बिहिबार, माघ १३ २०७८

वाम, दक्षिण र मध्यमको शब्दजाल



  • नेपालदीप
  • बुधबार, पुष ७ २०७८
2K
SHARES

वाम र दक्षिण पन्थ भन्ने शब्दहरू नेपाली मिडिया र तथाकथित बुद्धिजीविहरूमा निकै प्रचलित छन् । वाम शब्दलाई विकासवादी, प्रगतिशील, बैज्ञानिक तथा आधुनिकतासंग जोड्ने र दक्षिण शब्दलाई पुरातनवादी, विकासवाद विरोधी, अवैज्ञानिकता र नेपालका हकमा हिन्दूवादी तथा राजावादीहरूलाई समेत जोड्ने गरिन्छ । यो सबै भारतीय कम्म्युनिस्ट दार्शनिक देवीराम चट्तोपाध्यायको देन हो र नेपाली बुद्धिजीवि तथा तथाकथित मोडर्नहरूले तिनैबाट सिकेका हुन् ।

अंग्रेजीको राइट-विंग नेपालीमा दक्षिण र अंग्रेजीको लेफ्ट विंग नेपालीमा वाम बनेको पढ्न सकिन्छ । के साच्चिकै दक्षिणधर विकास विरोधी, अवैज्ञानिक, पुरातनवादी र नेपालका हकमा हिन्दूवादी नै हुन् ? अनि, वाममार्गी भनेका साच्चिकै प्रगतिशील, आधुनिकतावादी, विज्ञानसम्मत र अग्रगामी छन् ? व्यबहारमा ठीक उल्टो छ । प्राय:जसो मार्क्सवादीहरू “जडसूत्रवादी” हुन्छन् भने विकासमा भन्दा विनाशमा बढी भर पर्छन् । तथाकथित “वामपन्थी”हरूले आफ्नो राजनैतिक शक्तिले सम्बन्धित देशको “उन्नति” गरेको भेटिंदैन् । चीनलाई जडवादी कम्युनिष्टहरूले “वामपन्थी” नै मान्दैनन् ।

विश्वमा जेजति विकास भएका छन् – मूलत: दक्षिण पन्थिहरूकै वर्चश्वमा भएका छन् । बामपन्थिहरूले अमेरिका, वेलायत, युरोप, अस्ट्रेलियाजस्ता विकसित देशहरूलाई “दक्षिण” पन्थी भनेर आलोचना गर्छन् तर विश्वका हरेक बामपन्थी यिनै देशको नागरिक बन्न चाहन्छन् । मैले धेरै नेपाली कम्युनिस्ट नेताहरूलाई चिनेको छु, जसले आफ्ना सन्तानहरूलाई उपरोक्त “दक्षिण पन्थि” देशमा पढाएर उनीहरूकै आलोचना गरेर जीविकोपार्जन गरिरहेका छन् ।

तेस्रो धारलाई “माध्यममार्गी” भन्ने गरिन्छ । मुलत: तथाकथित धर्मनिरपेक्षहरू, वामपन्थ र दक्षिण दूवैसंग सहकार्य गर्न नसकेका र चरम अवसरवादीहरूले मध्यममार्गको प्रतिनिधित्व गर्छन् । बामपन्थिहरूसंग भेट्दा आफुलाई वामपन्थीको शुभचिन्तक भन्ने र दक्षिण पन्थिहरूसंग भेट्दा आफु “स्वतन्त्रता”को पक्षधर “प्रजातान्त्रिक” भन्दै दूवैतिर ठीक्क हुने यो धारको विशेषता हो । नेपालका हकमा यो वर्गले सधैं बहुमतको विरोधमा काम गर्छ । अल्पसंख्यकको नाममा घृणावाद फैलाउन र त्यो असंगति देखाएर पूँजीवादी र सर्वहारा दूवैसंग “डलर” चप्काउन्छ ।

अव अलिकति इतिहासतिर जाउँ । फ्रान्सेली क्रान्ति (१७८९) तिर यो शब्दको प्रचलन भएको थियो । तत्कालीन राज्य सत्ता कब्जा गरेका किसानहरूले आफुलाई लेफ्ट भने र तत्कालीन संसदलाई राइट भने । यहाँ राइट शब्दको मूल अर्थ “किसान-विरोधी सत्ता” भन्ने थियो । पछि, मार्क्सवादीहरूले फ्रेन्च-किसानहरूको यो आन्दोलनलाई “समाजवाद”संग जोडे । मूलत: पूँजीवादलाई सम्वोधन गर्न “राइट”शब्दको थालनी भयो । अर्कोतिर, १७९२ मा नया फ्रेन्च संसदको बैठकमा क्रान्तिकारीहरू संसदको बाँया सीट, आफुलाई तटस्थ राख्नेहरू बीचमा र आफुलाई राजावादी ठान्नेहरू (तेस बखतका धनिमानीहरू) दाहिनेतिरका कुर्सीमा बस्ने गरेका थिए । तेसै बखतदेखि दक्षिण र वाम यी शब्दहरू राजनैतिक वृत्तमा उदाए ।

अव नेपालको कुरा गरौँ । नेपालका वामपन्थिहरूले आफुलाई “प्रगतिशील, वैज्ञानिक तथा अग्रगामी” भएको ठान्छन् तर व्यबहारमा कतिविध्न अव्यवहारिक र एकआपसमा असंगत छन् भन्ने तत्थ्य प्रचण्ड बहुमतमा बनेको ओलीको सरकार ढलेकोबाट देख्न सकिन्छ । वामपन्थी भन्ने “प्रगतिशील”हरूले आफ्नो बचाउँका लागि जे-जस्तो तर्कदिए पनि यिनीहरू बीच एकआपसमा लुकेको घृणावाद र जडसूत्रवाद छताछुल्ल भएको छ । आजको नेपाली परिवेशमा वामपन्थ भनेको संधैं अर्काको आलोचना गर्ने, कसैले उद्योग गर्न थाल्यो भने पूँजीवादको उदय देख्ने, आफु बाहेक सबैलाई पुरातनवादी ठान्ने रोगबाट ग्रस्त छन् । यिनका नाराहरू धेरै आकर्षक छन् तर व्यबहार निक्कै अप्रगतिशील र स्वार्थी छ ।

दक्षिणपन्थिहरू नेपालमा छन् कि छैनन् ? म द्विविधामा छु । मार्क्सको परिभाषाअनुसार “पूँजीवादी तथा पुँजीपति” दक्षिण पन्थि मान्नुपर्छ । नेपालमा आफ्नो पूंजी नभएको कुनै परिवार छैन । मार्क्सवादलाई मान्ने धेरैको आफ्नो निजी-सम्पति छ अर्थात् पूंजी छ । धार्मिकहरूलाई दक्षिण पन्थि भन्ने अर्थ फ्रेन्च-क्रान्तिकारीले गरेकै थिएनन् । यदि स्वधर्म, संस्कृति र आत्मउत्थान गर्दै अर्कोको लागि रोजगारी दिने, राष्ट्रीय कोषमा राजश्व दिने, आफ्नो धर्म, संस्कृति तथा देश र जनताका विषयमा चासो राख्ने र घृणावाद विरुद्ध बोल्नेहरू दक्षिण पन्थी हुन् भने एस्तो दक्षिण हुनु गौरवको कुरा हो । बनेको भत्काउने भन्दा बनाएर दुईजनालाई रोजगारी दिने धेरै महान् हुन्छ ।

तेस्रोवर्ग अचम्मको वर्ग हो । धर्मनिरपेक्षता, समानता, मानवाधिकारआदि यो वर्गका कर्णप्रिय नारा हुन् । असलमा यो वर्ग “शक्ति केन्द्र”को चापलुसी गरेर आफ्नो निजी स्वार्थ पुरा गर्ने व्यक्ति हुन् । उदाहरणको लागि नेपालमा एस्तो वर्गले सधैं गरिवी, अशिक्षा, असमानता, वेथिति, अन्याय, भष्टाचारआदि मात्रै खोज्दछ । यो वर्गले “गरिवी”लाई माग्ने भाँडो बनाएर राजनीति र समाजसेवा गर्छ । वामपन्थीसंग “लाभ” भए वामपन्थीसंग र दक्षिणपन्थीसंग लाभ हुने भए दक्षिणसंग लिसोझैं टाँसिने गर्छ । अर्कोतिर दक्षिण र बामलाई भिडाएर तमासा गराउने वर्ग पनि यही हो ।

नेपाली वामपन्थीहरूले नेपाली कंग्रेसजस्ता प्रजातान्त्रिक पार्टीहरूलाई मध्यममार्गी भन्छन् भने जरोकिलो, राप्रपाजस्ता पार्टीहरूलाई दक्षिण पन्थी भनेर सम्वोधन गर्छन् । कम्युनिस्टहरूका नजरमा संसदीय राज्यव्यबस्था दक्षिणपन्थ हो । दुर्भाग्यवस, नेपाली मिडियाहरू जसले आफुलाई प्रजातन्त्रका पक्षधर ठान्छन्, उनीहरूले पनि स्वधर्म, स्वसंस्कृति र नेपाललाई केन्द्रमा राखेर गरेका गतिविधिहरूलाई समेत दक्षिण भनेर अपमानित गर्छन् । चरम धर्मान्ध मुस्लिम, इसाई तथा अन्य चरमजातिवादी, क्षेत्रवादीका घृणावादी क्रियाकलापलाई “अधिकार”को जलप दिएर शुद्धीकरण गर्छन् । हिन्दू र राजाका पक्षमा बोल्दैमा कुनै कसरी दक्षिण पन्थी हुन्छ ? उनीहरूसंग कुनै उत्तर छैन । केवल आफुहरू आधुनिक र प्रगतिशील भएको दम्भ छ ।

तेसैले, उपरोक्त वर्गहरू मध्ये कुनै पनि वर्गको मतियार नभएको निर्विकल्प “नेपाली मौलिक वर्ग”ले मात्र नेपाल र नेपालीको भलो गर्छ । दक्षिण, बाम र मध्यमका बैचारिक जालमा न परौं । आत्मकल्याणसहित देश र विश्वको कल्याणका लागि आत्मविश्वाससहित मौलिकतावादतिर अग्रसर बनौं । नेपालको समग्र विकासका लागि वैचारिक भ्रमजालहरू तोड्नै पर्छ र तोड्नका लागि यी भ्रमहरू बोकेर जनतालाई अलमल पर्ने नेतृत्वसंगको नाता छोड्नैपर्छ । देशको भलाई यसैमा छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार