बिहिबार, माघ १३ २०७८

कविताः मेरो कुण्ठा



  • नेपालदीप
  • मंगलबार, मंसिर २१ २०७८
3.7K
SHARES

म ठूलो भएपछि एकदिन आफैले साईकल किन्ने छु, अनि मज्जाले चलाउने छु
हो त्यही दिन मैले अहिले हॉंक्ने टायर गाडा जलाउनेछु
नेत्रे,रामे, नारने, कृष्णे, भिरेने सबै संगीलाई उक्साउनेछु
अनि मेरो साईकल बिद्रोहको एक टुकडी फौज बनाउने छु
गाउँमा जिमदार काका बाहेक सबै पैदल हिंड्छन् अहिले
उहॉंकै साईकलको हावा फुस्काउनेछु सबैभन्दा पहिले
काकाको हँसियाले सिट काटेर, बाको हतौंडाले ठोकठाक पार्नेछु
एकजना मात्रै चढ्न मिल्नेगरी अरू सबै सिट तल झार्नेछु
पछि श्यामेहरूलाई थाहै नदिईकन एक्लै गाउँगाउँ हुईँकनेछु
कहिले काहिँ हिलो-धुलो लागे गोकर्णेहरूलाई सफा गर्न दिनेछु
अझ धेरै धन कमाएपछि ब्रान्डेड रसियन रातो साईकल किन्नेछु
साईकलमा सुनको घन्टी, सुनको सिट र सुनैकै बास्केट हाली हिड्नेछु
बाटो छेक्न आउने सबैलाई बेसकरी घन्टी बजाएर तर्साउनेछु, भगाउनेछु
म बाहेक अरू कसैले नचढुन्, त्यसैले ओर्लने बित्तिकै भोटे ताल्चा लगाउनेछु
खुट्टाले चलाउन नसक्ने हुँदा हातैले भएनी डोहोर्याउने छु
मसँग नसोधि चलाउन खोज्ने सबैलाई त्यहिँ घोक्रयाउने छु
देशविदेश घुम्नेछु, बास्केट भरी थरीथरी उपहार भर्नेछु
राम्रा आफूले राख्नेछु, नराम्रा जति आशेपासेलाई छर्ने छु
मिठो बोल्नेछु, गाऊंलेलाई लोभ्याउन्छु ,
जसरी होस् सबैको मन छुनेछु
असल-कमसल चाहे जे-जस्तो सुकै होस्,
तर एक दिन म ठूलो मान्छे अवस्य हुनेछु
घामसँगै उदाउने छु, घामकै दिशा पछ्याई-पछ्याई घामलाई बोक्ने छु,
न त घाम मुनिको छायॉंसँग डराएर कहिल्यै साईकल रोक्नेछु
त्यसपछि म कुदने हरेक बाटोमा मेरो नामको घेरो हुनेछ
अनि मेरा साईकलका चक्काले कुल्चने सबै माटो मेरो हुनेछ !!!

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार