बुधबार, माघ ५ २०७८

आप्तवाणी अर्थात् अक्रम विज्ञान



  • नेपालदीप
  • बुधबार, कार्तिक १७ २०७८
2.7K
SHARES

भारतको गुजरात प्रान्तमा सन् १९०८ मा जन्मिएर सन् १९८८ मा स्वर्गे भएका श्री ए.एम. पटेल एउटा सफल व्यापारिक व्यक्ति हुन् भने उनले प्राप्त गरेको आधात्मिक उच्चताका कारण दादा भगवान् भनेर प्रसिद्ध छन् । उनले देखाएको आध्यात्मिक बाटोमा अनेकौं सम्भ्रान्त व्यक्तिहरु लागेर आध्यात्मिक उत्कर्ष प्राप्त गरेका अनेकौं साक्षहरू जीवन्त छन् । दादा भगवानले समयसमयमा आफ्ना भक्तजनहरूलाई बोलेर दिएको उपदेशलाई भक्तहरूले “सम्बाद” ग्रन्थका रूपमा प्रकाशित गरिएको छ, जुन “आप्तवाणी”का नाममा प्रसिद्ध छ ।

आप्तवाणी मूलरूपमा गुजराती भाषामा लेखिए तापनि आज विश्वका अनेकौं भाषामा उपलब्ध छ भने हालै एसको नेपालीमा समेत अनुवाद गरिएको छ । आप्तवाणी पहिले भनिएझैं दादा भगवानले दिएका प्रवचन, भक्तजनहरूसंग गरेको संवाद तथा प्रश्नोत्तरको संगालो हो । यसमा धर्म, सृष्टि, व्यवस्थित शक्ति, ईश्वर, आत्मा, जीव र विश्वको सम्वन्ध, भाग्य र कर्म, आत्मा र अनात्मा, सुखी र दुख, पुरुष तथा प्रकृति, वैश्विक दृष्टिकोण, अहङ्कार, इच्छा, निन्द्रा, स्वप्न, डर, संघर्ध (आत्मसङ्घर्ष) गल्ति, क्रोध, लोभ, मोह, ममता, प्रेम तथा कामुकताआदि दार्शनिक, सांस्कृतिक, धार्मिक प्रश्नहरूको अत्यन्त सजिलो उत्तर प्रस्तुत छन् ।

“धर्म प्रकृतिले दिएको प्राकृतिक स्वभाव हो । वस्तुको वा व्यक्तिको वास्तविक परिचय हो । सुनलाई सुन भनिन्छ किनभने तेसमा सुनका गुण हुन्छन्, पितललाई पितल नै भनिन्छ किनभने उसमा पितलका गुण हुन्छन् नक्कली आपमा र असली आपमा फरक हुन्छ नै । व्यक्तिको प्राकृतिक स्वभाव नै उसको सद्धर्म हो र व्यक्तिको सद्गुण नै उसको असली धर्म हुन्छ” (पटेल २०१७ पृ.१) आप्तवाणीको पहिलो अध्यायमा सरलभाषामा दादा भगवान् भन्छन् । दादा भगवानले अधर्मलाई पुद्गल र सदगुणलाई शुद्धधर्म भनेर सम्वोधन गरेका छन् । धर्मको अर्थ मजहव होइन भन्ने वैदिक, जैनी र बौद्ध दृष्टिकोण नै दादा भगवानले अङ्गीकार गरेका छन् ।

मान्छे एउटा जिज्ञासु प्राणी हो । उसले आफ्ना आँखा खोल्दा (ज्ञानका आँखा) देख्ने विषय पनि संसार नै हो । स्वाभाविक रूपले मान्छेले यो संसार कसले बनायो होला भनेर बुझ्न, जान्न र यो भित्र आफ्नो उपस्थिति र भूमिकाका विषयमा सुसज्जित हुन चाहन्छ । दादा भगवानका अनुसार “सृष्टि कसले बनायो भनेर सोध्नुको अर्थ हो हामीले हरेक वस्तुहरू बनाएको र विलाएको देख्छौं । हामी आफै पनि आफ्ना बुवाआमाले निर्माण गरेका वस्तु हौँ । असलमा, विश्व-ब्रह्माण्डका विषयमा यस्तै सृष्टिको सोच राख्नु र तेसको उत्तर प्राप्त गर्ने प्रयत्न गर्नुनै गलत हो । “मैले आत्मवोध प्राप्त गरेर यो पहेलीलाई हल गरिसकेको छु । मेरा लागि सुद्ध आत्मा र पुद्गल दूई फरक वस्तु हुन् । मैले यो तत्थ्य आत्मसाक्षात्कार गरेर बुझेको हुँ (पटेल २०१७ पृ.५) अर्थात् सृष्टि र आफु बिचक सम्वन्ध बुझ्न आत्मज्ञानी हुनैपर्छ -दादाभगवानको आग्रह छ । नत्र हो संसार सधैं एउटा पहेली मात्र रहने सुनिश्चित छ ।

