बिहिबार, माघ १३ २०७८

ओलीले केन्द्रिय कमिटी घोषणा गर्न लागेपछि रावलले भने: अलोकतान्त्रिक कार्य, धाँधलीको संकेत



  • नेपालदीप
  • आइतबार, मंसिर १२ २०७८
2K
SHARES

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दिनभर बैठक नगरी प्रतिनिधिहरूलाई अलपत्र पारेकोमा आपत्ति जनाएका छन्। त्यस्तै संस्थागत छलफल नगरी राति बैठक बोलाउनु धाँधलीको सङ्केत भएको पनि जिकिर गरेका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘दिनभरि बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राती ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको सङ्केत पनि हो। यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ।’

ओलीसहित अन्य नेताहरुले बन्द कोठामै तयार पारेको नामावलीमा सहमति जनाउने तयारी गरेपछि रावलले यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्ने पनि उल्लेख गरेका छन्। उनले एमालेको १० औँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिष्पर्धा गर्ने तयारी गरेका थिए।

उनले महाधिवेशनस्थल सौराहामा आइतबार एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘ एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११ गते उम्मेदवारीसम्बन्धी प्रकिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरूद्धमा छ।’

केपी ओली पक्षले १९ जना पदाधिकारी र ३०१ जना केन्द्रीय सदस्यसहितको सूची ७ बजे सुरु हुने बन्दसत्रमा पढेर सुनाउने र त्यसलाई प्रतिनिधिहरुले अनुमोदन गर्ने तयारी छ। भीम रावल र घनश्याम भुसाललगायत विद्रोही नेताहरुलाई बोल्नै नदिई सूची अनुमोदन गर्ने तयारी ओली पक्षले गरेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार