बिहिबार, माघ १३ २०७८

कविताः सपनाको सपना !



  • नेपालदीप
  • शनिबार, मंसिर ११ २०७८
4.4K
SHARES

ढक् ढक् ढक् ढक्…

(उमेरले ढोका खोल्दै भन्यो…)
श्…श्…श्…
यसपाली तिम्रो आमाको केशमा दशैं आयो
मैले सेतो कमेरोले पोतीदिएँ
हार्मोनियममा घामका गीत गाऊँथे तिम्रा बा पहिले
क्षीतीजको पौने अमल माथी बसेर घामले गीत सुनाऊँछ रे उनलाई अहिले
श्…श्…श्… हल्ला नगर, बस् हेरिराख, सुनिराख, बुझिराख
ऊ… त्यहॉं भटभटे कमाऊन राखेको तिम्रो भाईको भूँड्की पनि
अब त स्कूल जाने भईसक्यो
नउचाल … पींदमा प्वाल परिसके, दुईतीन मोहर झरिसके
अब उता भॉंडाकुटी खेल्ने बेलाका तिम्री बहिनीका महेन्दी,झुम्का र घुम्टो हेर
रूँदै-रूँदै डेरा खोज्दैछन् रे घाम डुब्ने देशतीर
अहँ नचलाऊ … अब त भारा लाग्छ
बरू तीन मुठ्टी चामल खोज ऊड्ने चरीलाई चारा लाग्छ
त्यहॉं पल्लो पाखोमा हेर, सँगै घाँस काट्ने दाउरा चिर्ने दमाली
अहिले गास काट्ने, पसिने तिर्ने ईलम गर्दैछन् रे
थैट लाटा नटोलाऊ, अर्को दशैंमा क्यान्सल आउँछन्, कालले सॉंचे भेट्न पाउँछन्
( यत्तिकैमा आँखा खुल्यो )
न त सपनाले उमेर देख्यो
न त उमेरले सपना भेट्यो
दुवैलाई हतार भयो बीचमा जिन्दगी कतार गयो
तर त्यो छोरोले आमालाई भने सधैं आश्वाशन दिईरह्यो
अनि आमा बीचरी बाटो हेरिरहिन्,
चार अमल कपासको धागो बेरिरहिन्…!!!

-अमृत क्षत्री

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार