बिहिबार, माघ १३ २०७८

पर्वतको मोदी गाउँपालिकामा लैंगिक हिंसा र बाल विवाहविरुद्धको सडक नाटक प्रदर्शन



  • नेपालदीप
  • बुधबार, मंसिर २९ २०७८
3.5K
SHARES

काठमाडौँ। पर्वतको मोदी गाउँपालिकाले विभिन्न स्थानहरुमा सडक नाटक प्रदर्शनको आयोजना  गरेको छ।  मोदी गाउँपालिकाको आयोजना,भाईब्रेसन मिडियाको संयोजन र माेदी दलित सञ्जालकाे समन्वयमा सञ्चालन गरिएको हो। सडक नाटकमा जातिय विभेद तथा छुवाछुत, लैङ्गिक हिंसा र बाल विवाहविरुद्धको जनचेतनामूलक कार्यक्रम गरिएको थियो ।

कार्यक्रम अवलोकन गर्दै गाउँपालिका अध्यक्ष प्रेम शर्मा पाैडेलले समाजको सकारात्मक रुपान्तरणका लागी यस्ता कार्यक्रमहरुको महत्वपुर्ण भुमिका रहने बताए । पालिकाको विकास र समृद्धिका कार्यहरुसँगै गाउँपालिकाले नागरीककाे चेतना अभिवृद्धिका लागी विविध कार्यक्रमहरू गर्दै आइरहेकाे उनले बताएका छन्  ।

कलाकारहरुको टोलीले मोदी गाउँपालिकाको भुक, देउपुर, देउराली, लेस्पार, बाजुङ, तिलाहार, राम्जा, चित्रे र पातीचौर बजार क्षेत्रका २ स्थान गरी जम्मा १० स्थानमा सडक नाटक प्रदर्शन गरेको थियो ।

गाउँपालिकाभित्र यस्ता विभिन्न सामाजिक विकृति अझै पनि बाँकी रहेकाले यसलाई रोक्न सचेतनामूलक नाटक प्रदर्शन गरिएको प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले बताए  ।

नाटकलाई चाख मानेर दर्शकले हेर्ने र प्रभावकारी सञ्चार हुने महसुस गरि सचेतनाका लागी नाटक रोजिएको क्षेत्रीले बताए  ।

भाईब्रेशन मिडिया मार्फत कलाकारहरुको टोलीले नाटक प्रदर्शन गरेको थियो । टोलीमा बिष्णु गैरे,सुरेस असिम, राजु श्रेष्ठ,दिपिका थापा,रोहानी लामा र दिपेन्द्र पाण्डेको सहभागिता रहेको थियो ।

विभिन्न स्थानमा प्रदर्शनी गरिएका नाटकहरुमा दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । आमदर्शकहरुबाट नाटक अत्यन्तै प्रभावकारी रहेको त्यहाँका स्थानियहरुले बताएका छन्। उक्त कार्यक्रम ४ दिनसम्म चलेकाे थियो ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार