
काठमाडौं। प्रदेश नम्बर २ को नामाकरण गर्ने सम्बन्धमा तीन दलबीच सहमति जुटेको छ। सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच प्रदेश २ को नाम ‘मधेश’ राख्ने प्रस्ताव गरेका हुन्।
बिहीबार बसेको प्रदेश सभा बैठकमा जसपाका नेता शैलेन्द्रकुमार यादव र आन्तरिक मामिला तथा सञ्चार मन्त्रीसमेत रहेका भरतकुमार साहले प्रदेशको नाम ‘मधेश’ राख्न प्रस्ताव गरेका हुन्। प्रदेश २ का जनताको पहिचान नै मधेश रहेका कारण प्रदेशको नामाकरण पनि मधेश राख्न सकिए आम जनताको माग सम्बोधन हुनसक्ने उनीहरुको दाबी छ ।
लोसपा सांसद रानी तिवारीले प्रदेशको नाम मधेस नामाकरण भए शहीदको सपना साकार हुने बताइन्। नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले मधेस भन्दा त्रेतायुगदेखि रहँदै आएको संस्कृति र इतिहासलाई जगेर्ना गर्न प्रदेशको नाम मिथिला भोजपुरा राख्नुपर्ने बताए।
त्यस्तै कांग्रेसका सांसद राजेश्वरप्रसाद साहले प्रदेशको नाम मध्य मधेस राख्नुपर्ने बताए । पौराणिक, राजनीतिक, सामाजिक, भौगोलिक दृष्टिकोणलाई हेर्दै मध्य मधेस प्रदेश राख्नुपर्ने उनको भनाइ छ ।
नेकपा एकीकृत समाजवादी पार्टीका सांसद प्रमोदकुमार यादवले भने प्रदेशको नाम जानकी हुनुपर्ने बताए ।
प्रदेश सभाको बिहीबारको बैठकमा प्रदेशको स्थायी राजधानीको बिषयमा पनि छलफल भएको छ । छलफलमा भाग लिने अधिकांश सांसदले जनकपुरधामलाई राजधानी बनाउनुपर्नेमा जोड दिए भने कांग्रेस सांसद राजेश्वर साहले वीरगंजलाई राजधानी बनाउनुपर्ने बताए ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।