No description available.

दादा भगवानका विचारमा प्रकृतिमा रहेको “व्यवस्थित शक्ति”ले सम्पूर्ण सृष्टिको निर्माण गर्छ, पालन गर्छ र अन्त्यमा एसको विनाश पनि गर्छ । यो सबै कुरा आत्मज्ञान प्राप्त नगरी बुझ्न सकिन्न । मुलत: जैन परिवारमा हुर्किएका दादा भगवानले जैन धर्मका अनेकौं प्रतिमानहरू आफ्नो चिन्तनमा समावेश गरेका छन् । दर्शनशास्त्रका प्राध्यापक गोदावरिस मिश्र लेख्छन् “दादा भगवानले देखेको सत्य बहुमुखी छ । उनको सत्य व्याबहारिक छ । उनीले प्रष्ट रूपमा आफु ज्ञानीपुरुष भएको जिकिर गर्दै अरूलाई समेत ज्ञानी बन्न आग्रह गरेका छन् (मिश्र २०१७, ७) यसको अर्थ हो दादा भगवानले अनुभूत सत्यको कुरा गरिरहेका छन् र त्यो ज्ञान प्राप्त जोसुकैले प्राप्त गर्न सक्ने विश्वास छ ।

दादा भगवान् को दार्शनिक चिन्तनलाई उनले “अक्रम मार्ग वा विज्ञान” भनेका छन् । अक्रमको अर्थ हो मान्छे स्वाभाविक रूपले स्वत्रन्त्र चिन्तन शक्तिसंग सुसज्जित हुन्छ । दादा जीका विचारमा “हामी केवल मन वा शरीर मात्र होइनौं । हामी शुद्ध आत्मा हौँ । साधनाद्वारा आफ्नो शुद्धात्मा अवस्था अनुभव गर्दा साथ “व्यवस्थित शक्ति”ले मुक्तावस्था उपलब्ध गराउँछ । तेसैले सत्य सधैं निरन्तरताबाट मात्र प्राप्त हुन्छ भन्ने हुँदैन । अक्रमको अर्थ हो – साधना गर्दै जाँदा जुनसुकै वेला पनि व्यक्तिले ज्ञान प्राप्त गर्न सक्छ र जीवन मुक्तिको अवस्थामा अवस्थित हुन सक्छ । सत्यको साक्षात्कारका लागि हिमालयमा गएर कठोर तपस्या गर्दा र घर गृहस्थीमै वसेर साधना गर्दामा खासै फरक हुँदैन । सत्य हिमालय वा घर गृहस्थीसंग बाँधिएको तत्थ्य होइन ।

दादाजीका लागि जगत सत्य हो तर जगतका सत्यहरू अपूर्ण छन् । तर सत्य त सत्य नै हुन्छ । ज्ञानीपुरुष हुनुभनेको ब्रह्मपद प्राप्त गर्नु हो । यहाँ दादाका विचारहरू अद्वैत वेदान्तसंग मिल्दा छन् (मिश्र २०१७-६) तर जगत पनि सत्य विषय नै हो किनभने यो दृश्यविश्वले शुद्ध ब्रह्मसंग जोड्न मदत गर्छ । तर ज्ञानी पुरुषले भौतिक सत्य र आध्यात्मिक सत्यमध्ये आध्यात्मिक सत्यलाई प्राथमिकतामा राखेर काम गर्छ । यहाँ अन्य भारतवर्षीय दार्शनिकहरू भन्दा फरक दादा भगवानको दृष्टिकोण र सल्लाह “प्राप्त जीवनलाई उत्साह, प्रेम र मर्यादापूर्ण तरिकाले जीउनुपर्छ । मान्छेको जन्म चिन्ता गर्नका लागि भएको होइन, ज्ञान प्राप्त गरेर मोक्ष प्राप्त गर्न भएको हो ।

“मेरो विवाह १६ वर्षको उमेरमा भयो । तेसै वखत विवाह हुँदै गर्दा मैले विवाहमा लगाएको शिरपास खस्यो । तेसै बखत मभित्र विधुर बन्छु भन्ने विचार आयो र पछि एस्तै भयो ((पटेल २०१७ पृ.९) ज्ञानीहरूलाई ईश्वरले तिनको भविष्यको सूचना दिन्छन् किनभने ईश्वर मोक्षका मालिक हुन् । जसको कर्मक्षय भएको छ उसले मोक्ष प्राप्त गर्ने छ भन्ने सूचना ईश्वरबाट प्राप्त हुन्छ । असलमा ज्ञानको उत्पत्ति पनि अहंकारबाट हुन्छ तर जव मान्छे अहङ्कार रहित बन्छ यही ज्ञान वास्तविक ज्ञान (ज्ञानी”मा रुपान्तरित हुन्छ । अर्थात् ज्ञान प्राप्त हुँदासाथ मोक्ष पनि अक्रमरूपमा उपलब्ध हुन्छ ।

मोक्ष के हो र कसरी प्राप्त हुन्छ भन्ने सवालमा दादा भगवान् बोल्छन् “मोक्ष प्राप्त गर्ने दुईबटा मार्ग छन् । यदि तपाईं भाग्यमानी हुनुहुन्छ भने ज्ञानीजनसंग भेट हुन्छ र त्यो ५०० पाइलामा वदलिंछ । यदि तपाईंको साधना पुगेको छैन भने त्यहिँ ५००० पाइलामा पनि प्राप्त गर्न गाह्रो हुन्छ । तर ऋषभदेवबाट प्राप्त अक्रम विज्ञानको बाटो अपनाउने हो भने त्यो गृहस्थीमा सम्भव हुन्छ । एस्तो ज्ञान र बाटो मसंग छ । मसंग भएको एस्तो अक्रम ज्ञान साच्चिकै अदभूत छ किनभने आजसम्म यो कसैले प्राप्त गरेको र सुनेको छैन ((पटेल २०१७ पृ.१५) ।
विश्वले खुसी चाहन्छ । तर मान्छेले सुखको परिभाषा जान्दैनन् । सुख प्राप्त भए पछि दु:ख प्राप्त हुनुहुँदैन । सुख वाहिर प्राप्त हुँदैन । यदि वाहिर पाइन्थ्यो भने विश्वका धेरै धनि मान्छेहरू सुखी हुन्थे । दादा भगवानले सुख “आत्मा” हो भनेका छन् र त्यो आत्मा वैश्विक भएको हुँदा आत्माभित्रको “वास्तविक सुख वैश्विक रूपमा स्वीकार हुनुपर्छ ।” (पटेल २०१७ पृ.१८) तर संसारमा एस्तो देखिन्न । एउटाको सुख अर्कोको लागि भयानक दु:ख पनि हुनसक्छ । वास्तवमा सम्पूर्ण दु:खहरूको श्रोत गलत विश्वास र अबुझपनले उत्पन्न हुन्छ । भोक लाग्नु स्वाभाविक हो तर भोक लागेको अवस्थामा भोजन प्राप्त नहुनु दु:ख हो । यी सबैको समुचित व्यबस्था मिल्ने हो भने दु:खका विषयमा मान्छेको धारणा वदलिने छ । तेसैले तपाईंको दु:ख तपाईं आफैले निर्माण गरेको हो (पटेल २०१७ पृ.१९) – दादा भगवानको निष्कर्ष छ । सत्य त यही हो – यदि मान्छेले अत्यावश्यक भएको अवस्थामा आवश्यकता पूर्ति गर्न सकेन भने दु:ख अनुभव गर्छ । आवश्यकताको गहिराई अनुसार दु:खको गहिराई बढ्छ ।

क्रमशः

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट