बिहिबार, माघ १३ २०७८

युवा उद्यमी तिवारी बने कांग्रेसको कान्छो प्रदेश सभापति, स्वार्थभाव नराख्ने प्रतिवद्धता



  • नेपालदीप
  • मंगलबार, मंसिर १४ २०७८
6.2K
SHARES

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनले यति बेला मुलुक तातेको छ । बुढाहरुको पार्टी भनेर चिनिएको नेपाली कांग्रेसमा युवाहरुको आकर्षण बढेको छ । कांग्रेसको वडा अध्यक्षदेखि क्षेत्रिय तथा महाधिवेशन प्रतिनिधिसम्म युवाहरुकै बर्चश्व देखिएको छ । यस अघि बुढाहरुको बढी जमात रहेको कांग्रेसमा युवा पुस्ताले हरेक पदमा चुनाव जित्दै आएका छन् ।

कांग्रेसमा १९ वर्षीय केटीले वडा अध्यक्ष जितिन भने ३० भन्दा कम उमेरका महाधिवेशन प्रतिनिधि जित्ने युवाहरुको पंती ठूलो रहेको छ । गोर्खाबाट २४ बर्षकै उमेरमा प्रतिमा भट्ट पनि कांग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधि बनेकी छिन् । कांग्रेसको यस पटकको महाधिवेशनमा युवाका साथै व्यवसायी तथा उद्यमीहरुको पनि उत्तिकै आकर्षण बढेको छ । चौधरी ग्रूपका अध्यक्ष विनोद चौधरी, प्रभु ग्रूपका अध्यक्ष देवीप्रकाश भट्टचन सर्वसम्म रुपमा कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भए भने अन्य थुप्रै उद्योगी व्यवसायीले कांग्रेसको महाधिवेशन प्रतिनिधि जितेका छन् । त्यो पनि लोकप्रिय मत ल्याएर ।

यसैबीच लामो समयदेखि व्यवसायमा रहेका युवा उद्यमी प्रकाश तिवारी पनि सबैभन्दा कम उमेरमा कांग्रेसको स्याङ्जा क्षेत्र नम्बर १ प्रदश ‘ख’ को सभापतिमा विजयी भएका छन् । उनले आफ्नो प्रतिद्वन्द्वीलाई भारी मतान्तरले हराउँदै उक्त प्रदेशको कम उमेरमै सभापति बन्न सफल भएका हुन् । विपी विचारधारालाई अंगालेर कांग्रेसको राजनीतिमा लागेको तिवारी विगत १६ वर्षदेखि कांग्रेसको क्रियासिल सदस्य छन् । विद्यार्थी जीवनमै राजनीतिमा होमिएका तिवारी नेपालको पुँजी बजारका सफल लगानीकर्ता एवं विश्लेषक समेत हुन् । काठमाडौं विश्वविद्यालयबाट बीबीए उत्तिर्ण गरेका तिवारीले भारतबाट एमबीए उत्तिर्ण गरेको थिए । त्यो पनि गोल्ड मेडलको उपाधि सहित । पढाईमा सधै अब्बल रहेका तिवारी हाल विभिन्न उद्योग व्यवसायमा संलग्न छन् ।

सानै उमेरमै व्यवसायीक सफलता हासिल गरिसेका तिवारी लामो समयदेखि होटल र्याडिसनका संचालक रहँदै आएका छन् । तिवारी पुँजी बजारका साथै रियल स्टेटदेखि पर्यटन क्षेत्रमा समेत सफल युवा उद्यमी मानिन्छन् । नेपालकै ठूलो व्यवसायीक छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत विभिन्न समितिमा सदस्यको रुपमा रहेर काम गरेका तिवारी नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागका समेत केन्द्रिय सदस्य हुन् । हाल उनी उद्योग वाणिज्य महासंघको बैंक तथा इन्स्योरेन्स समिति, ट्याक्स तथा रेभिन्यु समिति र द्वय राष्ट्रिय तथा एनआरएन समितिका समेत केन्द्रिय सदस्य छन् ।

केन्द्रमा रहेर कम उमेरमै कांग्रेसको शिर्षस्थ नेतासँग राम्रो सम्बन्ध विस्तार गरेका तिवारी अबका दिनमा भुगोलबाटै आफ्नो राजनीतिक यात्रालाई अघि बढाएको बताउँछन् । नेपाल भारत आल्मुनाईका समेत अध्यक्ष रहेका तिवारीको राजनीति तथा व्यवासीय सम्बन्ध निकै मजवुद रहेको छ । सामाजिक क्षेत्रमा समेत सक्रिय तिवारीको कुटनीतिक क्षेत्रमा पनि उत्तिकै राम्रो सम्बन्ध रहेको छ । आन्ट्र्रपनर्स नेपालका संस्थापक अध्यक्ष रहेका तिवारीले हाल उक्त संस्थामार्फत देशभर नै वित्तीय साक्षरता कार्यक्रम अघि बढाइरहेका छन् । नेपालका हरेक मानिस वित्तीय रुपमा साक्षर हुनुपर्छ भन्ने अभियाननै चलाएका तिवारीले विभिन्न निकायसँगको सहकार्यमा जिल्ला जिल्लामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गर्दै आएका छन् ।

नेपाली कांग्रेसका पुराना नेतामध्ये स्याङ्जा बम काण्डका चर्चित नेता शिवकुमार अधिकारीका छोरी पट्टीका नाती रहेका तिवारी आफु पनि हजुरबुबा जस्तै स्वार्थभाव नराखी देश र जनताको सेवाका लागि राजनीतिका होमिएको बताउँछन् । तत्कालिन राजनीतिमा विपीसँगै भारत निर्वासित भएका उनका हजुरबुबा शिबकुमार स्याङ्जाको जिल्ला विकास सभापति समेत भएका थिए । ‘मैले पनि कुनै स्वार्थभाव नराखी राजनीतिमा आएका कारण स्याङ्जा कांग्रेसका पुरानादेखि युवाहरुले मलाई सम्मानजनक मत दिएर प्रदेश सभापतिमा विजयी गराउनु भएको छ,’ तिवारीले भने, ‘अबका दिनमा उहाँहरुको मतको सम्मान गर्दै स्याङ्जाको कांग्रेसमा सदृढीकरण गर्दै समग्र देशको हितमा हुनेगरी काम गर्ने छु ।’

स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिक वडा नम्बर ६ मा जन्मिएका तिवारी हाल ३२ बर्षको मात्र भएका छन् । ‘अग्रजहरुको सम्मान र संस्कार सहितको सहकार्य र कार्यकर्ताहरुको संरक्षणका लागि आफु सदैव खट्ने वाचा सहित राजनीतिमा होमिएको छु,’ उनले भने, ‘मेरो उक्त मुद्दामा स्याङ्जाका कांग्रेसीजनहरुले साथ र सहयोग दिनु भएको छ अबका दिनमा जवाफदेहिता, पारदर्शीता र नविन सोचका साथ पार्टीको संगठन निर्माणमा लाग्ने छु ।’

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार