखेका छन्, ‘एउटा गलत बुझाई भएको थियो । मैले सबै नेपाल प्रहरीलाई आरोप लगाउन खोजेको होइन । हिजो भएको घटनाको बारेमा मैले आफ्नो कथा सेयर गरेको मात्रै हो । धन्यवाद सोह्रखुट्टे प्रहरी वृत्त !’

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट