बिहिबार, माघ १३ २०७८

शासकहरुले देशले छलाङ हान्छ भन्थे, हेर्दाहेर्दै सोमालियाकै हैसियतमा पुऱ्याएछन्: आचार्य



  • नेपालदीप
  • शुक्रबार, पुष ३० २०७८
2.3K
SHARES

काठमाडौँ। कानुनविद् भीमार्जुन आचार्यले गणतन्त्र स्थापनाको समयमा देशले अग्रगामी छलाङ्ग मार्ने बताउने नेतृत्वकै अक्षमताका कारण देशको हैसियत सोमालियाको दर्जामा पुगेको बताएका छन्। नेपाली पासपोर्टको अन्तर्राष्ट्रिय हैसियत कमजोर भएको रिपोर्ट सार्वजनिक भएपछि त्यसबारे टिप्पणी गर्दै आचार्यले ठूलो विरासत र अन्तराष्ट्रिय छबि भएको मुलुकको केही वर्षमा नै यो दुर्दशा हुनु दुखद भएको बताएका हुन्।

आचार्यले भने, ‘त्यति ठूलो विरासत, पहिचान र अन्तर्राष्ट्रिय छवि भएको मुलुकको हैसियतलाई हामीले हेर्दाहेर्दै सोमालियाकै दर्जामा पो पुर्याएछौ। राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्रमा निकै ठूलो छलाङ्ग हुन्छ भनिएको थियो, भएरै छाड्यो। धन्य हो। प्रसंग नेपाली पासपोर्टको अन्तर्राष्ट्रिय हैसियत!’

आचार्यले अहिलेको दूरदशाको एउटै कारण भनेको अहिलेको शासकवर्ग भएको बताए। उनले भने, ‘राष्ट्रको अन्तर्राष्ट्रिय छवि वा इज्जत एउटा व्यक्ति, नागरिक वा व्यवसायीका कारण भन्दा पनि देश सञ्चालन गर्ने व्यक्ति र राजनीतिज्ञका कारण नामी वा बदनामी हुन जान्छ। यो दुर्दशाको एउटै कारक आजका शासकहरू हुन। उनीहरूमा लायकीपन,सक्षमता,कर्मण्यता र दुरदर्शीता नरहेसम्म सुधारको गुञ्जाइस छैन।’

राहदानीबारे अध्ययन गर्ने बेलायती एजेन्सी हेन्ली एन्ड पार्टनर्सले बुधबार सार्वजनिक गरेको सन् २०२२ को सूचीमा नेपालको पासपोर्टको स्थान पहिलेभन्दा तल सूचीकृत भएको छ। विश्वकै कमजोर पासपोर्ट हुने अन्तिम दस मुलुकमध्ये नेपाल उत्तर कोरियाभन्दा तल १०५ औं स्थानमा प्यालेस्टाइनसँगै छ। अन्तिम दशको सूचीमा नेपालसहित उत्तर कोरिया, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तानजस्ता मुलुकहरु छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार