बिहिबार, जेष्ठ ५ २०७९

सत्तारुढ गठबन्धनको निर्णय: बैशाखमै स्थानीय निकायको चुनाव



  • नेपालदीप
  • मंगलबार, माघ ४ २०७८
4.2K
SHARES

काठमाडौं। सत्तारुढ गठबन्धनले स्थानीय चुनाव २०७९ सालको वैशाखमै गर्नु पर्ने निष्कर्ष निकालेको छ। केहीबेरअघि बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले बैशाखमै स्थानीय निकायको निर्वाचन गर्ने सहमति गरेको हो।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा वैशाखमा स्थानीय तहको चुनाव गर्ने सहमति भएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेद्रबहादुर कार्कीले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, समितिका संयोजब रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थित थिए।

संवैधानिक व्यवस्था अनुसार नै स्थानीय निकायको निर्वाचन गर्न सबै दल सहमत देखिएको बैठकमा सहभागी एक नेताले बताए। यसबारे थप छलफल गर्न विहीबार फेरि बैठक बस्ने छ।

बैठकमा राष्ट्रिसभाको निर्वाचन र स्थानीय तहको निर्वाचनबारे छलफल भएको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए। ‘आज सैद्धान्तिक छलफल मात्रै भएको हो,’ गुरुङले भने, ‘संवैधानिक व्यवस्थाअनुसारै चुनाव गर्ने भन्नेछ। तर, डेटलाइनबारे आज कुराकानी भएन।’

गुरुङले कोभिडका कारण माधव नेपाल, उपेन्द्र यादवलगायतका शीर्ष नेता समेत अनुपस्थित भएकाले मितिबारे अर्को बैठक राखेर छलफल गरेपछि मन्त्रिपरिषदबाट निर्णय हुने बताए। ‘पहिले आफ्ना दलमा आन्तरिक छलफल गरेर एकपटक पुनः शीर्ष तहमा बसेर मितिबारे टुंगो लगाउने सहमति भएको छ,’ उनले भने।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट